फेरि भड्कियो मधेशी मोर्चा

फेरि भड्कियो मधेशी मोर्चा


madesh
काठमाडौं/ मधेसकेन्द्रीत आन्दोलनकारीहरु केही लचिलो बनेका र अब नाकाबन्दी चाँडै खुल्ने नेताहरुको अभिव्यक्ति सार्वजनिक हुँदै गर्दा सरकारले मधेश आन्दोलनको सम्बोधन नगरेको भन्दै एकाएक संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले फेरि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । विभेदबाट उन्मुक्तिका लागि संघर्षको विकल्प नभएकोले जारी आन्दोलनलाई अझ प्रभावकारी र सशक्त जनसंघर्षको रुपमा अगाडि बढाउन शान्तिपूर्ण संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको मोर्चाले जनाएको छ ।

आन्दोलनको नयाँ खाकाअनुसार पुस २८ गते मंगलबार प्रत्येक जिल्ला सदरमुकाममा विशाल जुलूस प्रदर्शन एवं विरोधसभा गर्ने, पुस ३० गते बिहिबार जिल्ला सदरमुकाम तथा प्रमुख शहरहरुमा आन्दोलनका क्रममा सरकारद्धारा गरिएका हिंसा हत्या एवं दमनसम्बन्धी फोटो, चित्र तथा वृत्तचित्र प्रदर्शन गर्ने, माघ २ गते शनिबार जिल्ला सदरमुकाममा विरोधस्वरुप विशाल लाठीजुलुस प्रदर्शन एवं सभा गर्ने, माघ ४ गते सोमबार जिल्ला सदरमुकाममा भेला भई विशाल मशाल जुलूस प्रदर्शन एवं सभा गर्ने, माघ ५ गते मंगलबार जिल्ला सदरमुकामहरुमा मधेश आन्दोलनका दौरानमा शहादत प्राप्त गरेका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न भव्य रुपमा बलिदानी दिवस मनाउने, माघ ७ गते गाउँ-नगर-क्षेत्रहरुको चोक चौराहामा विरोध सभा गर्ने लगायत रहेका छन् । विरोधका यी कार्यक्रमहरुका अतिरिक्त आन्दोलनका जारी अन्य कार्यक्रमहरु निरन्तर रुपमा यथावत नै रहने पनि मोर्चाले जनाएको छ ।