आरटीआई अभियन्ता भुसालको ‘सूचनाको हक र अर्घाखाँची’

आरटीआई अभियन्ता भुसालको ‘सूचनाको हक र अर्घाखाँची’


mukti 3
सूचना तथा सुशासन अभियान (सीआईजी)का अध्यक्ष मुक्तिनाथ भुसालद्वारा लिखित ‘सूचनाको हक र अर्घाखाँची’ नामक पुस्तकको लोकार्पण गरिएको छ । राष्ट्रिय सूचना आयोगको सभाकक्षमा आइतबार आयोजित एक कार्यक्रमबीच प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले पुस्तकको लोकार्पण (विमोचन) गर्नुभएको हो ।

पुस्तकको विमोचन गर्दै राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले राज्यका प्रत्येक तीन–तीन महिनामा आफ्ना गतिविधि प्रस्तुत गर्नुपर्ने र जनताप्रति उत्तरदायी हुनुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै सूचना लुकाउने प्रवृत्ति कायम रहनु चिन्ताको विषय भएको बताउनुभयो । सूचनाको हकसम्बन्धी क्रियाकलापमा मुक्तिनाथ भुसालले दर्शाएको सक्रियताको प्रशंसा गर्दै प्रमुख सूचना आयुक्त बास्कोटाले सीआईजीजस्तै संस्था र मुक्तिनाथजस्ता अभियन्ता देशभर भइदिए सरकारको आधा बोझ नै हट्ने अभिव्यक्ति दिनुभयो । उहाँले आफू तथा आफ्नो टिमको एकवर्षे कार्यकालमा भए–गरेका कामबारे रोचक ढङ्गमा सङ्क्षिप्त प्रस्तुतिसमेत दिनुभयो ।

यसैगरी पुस्तक विमोचन कार्यक्रममा शुभकामना मन्तव्य दिँदै ‘नेपाल टेलिभिजन’का महाप्रबन्धक लक्ष्मण हुमागाईंले २५ प्रतिशत ग्रामीण जनता अझै पनि सूचनाको हकबाट टाढा रहेको औँल्याउँदै मुक्तिनाथ भुसालजस्ता अभियन्ताको सक्रियताले सूचनाको हकबारे आमतहमा जागरण आउनेमा सन्देह नरहेको बताउनुभयो । व्यक्तिको एक्लो प्रयासबाट पनि यत्तिका काम हुन सक्दोरहेछ भन्ने उदाहरण भुसालबाट आफूले बुझेको भन्दै उहाँले सूचनाको हकका विषयमा जनस्तरमा आएको जागरणबारे थेसिस लेख्न चाहनेहरूका लागि अर्घाखाँचीमा क्रियाशील सीआईजी एक महत्त्वपूर्ण स्रोत–विषय बन्न सक्ने दाबी गर्नुभयो । कार्यक्रममा सूचना आयुक्तहरू किरणकुमार पोखरेल, यशोदा तिमल्सिनालगायतका पदाधिकारीसमेत उपस्थित थिए ।

अर्घाखाँचीमा सार्वजनिक निकायबाट सूचना माग्ने र पाउने अधिकार नागरिकलाई सूचनाको हकले प्रदान गरे पनि यसको महत्त्व र प्रयोगविधि आमनागरिकसमक्ष नपुगेको तथा सार्वजनिक निकायमा काम गर्ने धेरैजसो अधिकारीले सूचना दिन आनकानी गर्ने गरेको सो पुस्तकले प्रस्ट्याएको छ । सूचनाको हकसम्बन्धी जनचेतना तथा क्रियाकलाप लगभग शून्य रहेको अर्घाखाँचीमा सञ्चारकर्मी भुसालको सक्रियतापछि सूचनाको हकको खोजी र त्यसको व्यावहारिक प्रयोगमा आएको परिवर्तनका तथ्यगत सामग्रीहरू पुस्तकमा समेटिएको छ । आफूले व्यक्तिगत खर्चमा सूचनाको हकसम्बन्धी क्रियाकलाप सञ्चालन गरिरहेको र सम्बन्धित पुस्तक पनि बैंकबाट ऋण लिएर प्रकाशन गर्नुपरेको गुनासो गर्दै पुस्तकका लेखक तथा सीआईजी अध्यक्ष भुसालले आफू मैदानमा उत्रिसकेकाले थाकेर पाखा नलाग्ने अठोट व्यक्त गर्नुभयो ।
12 Bimochan 22
– नवीन उप्रेती