सागका स्वर्णधारीलाई राज्यको सम्मान

सागका स्वर्णधारीलाई राज्यको सम्मान


Sport 2
दक्षिण एसियाली खेलकुदको विभिन्न ११ संस्करणमा स्वर्ण जित्न सफल खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्ले एक विशेष कार्यक्रमबीच सम्मानसहित पुरस्कृत गरेको छ । सागको ११औँ संस्करण समाप्तिसम्म टिम र व्यक्तिगतमा गरी नेपाली खेलाडीको कुल एक सय सात स्वर्ण जितेका थिए । सो कार्यक्रममा स्वदेश र विदेशमा रहेका स्वर्णविजेताबाहेकका खेलाडीलाई मात्र पुरस्कृत गरिएको थियो । उनीहरूलाई राखेप सदस्यसचिव केशवकुमार विष्टले समान दुई हजार पँच सयका दरले नगद हस्तान्तरण गरेका थिए । त्यस्तै राखेप सदस्यद्वय देव अधिकारीले खादा र शकुन्तला नगरकोटीले ब्याच प्रदान गरेका थिए । सो कार्यक्रममा उपस्थित ४६ स्वर्णधारीलाई रकम हस्तान्तरण गरिएको थियो । दोहोरो, तेहेरो र चौथो पदक जित्नेलाई पनि एक स्वर्ण पदक जित्नेसरह नै पुरस्कृत गरिएको थियो ।

सदस्यसचिव विष्टले यो पुरस्कार हरेक महिना आजीवन प्रदान गरिने घोषणा गरेका थिए । विष्टले उक्त रकम प्रत्येक महिना खुद खेलाडी राखेपमा उपस्थित भएर लैजानुपर्ने जानकारी गराएका थिए । त्यस्तै विदेशी खेलाडीको हकमा उनीहरूले पनि प्रत्येक महिना अन्य खेलाडीले झँै राखेपमा उपस्थित भएर रकम लानुपर्ने जानकारी गराएका थिए । नेपाल घुम्न गएको बेला एकमुष्ट लिउँला भनेर नपाउने जानकारी गराएका थिए । त्यस्तै सो अवसरमा विष्टले साग, एसियाली र ओलम्पिकमा विभिन्न पदक जित्ने खेलाडीका लागि हरेक महिना आजीवन पुरस्कारको व्यवस्था गर्न लागिएकोसमेत प्रतिबद्धता व्यक्त गरेका थिए ।

सदस्यसचिव विष्टका अनुसार प्रत्येक महिना सागको स्वर्णलाई पाँच हजार, रजतलाई तीन हजार र कास्यलाई एक हजार पाँच सय तथा एसियाली खेलकुदको स्वर्णलाई १५ हजार, रजतलाई १० हजार र कास्यलाई पाँच हजार रुपैयाँ प्रदान गर्ने गरी परिषद्ले तयारी गरिरहेको बताएका थिए । त्यस्तै ओलम्पिकको स्वर्णलाई २५ हजार, रजतलाई २० हजार र कास्यलाई १५ हजार प्रत्येक महिना दिने गरी प्रस्ताव पेस गर्ने सदस्यसचिव विष्टले जानकारी गराएका थिए । त्यस्तै सदस्यसचिव विष्टले प्रशिक्षकहरूलाई पनि प्रतियोगिताको वरियताअनुसार नगदले सम्मान गर्ने जानकारी गराएका थिए ।

हाल नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ सदस्यसचिव भएको बेला सागका स्वर्ण विजेतालाई प्रोत्साहनस्वरूप प्रत्येक महिना दुई हजार रुपैयाँ दिने सुरुवात गरिएको थियो । विविध कारणले पछि त्यो रोकिएको थियो । पुरस्कारलाई प्रत्येक महिना निरन्तरता दिने उद्देश्यले राखेपले खेलाडीलाई पुरस्कृत गरेको हो ।

सो कार्यक्रममा सदस्यसचिव विष्टले आफूले रोकिएको कार्यलाई पुन: शुभारम्भ गरेको वताए । रकमका हिसाबले यो ठूलो रकम नभए पनि राज्यबाट सम्मान पाउनु नै ठूलो भएको बताएका थिए । यो खेलाडीहरूले राष्ट्रका लागि बगाएको रगत र पसिनाको प्रतिफल भएको पनि चर्चा गरेका थिए । विष्टले यो रकम अब खेलाडीलाई मासिक रूपमा प्रदान गरिने जानकारी गराउँदै राखेपले खेलाडीको सम्मान र हौसलाका लागि आफूले पुन: यो पुरस्कार वितरण गर्न पाउँदा खुसीको अनुभव भइरहेको बताएका थिए । त्यसबेला यो कार्यक्रम किन बन्द भो, आफूलाई जानकारी नभएको भन्दै अब यो कार्यक्रम कहिल्यै बन्द नहुने बताएका थिए । सदस्य विष्टले अब राखेपमा जुनसुकै सदस्यसचिव आए पनि स्वर्णधारी खेलाडीले निरन्तर रूपमा रकम पाउने व्यवस्था गरेकोसमेत सो अवसरमा गरेका थिए । राज्यको यो सहयोगलाई तपाईंहरूले तलब भने पनि, पेन्सन भनेजस्तो रूपमा लिए यो राष्ट्रले तपाईंहरूप्रति गरेको सम्मानको रूपमा लिन पनि सदस्यसचिव विष्टले आग्रह गरेका थिए ।

त्यस्तै नेपाली कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले आफूले अग्रज दाइहरूले मासिक रूपमा रकम थाप्ने सुनेको थिएँ भन्दै आज आफूले पनि पाउँदा गर्वको महसुस भएको बताए । यसले आफूले राष्ट्रको लागि केही गरेको पनि महसुस भयो– उनले भने । त्यस्तै खेलाडीको हितका लागि सञ्चालन भएको यो कार्यक्रम विगतमा किन रोकियो त्यसबारे दु:ख प्रकट गरेका थिए । साथै अब शुभारम्भ गरेकोमा विष्टले राखेपलाई धन्यवाद प्रकट गरेका थिए । कार्यक्रम नेपालका कीर्तिमानी म्याराथन धावक वैकुन्ठ मानन्धरको अध्यक्षतामा सम्पन्न भएको थियो ।