अब यो बाटो किन नरोज्ने ?

अब यो बाटो किन नरोज्ने ?


Ramu Rai
:: रामु राई ::

प्रजातन्त्रको उपहास गर्दै नेपाली जनताको सुझाव र सल्लाहविपरीत विदेशीको डिजाइनबमोजिम अर्बौं डलरको ठेक्कामा जबर्जस्ती जारी गरिएको संविधानले सुख र शान्तिको बदला राजनीतिक, संवैधानिक र मानवीय सङ्कट सिर्जना गरिरहेको छ । राष्ट्र, राष्ट्रियता कमजोर हुने काम भएको छ, राष्ट्रिय पहिचानहरू बढार्ने कोसिस गरिएको छ । कुनै पनि विचार, सिद्धान्तमा आबद्ध भएकाले पनि अस्वीकार गर्न नसक्ने कुरा हो यो ।
यसरी राष्ट्रिय स्वार्थलाई दाउमा राखेर व्यक्तिगत स्वार्थका निमित्त विदेशीको हारगुहारबाट पौने तीन करोड नेपाली जनताको एकताको प्रतीक दुई सय ४० वर्षअघिदेखिको ऐतिहासिक रूपमा मानिआएको राष्ट्रिय अभिभावक संवैधानिक राजसंस्थालाई पाखा लगाउने र विदेशीलाई अभिभावक तुल्याई भण्डार खनेर आँगन पुर्ने राष्ट्रघाती काम गरियो, यो नै राष्ट्रप्रति गद्दारीको भयानक सुरुवात भएको थियो । १२बुँदे सम्झौता विदेशीको काख र समन्वयमा सहमति गर्दै राजसंस्थालाई हटाउने काम मात्र नभई जानेर वा नजानेर नेपाल र नेपाली सबैको राष्ट्रिय राजनीतिक स्वामित्वसमेत विदेशीलाई सुम्पँदै आउने काम भयो । त्यसैले हरेक राजनीतिक घटनाक्रममा सिर्जित राजनीतिक समस्याको समाधान खोज्न लाज पचाई राष्ट्रिय स्वाधीनता र स्वाभिमान गिराउँदै विदेश धाउने परम्पराको थालनी गरियो ।

हाम्रो मुलुक जातीय विविधता, धार्मिक तथा सांस्कृतिक विविधतालगायत हिमाल, पहाड तथा तराई गरी क्षेत्रीय विविधता भएको सुन्दर, शान्त देशमा सदियौँदेखि परस्पर सद्भाव पूर्ण ढङ्गबाट सहअस्तित्वका साथ मिलिजुली आइरहेको समाजमा एकाएक जातीय तथा क्षेत्रीय मुद्दाहरू उचालेर कुनै एक जातको नेपाली र अर्को क्षेत्रमा बसोबास गरी आएको नेपाली–नेपालीको बीचमा लडाइँ, झगडा गराई सामाजिक सद्भाव भड्काउने कोसिस गरिएको छ र देशलाई गृहयुद्धमा धकेली रुवाण्डा र नाइजेरियाजस्तो बनाउने षड्यन्त्र थालिएको छ । फलस्वरूप सामाजिक तथा राष्ट्रिय एकताको जरैदेखि खल्बलाउने काम भएको छ । यसरी १२बुँदे सहमतिबाट सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्रसम्म आइपुग्दा आज स्वतन्त्र, सार्वभौमसम्पन्न राष्ट्र नै रहन्छ कि रहँदैन भन्नेजस्ता कहालीलाग्दो परिस्थितिमा आइपुगेका छौँ ।

यो मुलुकको विशिष्ट पहिचान भनेकै जातीय विविधता, धार्मिक तथा सांस्कृतिक विविधता र क्षेत्रीय विविधता नै हुन् । त्यसैले कुनै क्षेत्रका धर्म–सम्प्रदाय प्रतिनिधि वा कुनै राजनीतिक दल र प्रतिनिधिहरूबाट यो देशको एकताको समन्वय हुन सक्तैन । राजनीतिक दल र नेताहरू त विदेशीका लहैलहैमा बहकिरहेको अनगन्ती परिदृश्य देखिएका छन्् । यसकारण राजनीतिक दलहरूको अतिरिक्त यतिखेर एकताको प्रतीक अनिर्वाचित स्थायी शक्ति स्थापनाको आवश्यकता खड्किनु स्वाभाविक छ ।

विगतमा बहालमै रहँदा एकजना विद्वान् भू्पूप्रधानमन्त्रीले यो देशको साँचो विदेशमा रहेछ अर्थात् मैले गर्ने शासन विदेशबाट निर्देशित छ भन्नेजस्ता लज्जास्पद अभिव्यक्ति दिएको कुरा सायद धेरैले सम्झिराखेकै हुनुपर्छ । अब यसरी यो देशको सरकारप्रमुखको पनि विदेशमै साँचो हुने र विदेशीको प्रभावबाट चुनिने राष्ट्रप्रमुखको पनि विदेशमै साँचो भइदिने हो भने यस्ता विदेशी कठपुतली सरकारप्रमुख (प्रधानमन्त्री) र राष्ट्रप्रमुख (राष्ट्रपति)हरूबाट कसरी यो देशको अस्मिता स्वतन्त्र सार्वभौमसम्पन्न राष्ट्र सुरक्षित हुन सक्ला ? यसमा हामी सबै नेपालीले राष्ट्र बचाउने उपयुक्त उपाय खोज्नु राष्ट्रिय कर्तव्य हुन आएको छ ।

त्यसैले अब यो देशको राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डतालाई बचाइराख्ने हो भने दिन प्रतिदिन बिगँ्रदै गइरहेको परिस्थितिलाई सुधार गर्ने हो भने वर्तमान संविधानलाई खारेज गरी विविधताको बीचमा एकताको समन्वयकारी चोयाको भूमिका खेली सबै नेपालीलाई एकै ठाउँमा बाँधिराख्न सक्ने स्वतन्त्र निष्पक्ष स्थायी शक्ति अपरिहार्य छ । यस्तो शक्ति भनेको संवैधानिक राजसंस्थाको पुनर्वहाली नै हो, योबाहेक अरू केही उपयुक्त उपचार या विकल्प हुने कमसेकम आजका दिनसम्म देखिँदैन । यो नै एक मात्र अचुक, राजनीतिक, संवैधानिक र स्थायी समाधानको औषधि हुनसक्छ । किनकि राजनीतिक दलहरू विदेशीको प्रभावमा बहाल रहे तापनि स्थायी शक्तिबाट नियन्त्रण सन्तुलनको राष्ट्रवादी भूमिका हुनसक्छ । जसले गर्दा सुन्दर शान्त नेपाल र पौने तीन करोड नेपालीको उच्च शिर र फराकिलो छातीका साथ नेपाल बाँचिरहनेछ । हामी नेपाली बाँचिरहनेछौँ ।
Prithvi_Narayan_Shah
राजा राष्ट्रप्रमुख मात्र होइनन्, राष्ट्रनिर्माता र राष्ट्रनिर्माणका अभियन्ता पनि हुन् । यदि राजाले टुक्रा–टुक्रामा छरिएर रहेको बाइसे–चौबीसे राज्यलाई एकीकरण गरी सिङ्गो–सग्लो राष्ट्र निर्माण नगरिएको भए यो मुलुक आज अङ्ग्रेज वा अरू कुनै बाह्यशक्तिको फन्दामा परी हाम्रो नेपाल र हामी नेपाली हुने अवस्थामा रहने थिएनौँ । तर, गणतान्त्रिक दलका नेता कार्यकर्ताले तिनै राष्ट्रनिर्माता राजाको मूर्तिलाई लात्ताले भत्काउने बहादुरी गरिन्छ । अनि उनै स्वाधीनता, स्वाभिमान र राष्ट्रियताको ठूलो गफ चुटिरहेको सुनिन्छ । धिक्कार छ †
त्यसैले, इतिहासको शून्यतामा वर्तमानको निर्माण र सिर्जना हुन सक्तैन । अर्थात् बाउ–आमाबेगर यहाँ कोही बहादुर त के लुरे छोराहरू पनि आउन, पाउन वा हुन सक्दैन । त्यसैगरी जारी संविधानले यो मुलुकको धार्मिक तथा सांस्कृतिक क्षेत्रलाई पनि समाप्त पार्ने गरी आक्रमण गरेको छ । किनकि यो देश ऋषिमुनिहरूको तपोभूमि शिव–पार्वतीले तपस्या र रचना गरेको देश, जनकको देश, सीताको देश, शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको देश, आराध्यदेव भगवान् पशुपतिनाथको पवित्र आध्यामिक देश नेपालमा सदियौँदेखि नेपालीको जीवन पद्धतिकै रूपमा स्थापित भई आएको वैदिक सनातन हिन्दूधर्मलाई नेपाली जनताको इच्छा र चाहनाविपरीत बाह्य मुलुकको प्रभावमा पाखा लगाई आफ्नी आमा सोझी र गरिब छिन् भन्दैमा विदेशी धनी आमाको डलरमा आफ्नी मातृभूमि आमाको चीरहरण गर्ने काम गरिएको छ ।

संसारको सबैभन्दा प्राचीन देशहरूमध्ये नेपालको सृष्टि र सिर्जना सँगसँगै हिन्दूधर्म रहिआएको कुरा इतिहास साक्षी छ । त्यसैले यो देशको सभ्यता र संस्कार संस्कृति नै यही धर्ममा आधारित पनि छ । जुन यहाँको हिन्दू, किराँत र बुद्धिष्टहरूले नै यो देशको इतिहास कोरेका हुन् र सभ्यताको रचना गरेका हुन् । यही धर्मको आधारमा हाम्रो देश नेपाल जातीय, क्षेत्रीय विविधता भए पनि एकतामा बाँधेर राख्ने कडीको रूपमा पनि हिन्दूधर्मले भूमिका खेलिआएको छ । त्यसैले धर्म हाम्रो राष्ट्रियता, संस्कार र संस्कृति मात्र नभई धर्म यो मुलुकको गरगहना पनि रहिआएको छ । संसारमा ८० भन्दा बढी देश इसाई राष्ट्र हुन हुने, त्यसरी नै ४५ भन्दा बढी देशहरू पनि मुस्लिम राष्ट्र हुन हुने, तर विश्वमा एक मात्र हिन्दूराष्ट्र नेपाल हुन नहुने ? जो हामी सम्पूर्ण नेपालीले मानिआएको धर्म मात्र नभई राष्ट्रकै पहिचानको रूपमा रही आएको हुँदा जारी कथित संविधान २०७२ खारेज गरी वैदिक सनातन हिन्दू अधिराज्य नेपाल कायम गरिनु यो मुलुकको आवश्यकता हो । ९३.४ प्रतिशत ओमकार परिवार नेपालीको चाहना हो ।

किनकि, वेद यो ब्रह्माण्डकै संविधान हो । आध्यामिक तथा वैज्ञानिक मार्गदर्शन पनि हो । साथसाथै भगवान् बुद्धको जन्मभूमि र आराध्यदेव भगवान् पशुपतिनाथको देश नेपाललाई सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र नेपाल घोषणा गर्दा संसारभरि छरिएर रहेका लाखौँ बुद्धिष्ट र करोडौँ हिन्दू धर्मावलम्बीहरूको तीर्थराष्ट्र नेपाल हुनेछ । ती भक्तजन वर्षको एकपटक मात्र हिन्दूराष्ट्र नेपाल तीर्थयात्रामा आउँदा इसाई र मुस्लिमहरूको भेटिकनसिटी र साउदी अरबजस्तो गुल्जार नेपाललाई किन नबनाउने ? जसले गर्दा देशको पर्यटन तथा आर्थिक विकास किन नगर्ने ?

(लेखक राप्रपा नेपाल (समानान्तर)का महामन्त्री हुन् ।)