लोकतन्त्रबारे थप प्रस्टिकरणको खाँचो

लोकतन्त्रबारे थप प्रस्टिकरणको खाँचो


Laxmikanta Paudel
:: लक्ष्मीकान्त पौडेल ::

लोकतन्त्र यस्तो व्यवस्था हो जुन प्रणालीले ‘हिरो’को अतिसयोक्तिमा विश्वास गर्दैन । हिरोले गल्ती नै गर्दैन भन्ने मान्यता पनि यसले राख्दैन । त्यही कारणले हामी लोकतन्त्र मान्दछौँ ता कि कुनै पनि ‘नायक’मा समेत मानवीय कमजोरी लुकेको हुने हुँदा लोकतन्त्र नभए त्यो बाहिर आउँछ र नागरिक तथा आफ्नै मित्रमण्डलीलाई पनि खान्छ ।

चीनमा माओ ‘हिरो’ नै थिए । उनको समयमा विकास भएन, गरिबीले जनता आक्रान्त थिए । तर, जे भए पनि उनको विरोध गर्न नपाइने र जनताले जति गरे त्यो माओले नै गरेको मानिने हुँदा उनी त्यहाँको थोरै विकासका पनि नायक कहलिन पुगे । तर, केही उदारता अपनाएपछि चीनले ठूलो विकास गरेको छ । तर, तेङको केही नाम आए पनि अहिलेको विकासले हिरो जन्माएन । अर्थात्, १९८० को दशकपछिको विकासका हिरो जनता नै हुन् । माओले राष्ट्रपति लि साओ चीलाई आफूसँग विमति राखेकाले मारी नै दिए । त्यति मात्र होइन, त्यागको नाममा चिनियाँहरूलाई माओको एक समयमा पति–पत्नीको भेट पनि ६ महिनामा एकपटक मात्र सम्भव थियो । तर, माओका चारवटी पत्नीको कुरा होइन, बरु उनको बगैँचा र दरबारमा काम गर्ने युवतीको सङ्ख्या करिब १० जना हुन्थ्यो र हरेक दिन नयाँ युवती कामदारहरू पठाउनुपर्ने व्यवस्था थियो भन्ने आरोप सार्वजनिक नै भएको छ ।

रुसलाई स्टालिनले तहसनहस नै पारे । अहिले नयाँ शक्ति भन्ने दल (?)का नेता बाबुरामले रुसमा स्टालिनको समयमा १०० प्रतिशतसम्म विकास भएको बताएका थिए । यो भने सत्य हो र जाली सत्य हो । अर्थात्, किसान र मजदुरहरूलाई उब्जानी र कामको प्रतिफल नदिएको तथा उनीहरूमाथि आतङ्क मच्चाएकाले देशको आम्दानी चौपट्ट भएको थियो । यहाँसम्म कि कोइला र फलामको उत्पादन पहिलाको उत्पादनको एकतिहाइभन्दा पनि कम भएको थियो । उनले गल्ती महसुस गरेर मजदुर र किसानलाई केही सहुलियत दिए । त्यसपछि उत्पादन दोब्बरभन्दा पनि बढी भयो । तर, त्यो शतप्रतिशत विकास भएको होइन, केवल अघिल्लो वर्ष बिग्रेको सुधारसम्म थियो । त्यो पनि पूर्ण थिएन । यसलाई पनि जनतालाई झुक्याउन अतिरञ्जित गरिन्छ ।

स्टालिनका विश्वासपात्र तर स्टालिनभन्दा पनि जनप्रिय कम्युनिस्ट नेता सर्गेई किरोभ मारिए, त्यस्तै गोर्की पनि मारिएकै भनिन्छ । त्यो स्टालिनको समयकै घटना हो । स्टालिन आफ्ना नजिककाहरू पनि आफूभन्दा जनप्रिय भएमा आफूलाई नै अपदस्त गर्न सक्दछन् भन्नेमा सचेत थिए र विरोधीलाई मार्नु त सामान्य थियो । त्यसैले उनको समयमा मारिएको ती दुवैजना नाम चलेका रुसी कम्युनिस्ट नेता एवम् कम्युनिस्ट साहित्यकार मारिए । तिनीहरूको मृत्युको सामान्य खोजतलास पनि भएन । लोकतन्त्रको पक्षमा अगाडि बढ्दै गरेका र कम्युनिस्टबाट आफूलाई लोकतन्त्रवादी र समाजवादी बनाउँदै गरेका मदन भण्डारी मारिएको भन्ने अहिले पनि छ । तर, उनको हत्याको विरोध गर्ने एमालेले सत्तामा नपुग्दा उनको मृत्युलाई सत्तामा पुग्ने भर्‍याङ बनायो । जब सत्तामा पुग्यो, उनको हत्याबारे गहिरिएर अनुसन्धान गर्न आवश्यक सम्झेन । यो कार्य एमालेपङ्क्तिबाटै भएको आरोप उनैका भाइले समेत धेरैले लगाए । आज सबै कुरा हराएको छ । अर्थात्, सत्तामा जानका लागि र सत्तामा रहनका लागि कम्युनिस्टमा अरू, आफ्ना कार्यकर्ता र नेताहरूको हत्या स्वीकार्य छ कि छैन, तर व्यवहारमा सामान्य देखिएको छ ।

माओवादीमा लीलामणि पोखरेललाई हराएर सांसदसमेत बन्न पुगेकी नीरकुमारी बुढाका पतिलाई माओवादीले मारेको आरोप उनले लगाएकी थिइन् । गोर्खाका वाग्ले थरका माओवादी नेतालाई पनि माओवादीले नै मारेको प्रचार आएको थियो । यस्ता धेरै घटना सुनिए, तर तिनका सत्यतथ्य घटनाक्रम बाहिर आउन सकेनन् । यो विश्वभरका कम्युनिस्ट नेताहरूको साझा कहानी हो । के हामी जनताले यो नसोच्ने ? नाम सत्तामा गरिब जनतालाई पुर्‍याउने, काम भने जनतालाई मूर्ख बनाएर सत्ताको मोज लुट्ने कार्य कम्युनिस्टहरूको दिनचर्या हो । लोकतन्त्र र बहुलवादलाई मान्दै जाँदा बाध्यतावश कम्युनिस्टहरूमा त्यो रोग कम हुँदै जाने हुन्छ । अर्थात्, यो प्रणालीको कारणले हुने सुधार हो ।

यति भन्दैमा लोकतन्त्रवादीहरूले निहित कार्य र स्वार्थका लागि झगडामा अल्झिए लोकतन्त्र पनि बलियो हुँदैन र लोकतन्त्रको लक्ष्य पनि पूरा हुँदैन । जनताले लोकतन्त्रलाई राम्रोसँग बुझ्न सक्दैनन् । नेपाल महिला सङ्घ नवलपरासीकी सदस्य मञ्जु पण्डितले एक कार्यक्रममा भन्नुभयो कि लोकतन्त्र र बहुलवाद सफा पानीको मुहान हो । त्यो पानी जनताको धारामा पुग्दा धारोको संरक्षण गर्नेले पनि धारोलाई सफा बनाउनुपर्छ, त्यसका लागि सक्रिय बन्नुपर्छ । त्यसो नभए जनताले मुहान राम्रो भएर पनि सफा पानी पाउँदैनन् । जनताले मुहानको राम्रो पानीको जानकारी पाउन सक्दैनन् । त्यसैले हामी लोकतन्त्रवादीहरू जनताको हितमा अरूभन्दा सजग भएर लाग्नैपर्छ । आज हामी नेपाली काङ्ग्रेसको महाधिवेशनको पूर्वसन्ध्यामा काङ्ग्रेसका भावी कार्यहरू र लक्ष्य तथा नेपाल र नेपाली जनताप्रतिको जिम्मेवारीबारे छलफल गर्न लाग्दा पानीको मुहान र धाराको सम्बन्धबारे प्रस्ट भएर त्यसअनुसार काम गर्न लागिपर्नुपर्छ ।
कम्युनिस्टसमेतका तानाशाही व्यवस्थाका खराबीहरू भनेको पानीको मूलको फोहोरजस्तै हो । माथिका केही उदाहरणहरूले त्यसलाई प्रस्ट पार्छन् । मूल फोहोर भएमा त अनिवार्य रूपमा धाराबाट पानी नराम्रो नै आउँछ, चाहे त्यो धारा जतिसुकै राम्रो बनाएर भ्रम छरियोस् । तर, मूल राम्रो भएर पनि धारा राम्रो बनाउन सकिएन भने परिणाममा उस्तै हुन सक्दछ भन्ने तथ्यलाई ध्यान दिएर हामी अगाडि बढ्नैपर्छ । महधिवेशन त्यसका लागि राम्रो अवसर पनि हो ।

नेपाली काङ्ग्रेस लोकतन्त्र, समाजवाद, विकास र समानता तथा शान्तिप्रति समर्पित योद्धाहरूको अर्को नाम हो । महामानव बीपीले भन्नुभएको थियो कि देशमा विकास र समानता चाहिन्छ, उहाँले यो पनि थप्नुभएको थियो कि गरिबको हित नहुने विकास विकास नै होइन । हामीले लोकतन्त्र आएपछि सबैथोक हुन्छ भन्ने भावना लिनुहुँदैन, लोकतन्त्रलाई बलियो बनाउन गरिब जनताको हितमा लाग्नुपर्छ भन्ने सोचका कारण नै हामी काङ्ग्रेसमा लागेका हौँ । पानीको मुहानको साथै धारा पनि सफा हुनुपर्छ, मुहान लोकतन्त्र हो र धारा हामी हौँ ।

गरिबीको अन्त्यको साथमा अर्को पक्ष अझै महत्त्वपूर्ण छ । त्यो हो समाजमा पछाडि परेका सबैलाई माथि उठाउनु । महिलाको अवस्था सबै समुदायमा पुरुषको भन्दा कमजोर छ । त्यसैले महिलाको हित पनि काङ्ग्रेसको एक प्रमुख लक्ष्य छ र त्यो लक्ष्य अझ प्रस्ट पार्न आवश्यक छ । महिलालाई राजनीति, रोजगारीसमेतमा ५० प्रतिशत आरक्षण आवश्यक छ भन्ने आवाज अनुपयुक्त छैन । जहाँ महिलाको सम्मान हुन्छ त्यहाँ देवता पनि खुसी हुन्छन् भन्ने भनाइ छ, तर महिलाको अवस्था अहिले पनि विश्वमा नै दोस्रो नागरिकको जस्तो छ । नेपालजस्ता देशमा यो अझ बढी छ र यो अवस्थाको अन्त्य हुनुपर्छ नै ।
काङ्ग्रेसले जहिले पनि जनतामा इमानदारी र सक्रियताको माध्यमद्वारा गरिबी निवारण, सीपको विकास, विकास र शान्तिको प्रत्याभूति दिन सक्नुपर्छ भन्ने सन्देश यो महाधिवेशनले दिनुपर्छ र त्यहीअनुसार काम गरेर काङ्ग्रेसलाई अझ जनताको आस्थाको धरोहर बनाउन सक्नुपर्छ भन्ने मान्यतालाई हामीले मूर्तरूप दिनुपर्छ ।

जनतालाई नहुने कुरा सुनाएर तथा भ्रम र डर देखाएर मूर्ख बनाउनेहरूबाट काङ्ग्रेसले सबैलाई सचेत बनाउन आवश्यक छ । काङ्ग्रेस वास्तविक धरातलमा उभिएर जनताको सुख–दु:ख विकास र समानता तथा शान्तिको पक्षमा अझ दह्रोसँग उभिएर नै जनताको हित हुन सक्दछ ।