झापा काण्डदेखि नयाँ नेपालको नेतृत्वसम्म

झापा काण्डदेखि नयाँ नेपालको नेतृत्वसम्म


SN Karki
:: स्वयम्भूनाथ कार्की ::

०२४ सालतिर नेपालको पूर्वी सिमानाबाट झन्डै चार किलोमिटरपूर्व पश्चिमबंगालको नक्सलबारी भन्ने गाउँमा एक विद्रोही जमातको विजारोपण भयो । चे ग्वेभाराबाट प्रभावित कानु सन्याल, चारु मजुमदार आदिले साम्यवादी सिद्धान्त लागू गर्न गठन गरेको यो समूहको कार्यनीति वर्गशत्रुको ‘भौतिक सफाया’ गर्ने थियो । यसको निमित्त चे ग्वेभाराको क्युवा अभियान प्रेरणाको स्रोत थियो । सीमानजिकै भएको यो हलचलले झापामा पनि प्रभाव पार्‍यो । नक्सलबारीका विद्रोहीको हिंसाका समाचारहरू २०२८ ताका झापाभरि चौतारी गफका विषय बनिरहेका थिए ।

सारा संसारमा चे ग्वेभाराका समाचार र चारू मजुमदारका समाचारले चर्चा पाइरहेका थिए । यस्तैमा झापामा पनि ठाउँठाउँमा सामन्तीको आरोपमा मान्छे काटिन सुरु भयो । आठ–दशजना काटिइसकेपछि सरकारले यो ‘मुण्ड कटुवा’ टोलीलाई नियन्त्रण गर्‍यो । तब झापालीलगायत नेपालीले थाहा पाए यो एक साम्यवादी आन्दोलन रहेछ । धनी मासेर गरिबमा सम्पत्ति बाँडेर सबैलाई बराबर गर्ने भनेर सुरु गरिएको ‘सफाया अभियान’ भन्ने हल्ला चल्यो । संयोग थियो वा कुनै कार्यक्रम चारू मजुमदारको समूह र झापाको यो समूह दुवैले कडा सरकारी प्रतिरोधको सामना गर्नुपर्‍यो । सरकारले यी दुवैको सफाया अभियान चलाए ।
नेपालमा करिब २८ वर्षपछि पञ्चायतविरुद्धको सङ्घर्षमा यो समूहका सदस्य पनि वाममोर्चाको रूपमा आन्दोलनमा सहभागी भए । उता पश्चिमबंगालमा २८ सालदेखि नै कम्युनिस्ट पार्टीको सरकार बन्यो जो लगातार ३४ वर्ष चल्यो । तर, वामपन्थीको शासनमै चारू मजुमदार सरकारद्वारा मारिए नक्सालबारीको यो अभियानले सम्मान पाएन । सम्मानको त कुरै पर जाओस् वर्तमानमा भारतमा जहाँ पनि आतङ्ककारी घटना हुन्छ त्यसलाई नक्सली वा नक्सलवादी भनिने गर्दछ । नक्सलबारीसँग त्यसको साइनो हुनु वा नहुनुले केही फरक पर्दैन । आतङ्कवादको पर्याय भएर नक्सलवाद खलनायकत्वको प्रतीक भएको छ ।

चे ग्वेभाराको गुरिल्लापथले संसारमा केवल क्युवा र नेपालमा मूलधारको नेतृत्व गर्ने मौका पाएको छ । यो पथको अनुशरण गर्नेहरूमा पहिलो झापा आन्दोलन भए पनि ताजा अनुयायी ‘माओवादी’ हुन् । ६२को आन्दोलनपछि पहिले माओवादीले र हाल झापा आन्दोलन नेतृत्व गर्नेले नेपालको सत्ता सम्हालेका छन् । क्युवामा भने चे ग्वेभारासँगै आन्दोलन गर्ने फिडेल कास्त्रोपछि राहुल कास्त्रो मुलुक हाँकिरहेका छन् । क्युवामा जनताको कुन अवस्था छ त्यसबारेमा जति पनि जानकारी बाहिर आएको छ त्यसमा राम्रो नै धेरै छ । नेपालमा भने सर्वसाधारण जनताले झन् कष्ट पाएको अवस्था छ ।

कुनै बेलाको आफ्नो त्यो सोच र अहिले त्यसबेलाका सपना पूरा गर्न नसक्ने अवस्थामा आफूलाई पाएकाले हुनसक्छ ओलीको स्वभावमा परिवर्तन आएको छ । प्रधानमन्त्री नहुन्जेल सबै कुरालाई रमाइलोसँग लिने र हमेसा नै हँसिलो देखिने ओली वर्तमानमा त्यसको विपरीत भएका छन् । उनको भावभंगिमामा, बोल्ने शैलीमा र अनुहारमा तनावको छाया स्पष्ट देखिने गरेको छ । विरोधीको जस्तोसुकै प्रहारलाई पनि सजिलैसँग ठट्टाको रूपमा लिएर उखान–टुक्काले जवाफ दिने बानी अब उनीसँग छैन । आफूले दिएका आश्वासनहरू जनताले नपत्याएको कुराले परेको प्रहार उनले झेल्न सकेका छैनन् । उनी तिलमिलाएको स्पष्ट महसुस गर्न सकिन्छ । सामान्य मनोविज्ञान हो, मनोबल उच्च भएकाहरू उत्तेजित हुँदैनन् विरोध पचाउन सक्छन् । आफ्नो कुरा नपत्याउनेहरूलाई त्यो कुरा कामले देखाएर साबित गर्दछन् । जसको मनोबल खस्केको हुन्छ, मनले यो कुरा पूरा गर्न सक्दिनँ भनेर हरेश खाएको हुन्छ त्यो विरोध पचाउन सक्दैन । काम गर्ने सहुलियतमा रहेर पनि कामले जवाफ दिनुको साटो नाना किसिमका तर्क दिन थाल्दछ । वास्तवमा त्यतिखेर ऊ त्यो काम नगर्ने बहाना खोजिरहेको हुन्छ । ओलीको बोलीमा आएको परिवर्तन कतै यही कुराको सङ्केत त होइन भन्ने संशय पैदा भएको छ ।

मलुकको सरकारप्रमुखले विरोधीहरूले जस्तो प्रतिवाद गर्ने सहुलियत पाउँदैन । किनभने सरकार केवल समर्थकहरूको निमित्त मात्र होइन विरोधीहरूको निमित्त पनि हो । आस्थाको आधारमा, आफ्नो–परायाको आधारमा अलग व्यवहार गर्न र वादविवादमा उत्रेर सरकारले जवाफ दिन मिल्दैन । सरकारको जवाफ त उसको कामको परिणामले निश्चित गर्ने गर्दछ । कामको साटो मुखले जवाफ दिन थाल्नेबित्तिकै त्यो सरकार हार्दै छ भन्ने प्रस्ट हुन्छ । यस्तो अवस्थामा सार्वजनिक रूपमा आएका ओलीका अभिव्यक्तिहरूलाई संसारले हारेको मनले गरेको बचावटको रूपमा नै बुझ्छ ।

यो मौका हो सावित गर्ने कि झापा काण्ड जनहितको निमित्त थियो, त्यो काण्ड दबाउनु तत्कालीन सरकारको गलत कदम थियो । त्यसको निमित्त जुन उद्देश्यको निमित्त त्यो गरिएको थियो त्यो पूरा गर्न सक्ने अवस्था र पदमा ओली पुगेका छन् । यदि उनले यस अवस्थामा पनि त्यो उद्देश्य पूरा गर्नेतर्फ कोही गर्न सकेनन् भने तत्कलीन सरकारले पनि गर्न सक्दैन थियो भन्ने सावित हुन्छ । त्यसबेलामा बगाइएका सबै रगत बेकारमा गरिएको हिंसाको उन्माद ठहर्छ । त्यसैले ४४ वर्षपछि पाएको यो मौका झापा काण्ड ‘मुण्ड कटुवा’हरूको टोलीको उन्माद होइन असल उद्देश्यको निमित्त गरिएको बलिदान थियो भन्ने सावित गर्ने हो ।

झापा काण्डले राजनीतिमा उचाइ पाएका केपी ओली बीचमा जे–जस्तो भए पनि नयाँ नेपालका सरकारप्रमुख भएका छन् । योभन्दा ठूलो, योभन्दा अनुकूल अवस्था अर्को कुनै हुन कठिन छ । के ओलीले झापा काण्डको औचित्य सावित गर्न सक्लान् त ? कि आफू त्यो समयमा पथभ्रष्ट भएको स्वीकार गर्लान् ? यो दुवै कुरामा कुनै गर्लान् भन्ने आशा त एकदम कम नै छ । किनभने उनको कार्यकालमा कालोबजारी र भ्रष्टाचार बढेको छ । यहाँसम्म कि भुइँचालोपीडितलाई दिइएको सहायतामा पनि घोटाला भएको चर्चा छ । यही पनि नियन्त्रण गर्न नसकेको अवस्थामा अरू गर्न सक्लान् भनेर पत्याउने आधार एकदम कम छ ।