राप्रपा एक हुन थापालाई अध्यक्ष मान्नुपर्ने !

राप्रपा एक हुन थापालाई अध्यक्ष मान्नुपर्ने !


kt
पूर्वपञ्चहरूको दुई समूह राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकीकरणका निम्ति पुन: अग्रसरता लिइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बुद्धिमान तामाङको संयोजकत्वमा एकताको निम्ति वार्ता समिति गठन गरेको एक साता नबित्दै राप्रपा नेपालले पनि राजीव पराजुलीको नेतृत्वमा पाँच सदस्यीय वार्ता समिति सार्वजनिक गरेको छ । समितिमा नेताहरू निरञ्जन थापा, धवलशमशेर जबरा, राजेन्द्र लिङ्देन र मोहन श्रेष्ठ रहेका छन् ।

यसअघि गत वर्ष फागुनम पनि राप्रपा नेपालले एकताको लागि भन्दै एक वार्ता समिति गठन गरेको थियो । पशुपतिशमशेर अध्यक्ष रहँदा गत वर्ष दुई पार्टीबीच एकताको सम्भावना बढेको थियो । हिन्दू राष्ट्रको एजेण्डामा दुई पक्षबीच समान धारणा बनेपछि पार्टी एकीकरणको सम्भावना विकसित भएको थियो, तर त्यसबेला दीपक बोहोराका कारण पार्टी एकीकृत हुने क्रम रोकिएको बताइन्छ । राप्रपाको नेतृत्व लोकेन्द्रबहादुर चन्दले लिनुभएपछि दुई पार्टी एकताको प्रयास पुन: सुरु भएको त छ, तर तत्काल एकता भइहाल्ने विश्वास गर्न भने सकिने अवस्था छैन ।

विचार, नीति र सिद्धान्तमा समानता भए पनि नेतृत्वको विषयलाई लिएर उत्पन्न हुने तनावले एकतामा अड्चन पैदा गर्नसक्ने देखिएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा कुनै पनि हालतमा पार्टीको नेतृत्व छोड्नुहुँदैन भन्ने पक्षमा रहनुभएको छ । चन्द र राणा कमल थापालाई नै अध्यक्ष कायम राखेर जाँदा पार्टी एकीकरण भएको सन्देश नजाने, राप्रपा नेपालमा राप्रपा विलय भएको अर्थ लाग्ने हुनाले चन्द र राणा पार्टी नेतृत्वबारे फरक धारणा बनाउनुपर्ने पक्षमा रहनुभएको बताइन्छ । अध्यक्ष कमल थापा नै रहने, चुनावचिह्न गाई नै राख्ने र पार्टीको नाम पनि राप्रपा नेपाल नै राखेर पार्टी एकता हुन नसक्ने स्पष्ट छ ।

कमल थापा अरू धेरै कुरामा सम्झौता गर्न तयार भए पनि पार्टी अध्यक्ष पद छोड्ने मानसिकतामा नभएकोले दुई राप्रपाबीच तत्काल एकताको सम्भावना देखिएको छैन । तर, दुवै पार्टीले भविष्यसम्म आफ्नो साख जोगाइराख्ने हो भने एकता अनिवार्य मानिएको छ ।