एक–दुई दिनमै नाका खुल्छ : प्रधानमन्त्री

एक–दुई दिनमै नाका खुल्छ : प्रधानमन्त्री


kp oli 5
सरकार गठन भएको सय दिन नाघिसक्दा पनि कुनै ठोस काम भएको देखाउन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली विचलित हुनुभएको छ । आफू प्रधानमन्त्री बनेको एक सय सातौँ दिनमा बालुवाटारस्थित निवासस्थानमा आयोजित वरिष्ठ पत्रकार एवम् सम्पादकहरूसँगको भेटमा ओलीले केही गर्न प्रयास गरिरहेको बताउनुभयो, तर यस अवधिमा के–के गरियो त्यसबारे केही भन्न सक्नुभएन । निकै सचेततापूर्वक पत्रकारमाझ प्रस्तुत हुनुभएका प्रधानमन्त्री ओलीले पहिलेझैँ ठट्टा र हँसिमजाक पनि गर्नुभएन । आफूले काठमाडौंमा मेट्रो सेवा सुरु गर्ने, हावाबाट बिजुली निकाल्ने र फोहोरबाट ग्यास उत्पादन गरी घरघरमा पाइपबाट उपलब्ध गराउने कुरा गर्दा मानिसले खिल्ली उडाउने गरेकोप्रति ओलीको गुनासो थियो । उहाँको भनाइ थियो, ‘मैले गर्न सकिने र गर्नैपर्ने कामबारे जनतालाई जानकारी गराएको हुँ । गर्नैपर्ने कामबारे बताउँदा मलाई अनावश्यक ढङ्गले आलोचना गरियो, तर म केही गरेरै छोड्नेछु ।’

सङ्घीयताको विषयमा पहिले केही मतभेदको अवस्था रहेको भए पनि अहिले धेरैले मानिदिएको अवस्था छ भन्दै ओलीले भन्नुभयो, ‘एकथरी मानिस आफूले भनेजस्तो हुनैपर्छ भनी जिद्दी गर्दै छन् । लोकतन्त्रमा हुनै नमिल्ने व्यवहार एकथरीबाट भइरहेको छ, यस्तो अवस्था अनवरत रहन दिइन्न ।’

दुई दर्जन सम्पादकहरूबीच केपी ओलीले प्रधानमन्त्रीका रूपमा आफूबाट यसबीचमा भए–गरेका कामको विवरण दिन सक्नुभएन । बरु घुमाइफिराइ काम गर्न नसक्नुको कारण स्पष्ट गर्ने प्रयास उहाँले गर्नुभएको थियो । पत्रकारहरूसँगको यस भेटमा प्रधानमन्त्रीले कुनै हावादारी गफ दिनुभएन । भारतले नदिए चीनबाट ल्याइन्छ भन्ने कुनै योजना पनि उहाँले प्रस्तुत गर्नुभएन । नाकाबन्दी हटाएर मुलुकको वातावरण सहज बनाउनेतर्फ कुनै योजना बनेकोबारेमा पनि ओलीले केही बताउनुभएन । आफू देशका लागि केही गर्न प्रयत्नशील रहेको र त्यस्तो प्रयत्न जारी राखिने कुरामा मात्र उहाँको जोड थियो । करिब पैंतालीस मिनेट लामो मन्तव्यका क्रममा ओलीले सरकारका उपलब्धिबारे बताउन नसक्नुभए पनि तराईमा आन्दोलनरत समुदायलाई आलोचना गर्न भने छोड्नुभएन ।

पत्रकारहरूको एक प्रश्नको जवाफमा ओलीले देशको स्थिति सहज नभई आफू भारत भ्रमणमा जानु वाञ्छनीय नहुने बताउनुभएको छ । तराईमा जारी आन्दोलनप्रति टिप्पणी गर्दै ओलीले भन्नुभयो, ‘पृथकतावादी चिन्तन र अभ्यास भइरहेका छन्, हिंसात्मक क्रियाकलापको चरम रूप देखिएको छ, तराईका एफएम रेडियोहरूले अत्यत्नै हानिकारक भूमिका निर्वाह गरिरहेका छन् ।’ उहाँको भनाइ छ, ‘अब यस्ता कुराहरूलाई अनवरत रूपमा चल्न दिइन्न ।’ नाकाबन्दी कहिलेसम्म खुल्न सक्ला भनी गरिएको प्रश्नको जवाफमा ओलीको भनाइ थियो, ‘एक–दुई दिनमै खुल्छ ।’ तर, खुल्ने आधार भने उहाँले प्रस्तुत गर्न सक्नुभएन र भन्नुभयो, ‘मलाई राजनीतिक दलहरू जिम्मेवार छन् र मित्रहरू विश्वास गर्न लायक छन् भन्ने विश्वास छ ।’ विवाह गरेर नेपाल भित्रिएका एक हजार ७५ जनालाई नागरिकताको प्रमाणपत्र दिइसकेको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विवाह गरेकै भोलिपल्ट विदेशीलाई अङ्गीकृत नागरिकता दिने व्यवस्था नेपालबाहेक अन्य कुनै मुलुकमा छ भने मलाई देखाइदिनुपर्‍यो ।’