फेरि आए ‘नटवरलाल’ !

फेरि आए ‘नटवरलाल’ !


एमाओवादी अध्यक्ष प्रचण्डलाई समेत ‘उल्लु’ बनाउन सक्ने एक चिनियाँ नागरिक केही वर्षको अन्तरालमा यो साता पुन: काठमाडौंमा देखापरे । एपेक (APECE) नामक गैरसरकारी संस्थाको अध्यक्षका रूपमा चिनाउने सियाओ वनन (XIAO WANAN) ले एकताक प्रचण्ड सर्वशक्तिमान नेताको रूपमा रहँदा उनलाई आफ्नो संस्थाको उपाध्यक्ष बनाएका थिए । त्यस्तै पूर्वयुवराज पारसलाई पनि निजले उक्त संस्थाको उपाध्यक्ष बनाएका थिए । सियाओले लुम्बिनी विकासको निम्ति आफूले तीन बिलियन अमेरिकी डलर नेपालमा लगानी गर्न चाहेको बताएपछि सो संस्थाको उपाध्यक्ष बन्न प्रचण्ड राजी भएका थिए । उनले उक्त रकम लुम्बिनीमा लगानी गर्ने भनी सार्वजनिक घोषणा पनि गरेका थिए ।
chinese-symbols
तर, प्रचण्ड राजनीतिमा कमजोर देखिन थालेपछि सियाओ नेपालबाट सम्पर्कविहीनजस्तै भएका थिए । अहिले तिनै व्यक्ति लुम्बिनीमा पचास मिलियन अमेरिकी डलर लगानी गर्ने भन्दै नेपाल आए र संस्कृतिमन्त्री तथा प्रधानमन्त्रीसँग भेट गरेको जानकारीमा आएको छ । लुम्बिनीमा नि:शुल्क जमिन उपलब्ध गराइपाउन संस्कृति र प्रधानमन्त्रीसँग माग गरेका उनले त्यसनिम्ति एमओयू (सम्झौता) गर्न मस्यौदासमेत बनाएर ल्याएको बुझिएको छ । तर, सरकारले निजलाई जमिन उपलब्ध गराउने निर्णय गरिनसकेको सम्बद्ध सूत्रले जनाएको छ ।

भनिन्छ, महँगा गाडीमा सयर गर्ने र युवतीहरू बदलिरहने चरित्रका सियाओ वननले विदेशमा आफ्नो बलियो पहुँच रहेको देखाएर चिनियाँ लगानीकर्ताहरूलाई ठग्ने गर्दछन् । यदि नेपाल सरकारसँग जग्गाप्राप्तिसम्बन्धी सम्झौता भयो भने त्यही पत्र देखाएर चिनियाँ धनाढ्यहरूसँग नगद सङ्ग्रह गर्ने नियत सियाओको रहेको बताइन्छ । फागुन २ गते काठमाडौं आएका सियाओले सत्तारुढ दलका विभिन्न नेता, मन्त्री र उच्चपदस्थ कर्मचारीहरूसँग भेटिसकेका छन् । उनले आफूसम्बद्ध गैरसरकारी संस्थाको प्रधान कार्यालय चीनको बेइजिङ र हङकङमा खोलेको बुझिएको छ ।