के छ नेपाल र भारतबीच भएको सातबुँदे समझदारीमा ?

के छ नेपाल र भारतबीच भएको सातबुँदे समझदारीमा ?


oli-modi-
छिमेकी भारतको ६ दिवसीय राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र मित्रराष्ट्र भारतका प्रधामन्त्री नरेन्द्र मोदीबीच करिव पौने घण्टा ‘वान टू वान’ वार्तालाप भएको छ । दुर्य प्रधानमन्त्रीबीच के–के विषयमा कस्ता कुरा भए भन्ने जानकारी प्राप्त भइनसके पनि उक्त उच्चस्तरीय वार्ताका साथ नेपाल र भारतबीच भूकम्पपछिको पुनःनिर्माण, नेपालको तराई क्षेत्रमा सडक पूर्वाधार विकास, सङ्गीत तथा नाट्य प्रतिष्ठान स्थापना, पारवहन मार्ग, रेल यातायात, ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन र प्रबुद्ध समूह स्थापनासहित सातवटा समझदारी एवम् र विनिमयपत्रमा दुई मुलुकबीच हस्ताक्षर भएको छ । उल्लेखित सहमति एवम् विनिमयपत्रमा दुवै मुलुकका सम्बद्ध अधिकारीहरूले हस्ताक्षर गरी आदानप्रदान गरेका हुन् ।

भारत सरकारले भूकम्पपछिको पुनःनिर्माणका लागि अनुदानस्वरुप उपलब्ध गराउने रु २५ अर्बको सहायतासम्बन्धी समझदारीपत्रमा उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापा र भारत सरकारका तर्फबाट त्यहाँका विदेश मन्त्री सुष्मा स्वराजले हस्ताक्षर गर्नुभएको छ । उक्त अनुदान सहायताअन्तर्गत आवास, स्वास्थ्य शिक्षा र सांस्कृतिक सम्पदाको निर्माण गरिने बताइएको छ । त्यसैगरी भुइँचालोबाट अतिप्रभावित १४ जिल्लामा ५० हजार घर निर्माण गरिने छ ।

त्यसैगरी भूकम्पबाट प्रभावित ३१ जिल्लाका स्वास्थ्य, शिक्षा, सांस्कृतिक सम्पदाको निर्माणमा उपयोग गरिनेछ भने तराई क्षेत्रमा सडक पूर्वाधार निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्नेसम्बन्धी समझदारीपत्रमा नेपालका लागि भारतीय राजदूत रणजीत राय र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव अर्जुन कार्कीले दस्तखत गर्नुभएको छ । समझदारीअनुसार ५१८ किलोमिटर सडक निर्माण गरिने छ ।

यस्तै, प्रदर्शनकलाका माध्यमबाट नेपाल र भारतबीचको सम्बन्ध सुदृढ तुल्याउन सङ्गीत तथा नाट्य प्रतिष्ठान स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा सङ्गीत नाटक प्रतिष्ठानका सचिव हेलेन आचार्य र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले हस्ताक्षर गर्नुभएको छ । उक्त समझदारीअनुसार नाट्य सङ्गीतका विज्ञ, प्रतिनिधि, नर्तक, विद्धत् वर्गलगायत आदानप्रदान गरिने छ ।

काकडभिट्टा–बङ्गलाबन्ध मार्ग भएर नेपाल र बङ्गलादेशबीचको पारवहन मार्ग सञ्चालन गर्ने तथा विशाखापटनम् बन्दरगाह सञ्चालन गर्नेसम्बन्धी विनिमयपत्रमा भारतका वाणिज्य सचिव रीता ट्याओ टिया र वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले दस्तखत गर्नुभएको छ । उक्त विनिमयपत्रअनुसार भारतीय भूमि भएर नेपाल र बङ्गलादेशबीचमा मालबाहक सवारी साधन ओहोरदोहोर गर्नेछन् भने विशाखापटनम् बन्दरगाहबाट मालबाहक सवारी साधनलाई ओहोरदोहोर गर्न सहज हुनेछ । त्यसैगरी, विखाशापटन्मबाट रेलमार्गको उपयोग र बङ्गलादेशको सिङ्हवाद भएर उक्तमार्गको सुविधा प्राप्त हुनेछ ।
oli_modi
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गृहमन्त्री राजनाथ सिंह तथा अर्थमन्त्री अरुण जेट्लीबीच छुट्टाछुट्टै भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओली बस्नुभएको भारतीय राष्ट्रपति कार्यालयमा भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका विषयमा कुराकानी भएको हो । भेटवार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित, सहयोगका विभिन्न क्षेत्र र आपसी चासोका विषयमा छलफल भएको बताइएको छ ।

भेटवार्तामा उपप्रधान एवम् परराष्ट्र मन्त्री कमल थापा, गृहमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलगायतको उपस्थिति रहेको थियो । यसअघि र विदेश मन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरिसक्नुभएको थियो ।