देउवा र पौडेलको कस्तो बन्दैछ टिम ?

देउवा र पौडेलको कस्तो बन्दैछ टिम ?


Deuba and Poudel
नेपाली कांग्रेस महाधिवेशनको तिथि नजिकिँदै गर्दा नेपाली कांग्रेसभित्र निर्वाचनको मैदानमा कुन नेता कसरी पैदा होलान् भन्ने जिज्ञाशा व्याप्त भएको छ । वरिष्ठ नेता शेरबहादुर देउवा, कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले कस्तो प्रकारको टिम प्रस्तुत गर्नुहोला भन्ने विषयले यतिबेला कांग्रेसबाहिरका शक्तिहरूको समेत ध्यानाकर्षण गरेको छ । महामन्त्री प्रकाशमान सिंहले पनि आफू सभापति बन्न योग्य भएको दाबी गर्नुभएको छ, तर उहाँले सभापतिमा उम्मेदवारी दिने सम्भावना कम रहेको छ । उपसभापति बनाइने निश्चित भए उहाँले सभापतिमा उम्मेदवारी नदिने बुझिएको छ ।

त्यस्तै गिरिजाप्रसादपुत्री सुजाताले सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । तर, उहाँले सभापतिमा उम्मेदवारी दिन नभई पदाधिकारी बन्नका निम्ति बार्गेनिङ मात्र गर्नुभएको ठानिएको छ । कदाचित सुजाताले उम्मेदवारी दर्ता गराउनुभयो भने त्यो रोचक र आश्चर्यजनक हुने बताइन्छ । महामन्त्री कृष्ण सिटौला भने सभापतिमा उम्मेदवारी दिन दृढ हुनुहुन्छ । सिटौलाले रामचन्द्र पौडेलमाथि पार्टी फुटाएको आरोपसमेत सार्वजनिक रूपमै लगाइसक्नुभएको छ । उहाँ प्रभावकारी युवाहरूलाई टिममा सामेल गरेर चुनावी मैदानमा उत्रने तयारी गर्दै हुनुहुन्छ । तर, उहाँका कतिपय हितैषीहरूले संसदीय दलको नेता पद लिएर सभापतिमा रामचन्द्र पौडेललाई समर्थन गर्न पनि सुझाव र दबाब दिइरहेका छन् । सिटौलालाई पदाधिकारी बनाउन या संसदीय दलको नेता पद दिनसक्ने अवस्थामा यतिबेला रामचन्द्र पौडेल हुनुहुन्न । त्यसैले संस्थापन पक्षको नाममा कृष्णप्रसाद सिटौलाले सभापतिमा उम्मेदवारी दिनुहुने निश्चित मानिएको छ ।

महाधिवेशनमा कुन प्रमुख नेतालाई कुन–कुन नेताले साथ दिने हुन् र कसले कस्तो प्रकारका टिम प्रस्तुत गर्ने हुन् त्यसबारे अहिले नै यकिन भइसकेको छैन । आगामी साता सभापतिको उम्मेदवार र टिम घोषणा भइसक्ने निश्चितप्राय: छ । हाल कांग्रेसभित्र वरिष्ठ नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति रामचन्द्र पौडेलको टिम कस्तो हुनसक्ला भन्ने जिज्ञाशा मेट्न यहाँ दुवै पक्षले निर्माण गर्न सक्ने सम्भाव्य टिम प्रस्तुत गरिएको छ ।

देउवा पक्ष :
सभापति : शेरबहादुर देउवा
उपसभापति : खुमबहादुर खड्का
महामन्त्री : अर्जुन नरसिंह केसी
महामन्त्री : विमलेन्द्र निधि
सहमहामन्त्री : पूर्णबहादुर खड्का
कोषाध्यक्ष : लक्ष्मणप्रसाद घिमिरे
वा पुष्पा भुसाल
(खुमबहादुर खड्काले महामन्त्रीमा प्रतिस्पर्धा गर्ने हुनुभएमा देउवाको टिममा केही परिवर्तन हुनसक्ने सम्भावना छ ।)

पौडेल पक्ष :
सभापति : रामचन्द्र पौडेल
उपसभापति : प्रकाशमान सिंह
वा
डा. रामशरण महत
महामन्त्री : डा. शशाङ्क कोइराला
महामन्त्री : डा. रामशरण महत
वा
प्रकाशमान सिंह
सहमहामन्त्री : डा. शेखर कोइराला वा
महेश आचार्य