भारतसँग सम्बन्ध प्रगाढ तुल्याइने अर्थमन्त्री पौडेलको प्रस्टोक्ति

भारतसँग सम्बन्ध प्रगाढ तुल्याइने अर्थमन्त्री पौडेलको प्रस्टोक्ति


Finance Minister Paudel
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सम्भावित भारत भ्रमणको पूर्वसन्ध्यामा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारत प्रस्थान गरेका छन् । आइतबार नयाँदिल्ली उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले भारतसँग गाढा मित्रता कायम गर्न र समृद्धिका लागि साझा क्षेत्रको पहिचान गर्ने उद्देश्यले आफूले भारत भ्रमण गर्न लागेको बताए । प्रधानमन्त्रीको निकट भविष्यमा हुने भारत भ्रमणको तयारीका सिलसिलामा विकास र आर्थिक विषयमा केन्द्रित भएर छलफल गरिने जानकारी पनि उनले दिए ।

सञ्चारकर्मीको एक प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले भने– प्रधानमन्त्रीको भारत भ्रमण सबै हिसाबले उपलब्धिपूर्ण होस्, उहाँको भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सकोस् भन्ने उद्देश्यका साथ छलफल हुनेछ । दुई देशबीचको सम्बन्ध प्रगाढ, घनिष्ठ, जीवन्त, पारस्परिक लाभ र सहयोगमा आधारित तथा आजको युगको माग अनुरुप हुनुपर्छ भन्ने मान्यतामा सरकार रहेको बताउँदै उनले भविष्यलाई सोचेर दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा उठाउनुपर्छ भन्ने आत्मविश्वासका साथ आफूहरु प्रस्तुत हुने प्रस्ट्याए ।

अर्थमन्त्री पौडेलले पुनःनिर्माण सन्दर्भमा भारतीय पक्षबाट भएको सहयोगको प्रतिबद्धतालाई कसरी सदुपयोग गर्न सकिन्छ भन्नेमा गहन छलफल हुने तथा भारतीय सहयोगमा सञ्चालन भएका विकास आयोजनाको समीक्षा, सहमति भएका विकासका आयोजनाको तीव्र कार्यान्वयन र साझा समृद्धिका क्षेत्रको पहिचान गर्ने विषयमा विस्तृत रुपमा विचार विमर्श हुने पनि उल्लेख गरे ।

नयाँदिल्लीमा रहँदा भारतका अर्थमन्त्री अरुण जेट्ली, विदेशमन्त्री सुष्मा स्वराजलगायत नेतासँग दुई देशबीचको सम्बन्ध विस्तारका विषयमा केन्द्रित रहेर छलफल गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए । अर्थमन्त्री पौडेलका साथ अर्थसचिव लोकदर्शन रेग्मी र परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीलगायत तीनदिने भारत भ्रमणमा गएका छन् ।