अबको नेतृत्व चौथो शक्तिलाई -शोभा त्रिपाठी

अबको नेतृत्व चौथो शक्तिलाई -शोभा त्रिपाठी


सत्ताका भोका तीन दलका नेताहरूबीच पुन: कुर्सी हत्याउने तीव्र प्रतिस्पर्धा चलेको छ । तर, नयाँ प्रधानमन्त्रीको लिगलिगे दौडकै बीच पनि माओवादीले दिएको धम्की र अराजक शैलीबाट अत्तालिएर माधव नेपालले सत्ताको वागडोर त्यागेको सन्दर्भबारे चर्चा हुन छोडेको छैन । माओवादीको असहयोगका कारण माधव नेपालले सत्ता बहिर्गमनको मार्ग अवलम्बन गरेको तर्क निकै हदसम्म तथ्यसङ्गत छ तापनि प्रधानमन्त्रीको राजीनामाको वास्तविक कारकतत्व यति मात्र होइन भन्ने पर्याप्त आधारहरू छन् । आफैंमा सरकार जति अक्षम सावित भइरहेको थियो, राजनीतिक एवम् जनजीविकासँग सम्बन्धित सवालहरूमा जुन गतिमा ऊ लगातार असफलताको ओह्रालो झरिरहेको थियो, संविधान निर्माण-प्रक्रियाको व्यवस्थापनमा जसरी किंकर्तव्यविमुढ बनेर नेपाल सरकार अल्मलिइरहेको थियो, यीलगायतका यावत् निराशाजनक परिणामहरूले इतिहासकै सर्वाधिक असफल प्रधानमन्त्रीको लाञ्छना व्यहोर्नुपर्ने परिवेशको सङ्घारमै आफू पुगेको माधवकुमार नेपालले महसुस गर्न थालेका थिए, यसैको परिणति पनि थियो अस्वाभाविक प्रकृतिबाट आएको उनको राजीनामा । नेपथ्यमा अझै थप आन्तरिक तथा बाह्य कारणहरू पनि लुकेका हुन सक्छन्, जो समयले क्रमश: अनावरण गर्दै जाने नै छ । मूलत: बाँकी दस महिनाको अवधिमा पनि संविधान बन्नै नसक्ने राजनीतिक परिस्थिति हुर्कंदै गएबाट अत्तालिएर नै नेपालले पलायनको मार्ग अवलम्बन गरेका हुन् भन्न सकिन्छ । नत्र, कसैले धम्क्याएकै भरमा सरकारजस्तो निकायले यसरी जनविश्वास नै उठ्ने गरी फितलो व्यवहार प्रदर्शन गर्नु आवश्यक थिएन, त्यो पनि सरकारले आवश्यक बहुमत कायम राखेकै अवस्थामा ।
यहाँ यसो भनेर कुनै माधव नेपाल नामका व्यक्तिको चिन्ता गर्न खोजिएको होइन, बरु प्रधानमन्त्रीलगायत आफूलाई दलका टाउके व्यक्ति ठान्नेहरूको मनखुसी व्यवहार र लथालिङ्गे चालका कारण कहिल्यै संविधान नबन्ने परिस्थिति हुर्कन थालेकोप्रति औंल्याउन खोजिएको मात्र हो । झट्ट हेर्दा खुट्टा कमाउने प्रमुख व्यक्तिका रूपमा माधवकुमार देखिए पनि यथार्थमा प्रमुख भनिएका तीनवटै दलहरू पिलन्धरे सावित भइसकेका छन् । क्षमताको हिसाबले मात्र होइन नियतकै कुरा गर्नुपर्दा पनि यिनीहरू ‘मुखमा रामराम बगलीमा छुरा’वाला हुन् । नयाँ संविधान बनाउने यिनको रहर नै छैन बरु संविधान बनाउने नाममा राज्यको ढुकुटीमा लुटमार मच्चाइरहने लालसाबाट ग्रसित छन् । अन्यथा यतिबेला असारे चटारोमा परेको किसानझैँ संविधानलेखनको चटारोमा सभासद्हरूसँग पसिना बगाइरहेका अवस्थामा हुनुपर्ने थिए तीन दलका ‘मै हुँ’ भन्ने नेताहरू । तर, यहाँ त उनीहरू असिनपसिन भइरहेका छन् प्रधानमन्त्रीको कुर्सी हत्याउनका निम्ति, एकले अर्कोलाई पछारेर जनताको टाउकामा गिर खेल्नका निम्ति । संविधान बन्दैनबन्ने परिस्थितितर्फ मुलुक हिँड्न थालेको सङ्केत यसैले दिएको हो ।
जो आफ्नै घर भाँड्न उद्यत् हुन्छ ऊ अर्काको घरमा आगो सल्काउन हिच्किचाउँदैन । यतिखेर प्रमुख भनिएका यी दलभित्र धुन्धुकारीहरू प्रशस्तै देखापरेका छन् । दलकै सुप्रिमोसमेत हाँगाको टुप्पामा बसेर फेदतिर काट्ने कसरतमा अभ्यस्त देखिएको अवस्थामा अन्य भुरेटाकुरे नेताका के कुरा गर्नु – यसरी तीन पार्टीहरू खेर गइसकेका छन् । खेर जानुको अर्थ सड्नु/कुहिनु हो, सडेको वस्तु कामको रहँदैन बरु त्यसले विकृति मात्रै बढाउँछ । आमजनताले यो बुझेर अब तीन दललाई कठघरामा उभ्याउनुपर्छ । बाहेक पार्नुपर्छ यिनलाई र कुनै चौथो शक्ति खोजेर जिम्मा लगाउनुपर्छ । राजनीतिक शक्ति निर्माण गर्ने भनेको जनताले हो । अर्थात्, जनताको एकता र निर्णय नै कुनै पनि मुलुकको राजनीतिक शक्ति हो । दलकै पछि लाग्ने हो भनेपछि बहुमतको पछि लाग्नु आजको आवश्यकता हो । जनमतको बहुमत खोजिरहने अवस्था छैन भने पनि पार्टीगत बहुमतको पहिचान गर्न त कुनै कठिनाइ छैन । तीन दलबाहेकका अन्यमध्येबाट पनि डेढ दर्जन दलहरू के भन्छन् – एकपटक जनताले पर्गेल्नैपर्ने अवस्था आएको छ । परिबन्दले आकार सानो या ठूलो देखिएको हुन सक्छ, तर आकार सानो देखिएका दलहरूको नेतृत्व तहमा मुलुक बनाउने ठूलो सोच र क्षमता लुकेको हुन सक्छ भन्ने मनन गर्नु विवेकशीलताको परिचय हो । नेपाली आमतप्काले अब वास्तविक विवेक प्रदर्शन गर्नुपर्ने अवस्था आएको छ । राज्यबाट सदियौँदेखि हेपिँदै-चेपिँदै आएको एउटा ठूलो वर्ग ‘मधेसी’का नाममा उत्पीडनमा परिरहेको यथार्थसँग अपरिचित यतिबेला सायद कोही नहोलान् । हो, अब एकपटक त्यो समय पनि आएको छ । उत्पीडनमा परेको त्यो ठूलो समुदायको नेतृत्वमा संविधान निर्माण गर्न सहज वातावरण सिर्जना गर्नेसहितको जिम्मेवारी दिएर अब नयाँ सरकार निर्माण हुनुपर्छ । खुट्टा कमाएर भाग्नेहरूलाई घिसारी-घिसारी ल्याउनु जरुरी छैन, चौथो शक्ति खोजेर जिम्मेवारी दिने कार्यमा पनि अब ढिलाइ हुनुहुँदैन ।