नेता र नेतृत्वले यता ध्यान दिने कि ?

नेता र नेतृत्वले यता ध्यान दिने कि ?


चारित्रिक चेतनाको जागरण नै नेता र नेतृत्व आधार
Kishor Silwal
:: किशोर सिलवाल ::

।। ॐ गुरूरुपरमात्मने नम:।।
।। ॐ विशुद्दाय नम: ।।
ॐ पूर्ण मिदं पूर्णात्पूर्णमुदच्यते ।
पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।

अर्थात्,
निराकार ब्रह्मपूर्ण छ, साकार ब्रह्म (पदार्थ, जगत र प्रकृति) पनि पूर्ण छ । पूर्ण निराकार ब्रह्मबाटै यो पूर्ण साकार ब्रह्म प्रकट भएको छ । पूर्ण ब्रह्मबाट पूर्णता लिएर जगत बन्दछ । तैपनि ब्रह्म जस्ताको तस्तै पूर्ण नै बाँकी रहन्छ । मतलब, पूर्णबाट पूर्ण घटाउँदा वा जोड्दा पूर्ण नै शेष रहन्छ ।

१) बुद्धि र विवेक : मस्तिष्क केन्द्रबाट विवेक र हृदय केन्द्रबाट ज्ञान दुवै स्पष्ट रूपमा खुलेर खारिएको तथा माझिएको नेतृत्व वर्गसँग मन र हृदय दुवै भएको नेताले मात्र यो देशका समस्या र चुनौतीलाई दृष्टिगत गरी व्यावहारिक रूपमा उतारी समाधानतर्फ लाग्ने कोसिस गर्नु नै उसको लक्ष्यप्राप्ति सफलता पनि हो, तर अज्ञानता र शैक्षिक स्तर नपुग्नाको कारण नै एक मात्र असफल हात लाग्न जान्छ ।

२) निर्गुणभन्दा माथि उठ्नु : यो भन्नुको तात्पर्य गुणातीत हुनु हो, पवित्र आत्मा हुनु हो, यस्तो व्यक्तित्व भएको महापुरुष सत्, रज, तम गुण (त्रिगुण) भन्दा पनि माथि हुन्छ । त्रिगुणभन्दा माथिको अर्थ निर्गुण हो । जसले सम्पूर्ण कर्म गरिरहेको हुन्छ, तर आफूले केही गरेको महसुस गर्दैन । जस्तो सूर्यको प्रकाश स्वयम् चम्किलो घाम हो । घामबाट मानिसले हजारौँ काम लिइरहेको हुन्छ, तर भइरहेको सकारात्मक प्रभाव होस् वा नकारात्मक प्रभाव यसको गुण–दोष दुवै पनि अनुभवको आभास घामलाई हुँदैन । यही नै निर्गुणको अवस्थाको अर्थ हो । यो गुणातीत र पवित्र आत्मा हाम्रा राजनीतिक पार्टीका नेताहरूमा छ तापनि शून्य अवस्थामा छ, जसलाई जागृत गरायो भने सम्भव हुन्छ । तर, यिनले कोसिस नै गरिरहेका छैनन् । त्यसैले तपाईंहरू राजनीतिक नेता बन्नुभन्दा अगाडि म को हुँ, आत्मा के हो, आत्मानुभूति के हो, चरित्र निर्माण र चारित्रिक चेतनाको जागरणका लागि सतसङ, योग, ध्यान र प्राणायाममा पूर्णता प्राप्त गरेपछि मात्र राजनीतिक क्षेत्रमा नेता बन्न सक्षम वा लायक हुनुहुनेछ, नत्र पृथ्वीको भार मात्र सावित बन्नुहुनेछ ।

३) मानिस र मानवमा फरक : मानिस साधारणतया दश इन्द्रिय र मन, बुद्धि, चित्त एवम् अहंकारयुक्त स्थूल शरीरको ‘व्यक्ति’ हो भने सही शिक्षा पाएर त्यसलाई समुचित रूपमा व्यवहारमा उपयोग गर्नेलाई चाहिँ ‘मानव’मा गणना गरिन्छ । यस मानवीय गुणको सट्टा हाम्रा नेताहरूमा मानवीयता र व्यक्तित्वको आधारभूत कुरासमेत नहुनु, उल्टै दानवीय गुणबाट वढी ओतप्रोत हुनुको कारण उल्लेखित संस्कारहरूको सुरुवाती पाइला नै चालेका छैनन् । फलस्वरूप चरित्रहीन, देशद्रोही, डकैत, कुकर्म, कुसंस्कार, कुचालचलन र नकारात्मक विचार र भावनाले बढी जितेकाले नै नेताले देशलाई नै अस्थिरता, अराजकता र दुर्दिशातिर अगाडि बढाइरहेका देखिन्छ ।

४) पूर्णता प्राप्त गर्नु : जब कुनै व्यक्ति शैक्षिक ज्ञान विभिन्न किताबहरूको अध्ययनमार्फत ऊ स्वयम् ज्ञानी पुरुष र चरित्रको पुरुषार्थले आफू आत्मामा साक्षात्कार गर्दछ तब त्यो व्यक्ति पूर्ण हुन्छ अर्थात् उसको सांसारिकमा कुनै अभाव हुँदैन र कुनै प्रयोजनको आवश्यकता रहँदैन । एक बूँद पानी अनन्त सागरमा परिणत भएजस्तै ऊ पूर्ण बन्छ र पूर्णमानवको रूप पनि लिन्छ । पूर्ण सागरमा जति पानी थपे पनि घटाए पनि केही फरक पर्दैन भनेजस्तै साधक पूर्ण ज्ञानी भएपछि जति ज्ञान थपे पनि झिके पनि केही फरक पर्दैन भन्ने तथ्य नै पूर्णको अर्थ हो । तर, हाम्रा नेता भनाउँदाहरूचाहिँ पूर्णता प्राप्त गर्नु, पूर्णमानव बन्नु र साक्षात्कार बन्नु त कता हो कता आधा मानवसम्म पनि बन्न सकेका छैनन् । बरु अघोषित नाकाबन्दीले सरकारी प्रशासनको नै संलग्नताले कालोबजारीलाई बढुवा दिई भ्रष्टाचारमा लिप्त भई कुम्ल्याउने मौका यही हो भनी दानव प्रवृत्ति देखाइरहेका छन् । अब त यो देशमा सरकार नै छैन कि भन्ने भान पर्न थालिसकेको छ । जनता नै नभए यिनले कसलाई शासन गर्ने र शोषण गर्ने होला ?

५) जीवात्मा र परमात्मालाई छुट्याउन नसक्नु : व्यक्तिमा भएको मनले चाहेको कुरा र खोजेका भौतिक वस्तुहरू दुई दिनका लागि क्षणिक र मिथ्या हो भन्ने कुराहरू बिर्सिसकेको हुन्छ, यो भ्रान्ति हो र सत्य होइन भन्ने कुरा उसको आफ्नो कमजोरीपना छुपाउन खोजिरहेको हुन्छ । त्यस्तै यो ब्रह्माण्ड वा संसारलाई व्यक्तिको इच्छामा गाँसे मृत्युलोक हो आत्मामा गाँसे संसार अमरधाम हो भन्ने कुरा पनि उसले बुझ्न कोसिस गरेकै हुँदैन । व्यक्तिले आफ्नो इच्छालाई बुझन नसकी अभौतिकतामा अल्मलिई, मनले चाहेका नकारात्मक वस्तुहरूप्रति आकर्षित हँुदै जानु, वासनामा लिप्त हुनु, लोभलालचा, ईष्या, द्वेषलाई अज्ञानताको पर्दाले गर्दा बुझ्न नसक्नु, स्वधर्म बिर्सनु, अत्याचार गर्नु, व्याभिचार गर्नु, मानवकल्याणप्रति सजग नहुनाले नै ऊ जन्मिन्छ अनि कालको गाँसमा समाहित भई शून्यतामा विलीन हन्ुछ, उसको समय त्यसै खेर जान्छ, हो यही अज्ञानतारूपी राक्षसले नेताहरूको आँखामा पर्दाले ढपक्कै छोपेकाले केही नदेख्नाले देशको आर्थिक विकासतिर अग्रसर हुन सकिरहेको छैन, यिनको कालो पर्दा जनताले नै खोल्न सजग हुनुपर्छ नत्र समयले कसैलाई पनि पर्खिनेछैन ।

६) ज्ञानी र अज्ञानी हुनु : ब्रह्म शक्तिबाट जब अहंकार उत्पत्ति हुन्छ त्यसबखत त्यो ईश्वर स्थितिलाई जीव भनिन्छ र यही अहम्बाट सृष्टि, स्थिति र प्रलयको क्रम: अविछिन्न रूपले चलिरहन्छ । जब जीव आफूमा रहेको ज्ञानशक्तिद्वारा अहंकाररहित हुन पुग्दछ, तब ऊ फेरि आफ्नो मूलस्वरूप सक्कली अवस्थामा जान्छ अर्थात् त्यसबखत जीव फेरि ईश्वर नै बन्दछ । यसरी जो मानिस यो तथ्यलाई आफनो मूल अवस्थालाई राम्ररी सम्झन्छ यस्ता व्यक्तिलाई आत्माअनुभूत व्यक्ति या ईश्वरअनुभूत व्यक्ति अर्थात् जीवन मोक्षप्राप्ति गर्नु, आत्मसम्मान प्राप्त गर्नु, आत्मदर्शन ज्ञान गर्नु, पूर्णमानव बन्नु, अध्यात्मदर्शन गर्नु, निर्मोही तथा अहंकाररहित हुनु भन्नु नै ज्ञानी पुरुषको दर्जा प्राप्त गर्नु हो । यस्ता ज्ञानी पुरुषहरूले राजा–महाराजाको शरीर धारण गरेर यो विश्व ब्रह्माण्ड, पृथ्वी जगत्को एकक्षत्र शासन गरी नाम र दाम कमाए, त्यो काल सत्ययुग, द्वापरयुग, त्रेत्रायुग र हाल आएर कलियुगको मध्ययुगीनकालतिर आइपुगेको छ । यो कार्यकालमा त्यस्ता ज्ञानी पुरुषको रूपमा न त राजामहाराजा, न त राजनीतिक नेताहरूले नै जन्म लिए र न जन्म लिने नै छन् । अफसोचको साथ भन्नुपर्दा अन्धकाररूपी अज्ञानतामा जीवन बर्बाद गरे र आफू पनि गए अनि जजमानलाई पनि लिएर गए ।

७) आत्मा अनुभूति : मानिसको जीवनलाई दुर्लभ र महान् मान्नुको कारण उसमा भएको बुद्धि र विवेकशक्ति नै हो । यही विवेकशक्तिलाई परिचालन गर्नु भनेकै आफूलाई जान्न, बुझ्न थाल्दछौँ । जति हाम्रो आफ्नोउपर श्रद्धा, प्रेम, आदर, आस्था, निष्ठा तथा विश्वास बढ्छ त्यति नै हामी आत्मदर्शन हुन खोजिरहेको बुझ्नुपर्छ र ईश्वरदर्शन भनेको पनि यही हो । आत्मदर्शनको अर्थ आफूले आफूलाई जान्नु, बुझ्नु, ज्ञान गर्नु, श्रद्धा, प्रेम, विश्वास गर्नु र आस्तिक हुनु हो । परमात्मालाई अग्निपुञ्ज, समुद्र र जङ्गलजस्तो ठूलो रूपमा लिन सकिन्छ भने आगोझिल्को, एक थोपा पानी र बोटबिरुवालाई तिनैको सानो रूपमा लिन सकिन्छ अनि यिनलाई एक–एक गरी हटाइदिने हो भने अग्निपुञ्ज, समुद्र र जङ्गलको अस्तित्व नै रहँदैन । यसैगरी आत्मा भन्नु नै परमात्मा हो भने आत्मालाई हटाइदिने हो भने परमात्मा भन्ने कुरै रहँदैन । यसैले वेदमा अहम् ब्रह्मास्मि अर्थात् म नै ब्रह्म हुँ, तत त्वमसि अर्थात् त्यो भगवान् भन्नु नै तिमी हौ, अयमात्मा ब्रह्म अर्थात् यो आत्मा नै ब्रह्म हो, सर्व खल्विदं ब्रह्म अर्थात् यो सबै नै ब्रह्म हो हामीलाई आत्मादर्शन गराउन खोजिएको छ । यसरी हामीले आफ्नो सच्चा स्वरूपको परिचय गरेमा मात्र आत्मानुभूति वा ईश्वरानुभूति हुन्छ, नत्र असम्भव प्राय: छ ।

८) चारित्रिक चेतनाको जागरण : मानिस नाङ्गै जन्मिन्छ मर्दा नाङ्गै मर्दछ, बोकेर केही लग्दैन । गीता ज्ञानले पनि यही भन्छ, राम्रो कर्म गर तर फलको आशा नगर । जन्मँदा न तैँले केही ल्याएको थिइस् र त मेरो हो भनी भन्दछस्, न तैँ नै तेरो होस् न तसँग नै केही छ र मेरो हो भनी भन्दछस्, यो जगत् मायावी हो, मनै मिथ्या हो, यो ब्रह्मको सृष्टि, स्थिति र प्रलयको लीला हो र एक दिन सबै उनैपर समाहित भई यो इहलीला समाप्त हुनेछ, कलियुग नै समाप्त हुनेछ र अर्को नयाँ आयाम सुरु हुनेछ, शङ्का छैन । त्यसैले एकपल्ट जन्मेको मानव जीवनलाई त्यसै व्यर्थमा खेर नफाली यसको महत्त्व र मूल्यलाई बुझी सम्पूर्ण मानवकल्याणको सेवा गर्न, राम्रो कर्म गरी एक सच्चा चरित्रवानको निर्माण गरी, पूर्णमानव बन्न कोसिस गरी, साक्षात्कार बन्न प्रयत्न गर्ने, ब्रह्ममय हुन, आत्मासम्मान तथा आत्माज्ञानको विद्या आर्जन गर्ने, आत्मा नै परमात्मा हो भनी चिन्न प्रयास गर्ने, जब तिमी निर्मोह, निरहंकार र निर्लिप्त अवस्थाको नजिक पुग्छौ त्यही नै ईश्वर प्राप्तिको लक्षण हो । चारित्रिक चेतनाको विकासले सम्पूर्ण जनताको हित, लोककल्याण र देशको आर्थिक विकासको गतिलाई अगाडि बढाई समता र समानताको आधारशिला बनाई भेदरहित वातावरण सिर्जना गरी कसैलाई काखापाखा नगरी चेतनात्मक सदभाव जगाई हिंसा र हत्याजस्ता क्रियाकलाप तथा भ्रष्ट समाजको वातावरणबाट मुक्त गरी देश र जनतालाई सुमधुर कार्यबाट दिगो शान्ति, सुन्दर र विकासले आकाश छुने सक्षम नेतृत्व र नेताको विकास हुनु भन्नु नै देशको आर्थिक विकासले अग्रगामी छलाङ लगाउनुु भन्नु नै हो, यसलाई नकार्न मिल्दै मिल्दैन ।

अन्त्यमा, ६५ वर्षको लामो शासनकालमा राजनीतिक स्टेजको पर्दा एकपछि अर्को उठ्दै गए पनि नेता र नेतृत्व वर्गहरू गन्तव्यमा पुग्न सकेनन्, ०७ सालमा प्रजातन्त्रको उदय भयो, ०४६ सालमा बहुदलीय प्रजातन्त्रको सूत्रपात गरे र ०६२/६३ सालमा माओवादीको जनक्रान्तिपछि लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी राजाको वंशानुक्रम एकछत्रीय सामन्तीवादको शासनसत्तालाई सदाका लागि पदच्युत त गरे तर नेपाल अधिराज्य हिन्दू धर्मावलम्बीहरूको सनातनदेखि चलिआएको देश हो भनी बिर्सिए अनि त्यसमा थपे धर्मनिरपेक्षता विदेशीको चलखेलमा लाद्नु लादे र डलर श्रीमती र श्रीमानेले डकार्नुडकारे तैपनि जनताको लोककल्याणका लागि स्थापित भएको गणतन्त्र भनी विश्वास दिलाउन सकेका छैनन् अहिलेसम्म पनि, धिक्कार छ यी नेता र नेतृत्व वर्गलाई जो राजनीतिक अस्थिरता नै यिनका मुख्य हतियारको रूपमा लिई जनतालाई शोषण गरिरहेका छन्, अराजकता, अत्याचार र भ्रष्टाचारले चरम सीमा नाघी १३०औँ देशमा दर्ता गराउन सरकार सक्षम भएकै छन्, जनता महाभूकम्प र भारतको (मधेसी मोर्चाहरूको) अघोषित आर्थिक नाकाबन्दीले देश र जनता आक्रान्त, जर्जरता र असहजतामा बाँचिरहेका छन्, कति मरिसके, कति मर्न बाँकी छन् भने कति मर्नका लागि काल पर्खिबसेका छन् भने यो हिउँले कठ्याङ्ग्रिएको जाडोमा चिसोले मर्न बाध्य तुल्याइएको छ तैपनि यो सरकार लाज र घिन नै नमानी चुप लागी मूकदर्शक भई आफ्नै सरकारी प्रशासन र व्यापारीहरू मिलोमतोमा भ्रष्टाचारमा चुर्लुम्म डुबुल्की मार्दासमेत नपुगी दूधको तरनै खोजी बसेका छन् । अझ ठोकुवाको साथ भन्छ, हाम्रो ढुङ्ग्रे तथा खोक्रो राष्ट्रियता र राष्ट्रवाद जिन्दावाद, जिन्दावाद, जिन्दावाद भनी बुर्लुक्क पो उफ्रिन्छ, क्या अचम्म छ वा ? कहीँ नभएको जात्रा हाँडीगाउँमा ।

– अप्राप्रसे किशोर सिल्वाल, बबरमहल, वडा नं. ११