पृथ्वी पुरस्कारबाट वैकुण्ठ सम्मानित

पृथ्वी पुरस्कारबाट वैकुण्ठ सम्मानित


baikuntha-manandhar
दक्षिण एसियाली खेलकुदका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर पृथ्वी पुरस्कार– २०७२ बाट सम्मानित भएका छन् । राप्रपा नेपालको राष्ट्रिय खेलकुद सङ्घ नेपालले मानन्धरलाई पृथ्वी पुरस्कारबाट सम्मानित गरेको हो । राप्रपा नेपालका अध्यक्षसमेत रहेका उपप्रधान, परराष्ट्र, सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले मानन्धरलाई उक्त पुरस्कारबापत सम्मानपत्र, पृथ्वीनारायण शाहको पूर्ण कदको मूर्ति र दुई लाख नगद प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरेका थिए । राष्ट्रिय खेलकुद सङ्घ नेपालले गत वर्षदेखि नेपाली खेल क्षेत्रमा विशेष योगदान पुर्‍याउने पूर्व राष्ट्रिय खेलाडीलाई सम्मान गर्ने उद्देश्यले यो पुरस्कारको स्थापना गरेको हो । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान राजुकाजी शाक्य यो अवार्ड पाउने पहिलो खेलाडी हुन् ।

मानन्धरले पहिलोदेखि तेस्रो दक्षिण एसियाली खेलकुदमा लगातार तीन स्वर्ण जित्दै कीर्तिमान कायम गरेका थिए । त्यो कीर्तिमानलाई तेक्वान्दोका दीपक विष्टले सागको ११औँ संस्करणमा तोडेका थिए । दीपकले ११औँ संस्करणमा स्वर्ण जित्दै सागमा व्यक्तिगत स्वर्ण सङ्ख्या चार पुर्‍याएका थिए । दीपकले आठौँदेखि ११औँसम्म लगातार चार स्वर्ण जितेका हुन् । भारतको कोलकातामा भएको तेस्रो साफमा मानन्धरले म्याराथन पूरा गरेको दुई घन्टा १५ मिनेट ०३ सेकेन्डको समय अहिले पनि कीर्तिमानका रूपमा कायमै छ । विश्व एथलेटिक्स च्याम्पियनसिपमा दुईपटक सहभागिता जनाएका मानन्धर आठौँदेखि दशौँ एसियाली खेलकुदमा पनि सहभागी थिए ।
Baikuntha
त्यस्तै उनले विश्वकै सबैभन्दा ठूलो खेलकुम्भ ओलम्पिकमा चारपटक नेपालको प्रतिनिधित्व गरिसकेका छन् । १९७६ को मोट्रियल, १९८० को मस्को, १९८४ को लसएन्जलस र १९८८ को सिओल ओलम्पिकमा मानन्धर सहभागी थिए । एसियाली ट्रयाक एन्ड फिल्डमा उनले पहिलोदेखि निरन्तर तीन संस्करणमा सहभागिता जनाए । मानन्धर विभिन्न प्रतिष्ठित पुरस्कारबाट समेत विभूषित भइसकेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री कमल थापाले पुरस्कार स्थापनाले खेलाडीको योगदानको कदर हुनुका साथै पार्टीको गरिमासमेत बढेको बताए । उनले आसन्न १२औँ सागमा नेपालको सहभागिता सुनिश्चित हुने बताउँदै बजेटमा केही समस्या भएको भए समाधानका लागि प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । पुरस्कृत मानन्धरले देशको वर्तमान परिस्थितिले जनजीवन कष्टकर भएको बताउँदै चाँडोभन्दा चाँडो समस्या समाधान गर्न नेताहरूलाई आग्रह गरे ।

खेलकुद, युवा तथा विद्यार्थी विभाग, राप्रपा नेपालका संयोजक एवम् सांसद गणेश थापाले नेपाली खेल क्षेत्रमा योगदान पुर्‍याएका पुराना खेलाडीलाई सम्मान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताउँदै सानै भए पनि यसले अन्य खेलाडीलाई पनि प्रेरित गर्ने विश्वास व्यक्त गरे । उनले पुरस्कारले हरेक वर्ष निरन्तरता पाउने स्पष्ट पारेका थिए । त्यस्तै राष्ट्रिय सङ्घका अध्यक्ष लोकबहादुर शाहीले सङ्घले आफ्नो स्थापनाकालदेखि नै अन्तर्राष्ट्रिय जगत्मा नेपालको नाम खेलकुदको माध्यमबाट रोशन गर्ने पूर्वखेलाडीलाई सम्मान गर्दै आएको बताए । जसअनुसार जनकपुर, फिक्कलमा खेलाडीलाई सम्मान गरिएको शाहीले स्मरण गराएका थिए । त्यस्तै, शाहीले स्वदेशका मात्र नभई विदेशका पूर्वखेलाडीलाई निजी क्षेत्रबाट पहिलोपटक सम्मान गरेको बताएका थिए । सो कार्यक्रममा शाहीले यो पुरस्कारलाई भविष्यमा पनि निरन्तर दिने प्रतिबद्धता जाहेर गर्दै एकभन्दा बढी खेलाडीलाई सम्मान गरिने बताएका थिए । त्यस्तै चर्चित तेक्वान्दो खेलाडी दीपक विष्टले खेलकुद र खेलाडीलाई सम्मान गर्ने यस्तो कार्यक्रम अन्य राजनीतिक दलले पनि गर्नुपर्ने बताएका थिए ।