भारतीय मिडियामा छायो प्रधानमन्त्रीको भ्रमण

भारतीय मिडियामा छायो प्रधानमन्त्रीको भ्रमण


Newspaper India
प्रधानमन्त्री केपी ओलीको भ्रमणबाट नेपाल–भारतबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको सन्देशसहितका समाचार भारतीय मिडियाहरुले प्रवाह गरेका छन् । ओलीको राजकीय भारत भ्रमण र उहाँका समकक्षी नरेन्द्र मोदीलगायत उच्चस्तरीय भेटवार्ताको समाचारलाई भारतका अधिकांश सञ्चारमाध्यमले प्राथमिकता दिएको राससका प्रतिनिधिले नयाँदिल्लीबाट समाचार सम्प्रेषण गरेका छन् ।

समाचारमा जनाइएआनुसार भारतका ठूला दैनिक पत्रिकामा आइतबारको फुर्सदिलो विशेष पृष्ठ प्रकाशन हुने गरे पनि प्रधानमन्त्री ओलीका भेटवार्ताका तस्बिर र समाचारले स्थान पाएका छन् । अधिकांश ठूला पत्रिकामा प्रथम पृष्ठमा भ्रमणको भेटवार्तासम्बन्धी तस्बिरसहित समाचार प्रकाशित भएको छ ।

नवभारत टाइम्स दैनिकले ‘भारत और नेपाल के बीच अब आल इज वेल’ शीर्षकमा समाचार प्रकाशित गरेको छ भने टाइम्स अफ इन्डियाले ‘अपराइजिङ इन नेपाल टाइज अफ्टर पिएम ओलिज भिजिट’ शीर्षकमा समाचार दिएको छ । यस्तै, इन्डियन एक्सप्रेसले ‘नेपाल पिएम मिट्स मोदी’, सेज मिसअन्डरस्ट्यान्डिङ ओभर शीर्षक दिई समाचार राखेको छ । द एसियन एजले चाहिँ दुई प्रधानमन्त्री ओली र मोदीले हात मिलाएको एएफपीको तस्बिर प्रकाशित र थप समाचारलाई स्थान दिएकोे छ ।

यस्तै ‘दिल्ली स्पेसल द गार्जिएन’, ‘द हिन्दू’लगायतका पत्रिकाले पनि सो समाचारलाई प्राथमिकता दिएका छन् । ती समाचारमा मोदीले नेपालको नयाँ संविधानलाई उपलब्धि मानेको, मधेसको बाँकी राजनीतिक समस्याको समाधान संवाद र सहमति मिलाउन आग्रह गरेको, सातबुँदे समझदारी भएको बारे उल्लेख गरिएको छ । नेपालको अर्को छिमेकी चीनसँग सम्बन्ध बारेमा दुई प्रधानमन्त्रीसँग कुरा भएको थियो थिएन भन्ने बारेमा पनि ती सञ्चारमाध्यमले चासो दिएका छन् ।