खुलेकै हो त वीरगञ्ज नाका ?

खुलेकै हो त वीरगञ्ज नाका ?


Birganj-Vansar
केही दिनअघि प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा भएको आफ्ना कार्यकर्तासँगको कुराकानीमा आउँदो शनिबारसम्ममा वीरगञ्जको नाका खुल्ने अभिव्यक्ति दिएका थिए । लगत्तै एमाओवादी अध्यक्ष प्रचण्डको सोही प्रकारको अभिव्यक्ति आयो । उनले त शनिबारको दिन तोकेरै नाका खुल्ने कुरा गरेका थिए । यसैबीच पटनामा लालुप्रसाद यादवलगायतका भारतीय नेताहरुसँग भेटघाटमा रहेका आन्दोलनरत मधेसी मोर्चाका एक नेता राजेन्द्र महतोको महत्वपूर्ण धारणा सार्वजनिक भयो, कि सबै नाका बन्द हुनुपर्ने होइन भने वीरगञ्ज नाका पनि खुल्नुपर्ने । वीरगञ्जमा मात्रै बन्द गर्दा मधेसका जनताले दुःख पाए भन्ने उनको आशय थियो । यस्ता अभिव्यक्तिहरुले बन्द सीमानाकाको सम्बन्धमा राजनीतिक तहमा केही न केही खिचडी पाकिरहेको अनुमान गर्न सकिन्थ्यो । नभन्दै शुक्रबार वीरगञ्ज नाका खुलेको समाचारले मिडियामा प्राथमिकता पाएको छ ।

तर, के नाका साँच्च्ै खुलेको हो त ? सचेत तप्काबीच यो प्रश्न भने ज्युँकात्युँ नै रहेको अनुभूति गरिँदै छ ।
किनकि, आन्दोलनमा रहेको मोर्चाले नाकाको धर्ना स्थगित गरिएको या फिर्ता लिएको आधिकारिक घोषणा गरेको छैन । मोर्चाका नेताहरुबीच नै नाका खोल्ने कि कायम बन्द राख्ने भन्ने सवालमा मतैक्यता छैन । तर, शीर्ष नेता मानिएका राजेन्द्र महतो नै नाका खोल्ने पक्षमा उभिएकाले अब नाका सुचारु हुने अनुमानलाई बल दिएको हो ।

खोसमा वीरगञ्ज नाकामा यतिबेला धर्नाकारीलाई स्थानीय जनता र व्यवसायीहरुले नै असहज अवस्था सिर्जना गरिदिएका छन् । उनीहरुको पाल च्यातेर आगो लगाइएको मात्र होइन फेरि धर्ना बस्न खोज्दा उनीहरु स्थानीयबाट लघारिएका छन् । यसको मतलव आन्दोलनकारीको रवैयासँग स्थानीय जनता नै असन्तुष्ट या रुष्ट बन्न पुगेका छन् । नाकाबन्दीका कारण वीरगञ्जजस्तो व्यापारिक शहरको अवस्था नै धराशयी बन्न पुगेपछि स्थानीय व्यवसायी वा जनतामा असन्तोष बढेको हो । जब यसरी लोकल पिपुल नै प्रतिकारमा उत्रिए, मोर्चालाई नाकामा धर्ना बस्न अत्यन्तै प्रतिकुल हुन पुग्यो ।

वास्तवमा नाका खुलेको भन्ने अहिलेको यथार्थ सारमा यत्ति मात्र हो ।
Birgung naka
आधिकारिक रुपमै नाका खुल्न त मोर्चाले सार्वजनिक रुपमा नाकाबन्दी फिर्ताको घोषणा गर्नुपर्ने हुन्छ, साथै भारतीय पक्षले भन्सारमा रोकिएका मालवाहक गाडीहरु पास गरिदिनु पर्ने हुन्छ । शुक्रबार दिउँसो नाका सुचारु भएको खबर सार्वजनिक हुँदासम्म यी दुबै कार्यले आधिकारिकता पाएका छैनन् ।

तथापि, मधेसी मोर्चाले शनिबारसम्ममै नाकाबन्दी फिर्ता लिएको घोषणा गर्नसक्ने प्रवल सम्भावना छ । यसको विपरीत आन्दोलनलाई नयाँ ढंगबाट चर्काउन सक्ने सम्भावना पनि उत्तिकै रहेको स्रोतहरु बताउँदछन् । यस आधारमा वीरगञ्ज नाका खुल्यो भन्ने आधार छैन र तत्काल खुल्दैन भन्न सकिने अवस्था पनि छैन ।