पूर्वराजा किन गए बैंकक ?

पूर्वराजा किन गए बैंकक ?


gyenendra
पूर्वराजा ज्ञानेन्द्र यसै साता बैंकक पुग्नुभएको छ । पूर्वबडामहारानी कोमलका साथ माघ ७ गते बिहीबार उहाँ बैंकक प्रस्थान गर्नुभएको हो । २०५८ सालमा भएको दरबार हत्याकाण्डमा गोली लागी घाइते हुनुभएकी रानी कोमललाई गोली लागेको अङ्गमा मौसमी असर भई दुख्न थालेकोले उहाँको उपचारको लागि पूर्वराजदम्पती थाइल्याण्ड जानुभएको बताइएको छ । उहाँको उपचारमा दुई साताभन्दा बढी समय लाग्न सक्ने बुझिएको छ ।

यसरी पूर्वरानीको उपचारका निम्ति थाइल्याण्ड पुगेको भनिए पनि यो भ्रमण राजनीतिक उद्देश्यप्ेररित रहेको जानकारहरूको भनाइ छ । गत असोज ३ गते संविधानासभाबाट संविधान जारी भई गणतन्त्र संस्थागत गरिएको दाबी राजनीतिक दलका नेताहरूले गरेका भए पनि ‘दरबार’ले राजसंस्था पुनस्र्थापनाको सम्भावना देख्न छोडेको छैन । नेपाली राजनीतिमा प्रभाव पार्ने क्षमता भएका उत्तरी तथा दक्षिणी छिमेकी राष्ट्रसम्बद्ध अनौपचारिक ‘दूत’हरूसँग विशेष छलफल गर्ने योजनाका साथ पूर्वराजाको बैंकक भ्रमण भएको बताइन्छ । उहाँले बैंककमा चीन र भारतका कुन स्तरका ‘दूत’सँग भेट गर्न लाग्नुभएको हो स्पष्ट हुन सकेको छैन ।

नेपालमा संविधान जारी भइसकेपछि पनि देशको स्थिति सामान्य बनाउन दलका नेताहरू असफल भएकोले छिमेकी राष्ट्रहरू चिन्तित बनेका छन् । यसअघि पनि बैंककमा पूर्वराजा ज्ञानेन्द्रको चीन र भारतका अनौपचारिक ‘दूत’हरूसँग परामर्श भएको समाचार सार्वजनिक भएको थियो । तर, नेपालमा संविधान जारी भइसकेपछि भने पूर्वराजाको यो पहिलो बैंकक भ्रमण हो । यो भ्रमणले पूर्वरानीको स्वास्थ्यस्थिति मात्र ठीक बनाउने हो या देशकै स्वास्थ्यमा परिवर्तन ल्याउनेस्तरको योगदान पुर्‍याउने हो प्रतीक्षाको विषय बनेको छ । बैंककबाट आवश्यक परे पूर्वराजा ज्ञानेन्द्र नयाँदिल्लीसम्म जानुहुने बताइएको छ ।