अचेल

अचेल


अचेल
Radhika
– राधा बास्तोला

रिसाउनु र खुसाउनुको कुनै सीमा हुन छोड्यो
खै कसैको चोखो माया पाएर पो होकि अचेल ?
आश मारेर दिक्क हुँदै थाकेको यो मन पनि
खै कसैको प्रतीक्षामा तड्पँदै छ किन अचेल ?

आफैसँग आफैलाई परिवर्तन भएजस्तो
यो मन पनि कुन्नी कसलाई खोजिरन्छ किन अचेल ?
एक्लै बोलौँ–बोलौँ लाग्छ एकान्त नै रोजौँ लाग्छ
मैले पनि खै कसैलाई चाहेर पो होकि अचेल ?

हिँड्दाहिँड्दै बीच बाटोमा खै कसैले बोलाएझैँ
कोमल हातको स्पर्शले झस्काएझैँ लाग्छ अचेल
बर्बराउँछु सपनीमा चञ्चल भा’छ स्वभाव पनि
मैले उनलाई साँचो माया गरेर पो होकि अचेल ?

जब बज्छ फोनको घण्टी झस्कन्छ मन त्यसै–त्यसै
उनकै फोन पो आ’को होकि जस्तो लाग्छ किन अचेल?
उनको काख नछोडेर बसिरहुँ जस्तो लाग्छ
यति ठूलो ममा किन परिवर्तन भा’को अचेल ?

– सिक्किम गान्टोक