अनपेक्षित किसिमले बढारियो कोइराला पक्ष

अनपेक्षित किसिमले बढारियो कोइराला पक्ष


मधेसमा देउवाको अग्रता
Deuwa

नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनका क्रममा तराई–मधेसमा सम्पन्न क्षेत्रीय अधिवेशनहरूको चुनावी परिणामले हालको संस्थापन पक्षलाई निराश तुल्याएको छ । सप्तरीदेखि पर्सासम्मको आठ जिल्लाका ४८ निर्वाचन क्षेत्रमा रहेको पाँच सय छैहत्तर (५७६) मतमध्ये अधिकांश शेरबहादुर देउवाको पक्षमा जाने देखिएपछि संस्थापन पक्ष निराश हुनुपर्ने स्थिति बनेको हो । प्राप्त समाचारअनुसार पर्साको पाँचवटै निर्वाचन क्षेत्रमा देउवा पक्षको चामत्कारिक विजय भएको छ । सबै क्षेत्रीय सभापतिहरू देउवा पक्षका रहेका छन् भने पाँच क्षेत्रका साठी मतदातामध्ये त्रिपन्न (५३) जना देउवाको समर्थनमा छन् । यसअघि संस्थापन पक्षमा रहेका पूर्वमन्त्री एवम् पर्सा कांग्रेसका सभापति सुरेन्द्रप्रसाद चौधरीलाई महाधिवेशन प्रतिनिधिमै पराजित गरिएको छ ।

त्यस्तै सप्तरीको ६ मध्ये पाँच क्षेत्रका सभापतिमा देउवा समर्थकहरू विजयी बनेका छन् । सो जिल्लाको बहत्तर मतदातामध्ये कम्तीमा साठीजना खुलेर देउवाका पक्षमा उभिएका छन् । यो सङ्ख्या बढेर सतसठ्ठी (६७) सम्म पुग्नसक्ने बताइएको छ । सिरहा जिल्लाको ६ मध्ये पाँच क्षेत्रमा देउवा पक्षका क्षेत्रीय सभापति निर्वाचित भएका छन् । सिरहाको बहत्तर मतमध्ये कम्तीमा पैंतालीस (४५) देउवाको समर्थनमा देखिएका छन् । महोत्तरीको ६ क्षेत्रमध्ये तीनवटामा देउवा समर्थक क्षेत्रीय अध्यक्ष निर्वाचित भएका छन् । बहत्तर मत रहेको महोत्तरीबाट देउवालाई कम्तीमा छयालीस (४६) मत प्राप्त हुने देखिएको छ । रौतहटको ६ क्षेत्रमा तीनवटा क्षेत्रका सभापतिहरू देउवा पक्षका विजयी भएका छन् । यस जिल्लाको बहत्तर मध्ये पैंतालीस (४५) मत देउवाको पक्षमा देखिएको छ ।

त्यसैगरी सर्लाहीको ६ निर्वाचन क्षेत्रमध्ये चारवटामा देउवा समर्थक क्षेत्रीय सभापतिहरू विजयी भएका छन् । कुल बहत्तर मत रहेको सर्लाहीबाट देउवालाई कम्तीमा चालीस मत जाने निश्चित भएको छ । यो सङ्ख्या बाउन्नसम्म पुग्न सक्ने अनुमान जानकारहरूले गरेका छन् । बाह्रौँ महाधिवेशनमा देउवालाई सर्लाहीबाट जम्मा बाह्र मत मात्र प्राप्त भएको थियो । धनुषाको सातवटा निर्वाचन क्षेत्रमा अधिवेशन यसै सातादेखि प्रारम्भ भएकाले परिणाम प्राप्त हुन केही प्रतीक्षा गर्नुपर्ने भएको छ । नेता विमलेन्द्र निधिको गृहजिल्ला धनुषाको चौरासी मतमध्ये कम्तीमा साठी मत आफूहरूलाई प्राप्त हुने विश्वास देउवा पक्षले गरेको छ । बाराको ६ वटा निर्वाचन क्षेत्रका बहत्तरमध्ये एकचालीस मत देउवालाई जाने बुझिएको छ ।

यसरी तराईका आठ जिल्लामा शेरबहादुर देउवा पक्ष तुलना नै गर्न नसकिने गरी बलवान् देखिएको छ । यीबाहेक तराईका अन्य जिल्लामा पनि देउवा पक्षले अनपेक्षित मत जुटाएको छ । कोइरालाहरूको गृहजिल्ला मोरङको एक सय आठ मतमध्ये देउवाको पक्षमा साठी देखिएको छ । सुनसरी जिल्लामा भने देउवा अपेक्षा गरिएभन्दा कमजोर देखिएका छन् । समग्र तराईबाट देउवाले साठी प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने सम्भावना छ । सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा सत्तरी प्रतिशतभन्दा बढीले देउवालाई साथ दिने निश्चित मानिएको छ । पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पनि देउवा पक्षले अग्रता कायम गरेको पाइएको छ ।