अहिलेसम्म पाँचवटा एलवम निकाली सक्नुभएकी गायिका अनिला राई, पछिल्लो एलवम “द लाइफ” बाट बढी चर्चामा आउनु भएको छ । नेपाली गीतसंगीतको मूलथलो नेपालबाट टाढा रहे पनि, सकेसम्म यही क्षेत्रमा लागिरहने उहाँ बताउनु हुन्छ । इन्दिरा कलानिधी ललितपुरबाट भोकलमा उहाँले जुनियर डिप्लोमा पनि गरिसक्नु भएको छ । उहाँको गीतहरु श्रोताहरुको अभिरुचिमा रेडियोबाट सुनिनैरहेका छौं र सुनाई पनि रहेको छु । यद्यपि, एकदिन उहाँलाई नै फोन सम्पर्क गरी, उहाँकोे सांगीतिक जीवनको बारेमा बुझ्ने जिज्ञासा जाग्यो । त्यसैले, अब प्रस्तुत छ, उहाँसंगको यो भलाकुसारी ।
वेलायतमा हुनुहुन्छ, वेलायतकै प्रसंग उठाउन चाहन्छु । के भन्नु हुन्छ, यहाँको जीवन सोंचे जस्तै रहेछ ?
नेपाल र वेलायतको जीवन विलकुलै फरक रहेछ । यहाँको रितीरिवाज, वातावरण र रहनसहन पृथक पाएँ । आफ्नो राष्ट्र र राष्ट्रियताको महत्व प्रवासमा बढी बुझिँदो रहेछ । देशको माटो, ती उकाली ओराली र आफन्तहरुबाट टाढा बस्नु पर्दा नरमाइलो अवश्य लाग्छ । तर, यहाँ आएर समयको महत्व बुझ्ने अवसर पाएँ । सधै ब्यस्त भइरहनु पर्ने ठाउँ रहेछ । समग्रमा, सोचेको भन्दा निकै अन्तर पाएकी छु ।
अब, यहाँ त गायन क्षेत्रमा लागि सक्नु भएको एउटा कलाकार, जब परदेश लाग्नुभयो, त्यतिबेला आफ्नो सांगीतिक भविष्य कस्तो देख्नुभएको थियो ?
जब म परदेश लागे, गायन क्षेत्रबाट ओझेल परेझैं लाग्यो । किनकि, नेपाली गीत संगीतको मूलथलो भन्नु नै नेपाल हो । यसरी, गीत संगीतको मुहानदेखि टाढा बस्नु पर्दा दुःख लाग्छ । तर, आखिर समयले जता बहायो, उतै बहनु पर्दो रहेछ, हैन ?
गायन क्षेत्रमा यहाँको प्रवेशचाँहि कसरी भएको हो ?
म, सानैदेखि रमाइलो गर्नुपर्ने मान्छे । गीत सानैबाट सुन्ने गर्थेँ । घरमा पनि रेडियो र टीभीमा गीत आयोभने गाउने र नाच्ने गर्थेँ । त्यतिबेला, स्कूल र कलेजमा पनि साँस्कृतिक कार्यक्रमहरु भइरहन्थ्यो । सकेसम्म सहभागिता जनाउने गर्थेँ । साथीहरुले पनि निकै हौसला दिन्थे । भन्नुपर्दा, आफ्नो रुचि र अरुको हौसलाबाटै, यस क्षेत्रमा प्रवेश गरेकी हुँ ।
त्यतिबेलाचाँहि संगीतमा नै करियर बनाउँछु भनेर लाग्नु भयो कि, हैन अरु काम गर्दै संगीतलाई पनि सँगै लान्छु, त्यो सोंचले लाग्नु भएको हो ?
जतिबेला मैले गायन क्षेत्रमा पाइला टेकेँ, यही क्षेत्रलाई अपनाउँछु भन्ने सोचेकी थिईँन । तथापि, संगीतलाई भने निरन्तरता दिने सोंच थियो । निश्चित रुपमा, अन्य पेशालाई पनि अंगाल्नु पर्थ्यो । किनकि, नेपालको स्थिति तपाईंलाई अवगतै छ । नेपाली संगीतको बजार एकदमै सानो छ । यसैमा लागेर जीवनयापन गर्न सक्ने वातावरण अझै बनिसकेको छैन ।
यहाँको पहिलो रेकर्डेड गीत नि ?
मेरो पहिलो रेकर्डेड गीत ‘यो मनको रहर’ हो । जुन गीत लोक शैलीमा आधारित छ ।
पाँचवटा एलवम भन्नुभयो, बरुको नाम पनि बताई दिनुहोस् न ।
यो मनको रहर, जुन ठूली, एकलाई शून्य दश, कालीको लाली जोवन र पछिल्लो एलवम द लाइफ हो ।
पछिल्लो एलवम ‘द लाइफ’ को प्रतिक्रियाचाँहि कस्तो पाउनु भएको छ ?
प्रतिक्रिया राम्रै आइरहेको छ । यो एलवममा मैले आधुनिक, लोक, पप र सेलो जस्ता गीतहरु समावेश गरेकी छु । गीतहरुको स्वाद फरक-फरक भएकोले होला, प्रायः सबैले मन पराउनु भएको छ । नेपालमा पनि राम्रै भइरहेको छ, संतुष्ट छु ।
नेपालमै बसेको भए, संगीत क्षेत्रमा अझै राम्रो गर्न सक्थेँ, त्यस्तो लाग्छ ?
म त भाग्यमा विश्वास गर्ने मान्छे । हेर्नुहोस्, कति कुराहरु गर्छु भनेर पनि नहुँदो रहेछ । नेपालमै बसेको भए माहोल हुन्थ्यो अनि मेहनत पनि गरिन्थ्यो । राम्रै हुन्थ्यो होला । तर, यहाँ बसे पनि समयले साथ दिएसम्म गर्ने नै प्रयासमा छु । हेरौं, भोलिका दिनहरुले कता धकेल्दो रहेछ ।
अब, यहाँ पनि त कार्यक्रमहरु भइरहन्छन् । प्रस्तुतिको लागि कतिको अनुरोधहरु आउने गर्छन् ?
आइरहन्छ । पहिला पहिला त आफै कार्यक्रमहरुमा जाने गर्थेँ । तर, आजभोलि सबैले माया गर्नुभएर होला, निकै अनुरोध आउने गर्छ । खुशी लाग्छ । गीत संगीतलाई माया गर्ने मान्छेको लागि, योभन्दा गर्वको कुरा अरु के नै पो हुन सक्छ र, हैन ?
कार्यक्रमको शिलिशलामा बाहिर पनि जानु भएको छ ?
हजुर, वहराइन गएकी थिएँ । हामी एउटा टिम नै गएका थियौं । त्यतिबेला मैले साँगीतिक प्रस्तुतिको साथै कार्यक्रम पनि संचालन गरेकी थिएँ । त्यस्ता अविष्मरणीय क्षणहरु जीवनमा सधै आइरहोस् भन्छु म ।
सबै प्रकारकै गीतहरु गाउनु भएको छ । भित्रैबाटचाँहि कस्तो गीत गाउन मन लाग्छ ?
म जति ओपन छु, त्यतिकै भावुक पनि । यसर्थ, सबै प्रकारकै गीतहरु गाउन मन लाग्छ । तर, मलाई आधुनिक गीतले बढी मन छुने गर्छ, आधुनिक गीत नै बढी गाउन सके हुन्थ्यो जस्तो लाग्छ ।
अब, अर्को एलवमको तयारी के छ ?
खासै अहिले अर्को एलवमको बारेमा सोचेकी छैन । यहाँ बसेर गीत गाउँछु, एलबम निकाल्छु भनेर मात्र नहुँदो रहेछ । के भनौं, चाहनालाई समयले दासी बनाएको छ । यद्यपि, सकेसम्म निरन्तरता दिने सोंचमै छु, भविष्यमा अर्को एलबम निकाल्ने अठोटमै छु ।
माया गर्नुहुने फ्यानहरुलाई अन्तमाः केही छन् ?
फ्यानहरुको माया र हौसला बिना, यो क्षेत्रमा केही गर्न नसकिँदो रहेछ । फेसबुक र यू ट्युबतिर प्रतिक्रिया दिनुहुने सबैलाई आत्माबाटै धन्यवाद दिन चाहान्छु । यसरी नै माया गरिरहनु होला । अन्तमाः विश्वको जुनसुकै कुनामा बस्नुभए पनि नेपाली गीत संगीत र आफ्नो पहिचानलाई कदापि नभुल्नु होला भन्न चाहन्छु । हस्त, अहिलेलाई यति नै बोलूँ कि ?
– प्रस्तुतिः योगराज राई
प्रतिक्रिया