१३औँ साग ‘प्रसव पीडा’ बन्ने आशंका

१३औँ साग ‘प्रसव पीडा’ बन्ने आशंका



नेपाललाई औचित्य पुष्टि गर्न चुनौती

sag
१३औँ दक्षिण एसियाली खेलकुुद प्रतियोगिता साग नेपालमा आयोजना गर्ने घोषणा गर्दै १२औँ साग सम्पन्न भएको छ । गुवाहाटीको इन्दिरा गान्धी स्टेडियममा सम्पन्न समापन समारोहमा ओलम्पिक सङ्घका अध्यक्ष एन. रामाचन्द्रनले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई दक्षिण एसियाली ओलम्पिक काउन्सिलको झन्डा हस्तान्तरण गरेका थिए । प्रत्येक दुई वर्षमा आयोजना हुने साग अब नेपालले सन् २०१८ मा गर्नुपर्नेछ ।

नेपालले सागको आयोजना दुईपटक गरिसकेको छ । पहिलो संस्करण आयोजना गरेको नेपालले त्यसपछि आठौँ संस्करण गरेको थियो । दुईपटक सागको सफल आयोजना गरिसकेको नेपालका लागि १३औँ साग चुनौतीपूर्ण बन्ने पक्का छ । त्यतिबेलाको सागको स्तर र अहिलेको सागको स्तरमा आकाश–पातालको फरक छ । यसको उदाहरण १२औँ सागको आयोजक सहर गुवाहाटी र सिलोङले प्रस्तुत गरिसकेका छन् । भौतिक पूर्वाधार, सुरक्षा र भोलेन्डियर सर्भिस हेर्दा यो साग गेमभन्दा माथिको गेम भएको भान हुन्थ्यो । साँचो अर्थमा भन्नुपर्दा १२औँ साग एसियन गेमको स्तरभन्दा कम थिएन ।

अहिले नेपालले सन् २०१८ मा १३औँ साग आयोजना गर्ने भन्दै झन्डा बोकेको छ । तर, झन्डा बोक्नु र त्यसको औचित्य पुष्टि गर्नुमा भने ठूलो खाडल छ । के नेपालले त्यो खाडल पूरा गरेर निश्चित समयमै १३औँ सागको आयोजना गर्न सक्ला ? प्रश्न तेर्सिएको छ । भौतिक पूर्वाधारको नाममा जीर्ण अवस्थामा रहेको बूढो दशरथ रंगशालाबाहेक नेपालसँग अर्को रंगशाला छैन । त्यही दशरथ रंगशालालाई पनि गत वैशाखमा आएको महाभूकम्पले नराम्रोसँग आफ्नो चपेटामा पारेको छ । रंगशाला अहिले जोखिमपूर्ण अवस्थामा छ । त्यहाँ कुनै खेलकुदका गतिविधि हुन सकेका छैनन् । त्यस्तै, विकल्पको रूपमा अर्को रंगशालाको निर्माणमा कुनै पहल भएको छैन । त्यस्तो हुने सम्भावना पनि देखिँदैन । अर्को कुरा त्रिपुरेश्वरस्थित भएको एउटा कभर्ड हल पनि भूकम्पको चपेटामा पर्दा खेलकुद गतिविधि ठप्प भएको अवस्था छ । भूकम्प गएको यति लामो समय बितिसक्दा पनि अहिलेसम्म सम्बन्धित निकायले यसको मर्मतसम्भार गर्ने कुरामा कुनै चासो देखाएको छैन । सातदोबाटोस्थित खेलकुद परिसरमा केही खेलको आयोजना गर्न सकिने भए पनि तिनीहरूको पनि व्यापक सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ ।

यतिबेला सागको स्तरमा देखिएको वृद्धि आफँैमा चुनौतीपूर्ण छ । अझ नेपालजस्तो देशका लागि त्योसँग तुलना नै गर्न सकिँदैन भन्दा अतिसयोक्ति नहोला । विशाल रंगशाला, आधुनिक कभर्ड हल, दुई वर्षको समयावधिमा नेपालका लागि सपना मात्रै हो भन्दा फरक नपर्ला । अझ खेलकुदप्रतिको सरकारको धारणाले १३औँ साग समयमै आयोजना होला भन्न सकिने अवस्था छैन । १२औँ सागमा सहभागिता जनाउनका लागि समेत समयमा रकम उपलब्ध नगराउने सरकारले सागको आयोजनाका लागि अर्बौं रुपैयाँ हाँसी–हाँसी देला भनेर कदापि भन्न सकिँदैन । तसर्थ यही स्थितिमा आउँदो दुई वर्षमा नेपालमा १३औँ साग आयोजना हुने देखिँदैन ।

नेपालको प्रतिष्ठाको विषय भन्दै सरकार खुद लागेको खण्डमा समेत १३औँ सागको आयोजनाका लागि कम्तीमा पनि ६ वर्षको समय लाग्नेछ । यसर्थमा कि ६ वर्षमा भौतिक पूर्वाधारको निर्माण हुने स्थिति बन्न सक्छ । यदि सरकार नलाग्ने हो भने भारतजस्तो देशले त ६ वर्षमा सागको आयोजना गर्‍यो भने नेपालले १३औँ साग १२ वर्षमा गर्‍यो भने पनि ठूलो उपलब्धिपूर्ण हुनेछ । तसर्थ आफ्नो पालो आएकोमा राष्ट्रिय झन्डा बोक्नु वर्तमान अवस्थामा नेपालका लागि शानको कुरा भए पनि त्यो १३औँ साग गर्दा प्रसव पीडा बन्ने पक्का छ ।