पार्टी कार्यालयभन्दा कांग्रेस नेताका सम्पर्क कार्यालयमा चहलपहल बढी

पार्टी कार्यालयभन्दा कांग्रेस नेताका सम्पर्क कार्यालयमा चहलपहल बढी


कांग्रेस नेता बैठकमा
नेपाली कांग्रेसको १३ औँ महाधिवेशन यही फागुन २० देखि २३ गतेसम्म काठमाडौँ हुँदैछ । महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरु राजधानी आउन थालिसकेका छन् । करिव चालिस प्रतिसत प्रतिनिधि काठमाडौँ आइसकेको अनुमान गरिन्छ । यसरी कांग्रेसको १३ औँ महाधिवेशन नजिकिँदै जाँदा नेताहरुले सम्पर्क कार्यालयमार्फत महाधिवेसन प्रतिनिधि एवम् कार्यकर्ताहरु भेटेर आफ्नो पक्षमा निर्वाचन माहोल बनाउन सक्रिय देखिएका छन् ।

महाधिवेशनमा नेता र कार्यकर्तालाई आफ्नो पक्षमा आकर्षण गर्न सम्पर्क कार्यालय खोल्ने र भड्किला गतिविधि गर्ने होडबाजी नै चलेको छ । पार्टी सभापतिका आकाङ्क्षीदेखि पदाधिकारी र केन्द्रीय सदस्यसमेतले सम्पर्क कार्यालय खोलेको देखिएको छ ।

दूर गाउँ र जिल्लाबाट आएका नेता र कार्यकतालाई शीर्ष नेतासँगको पहुँच र साक्षात्कारका लागि सम्पर्क कार्यालय खोलिनु सान्दर्भिक नै भए पनि कतिपय नेताले महाधिवेशनको सङ्घारमा तडकभडकका साथ सम्पर्क कार्यालय खोली गुटगतरुपमा भेला गर्नुलाई चाहिँ पार्टीमा विकृति भित्र्याउने कामको रुपमा पनि हेरिएको छ ।

निश्चय पनि काठमाडौँ बाहिरबाट आउने कार्यकर्तालाई आफ्ना नेतासँग सम्पर्क गर्न सम्पर्क कार्यालयले सहज बनाएको छ,, उनीहरुबीच नजिकबाट घुलमिल हुने अवसर पनि दिलाएको छ । तर, नेतैपिच्छे या व्यक्तिपिच्छेका सम्पर्क कार्यालयभन्दा पनि पार्टी केन्द्रीय कार्यालयलाई नै भेटघाटको मुख्य थलो बनाउँदा उपयोगी हुने सुझाव कैयन कांग्रेसजनले दिएका छन् । अर्कोतिर महाधिवेशनको सङ्घारमा नेता कार्यकर्तालाई पायक पर्ने सहज ठाउँमा सम्पर्क कार्यालय खोलिनु सान्दर्भिक हुन्छ भन्नेहरुको पनि कमी छैन ।
“कार्यकर्तालाई पार्टी कार्यालय पुग्न टाढा हुने र नेतासँग भलाकुसारी गर्न असहज हुने भएकाले महाधिवेशनको सङ्घारमा सम्पर्क कार्यालय खोलिनु सामान्य हो, तर यसलाई तडकभडक नगरी सामान्य भेटघाटको थलोका रुपमा मात्र उपयोगमा ल्याइनुपर्दछ” भन्छन् कांग्रेस नेता अर्जुननरसिंह केसी ।

तथापि, पार्टी सभापति, महामन्त्रीलगायतका पदाधिकारीले सम्पर्क कार्यालय खोल्नुलाई स्वाभाविक मानिए पनि केन्द्रीय सदस्यले समेत व्यक्तिपिच्छे सम्पर्क कार्यालय खोल्नुलाई कतिपयले स्वाभाविक मानेका छैनन् । केन्द्रीय सदस्य शङ्कर भण्डारीले सम्पर्क कार्यालय खोल्दा अनावश्यक खर्च बढाउने मात्र नभई गुटगत प्रवृत्ति मौलाउने बताए । महाधिवेशनबाट एकताको सन्देश प्रवाह गर्न नेताले पार्टी कार्यालयलाई नै सम्पर्क र भेटघाटका लागि प्रयोग गर्नसके नेता कार्यकर्तामा सकारात्मक सन्देश जाने उनको तर्क छ ।

महाधिवेशनमा सभापतिको आकाङ्क्षी रहेका कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले पार्टी केन्द्रीय कार्यालय सानेपा र बोहोराटारस्थित आफ्नै निवासमा नेता र कार्यकर्तासँग भेटघाटको थलो बनाउँदैछन् । यस्तै, पार्टी समापतिका अर्का आकाङ्क्षी शेरबहादुर देउवाले केही महिना अघिदेखि नै नयाँबानेश्वरमा सम्पर्क कार्यालय खोलेर आफ्नो पक्षका कार्यकर्तासँग संवाद गर्दै आएका छन् । त्यहाँ काठमाडौँ बाहिरबाट आउने नेता कार्यकर्ताको सम्पर्क कार्यालयमा भीड लाग्ने गरेको छ ।
कांग्रेस कार्यालय
महाधिवेशन नजिकिँदै जाँदा पार्टी केन्द्रीय कार्यालयमा भन्दा सम्पर्क कार्यालयमा चहलपहल र भीडभाड बढ्ने गरेको छर्लङ्ग छ । पार्टी सभापतिका आकाङ्क्षी महामन्त्री कृष्णप्रसाद सिटौलाले गैरीधारामा सम्पर्क कार्यालय खेलेका छन् भने अर्का सभापतिका आकाङ्क्षी महामन्त्री प्रकाशमान सिंहले बिजुलीबजारस्थित पुरानो सम्पर्क कार्यालयलाई प्रयोग गरिरहेका छन् । सभापतिका अर्का आकाङ्क्षी सुजाता कोइरालाले मण्डिखाटारस्थित आफ्नै निवासलाई सम्पर्क कार्यालय बनाएकी छिन्। त्यस्तै महामन्त्रीका आकाङ्क्षी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले डिल्लीबजारमा सम्पर्क कार्यालय खोलेका छन् र केन्द्रीय सदस्य गगनकुमार थापा, डा शेखर कोइराला, सशाङ्क कोइराला, चन्द्र भण्डारी, शङ्कर भण्डारी, मीन विश्वकर्मा, ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताले छुट्टै सम्पर्क कार्यालय खोलेर भेटघाटलाई तीव्रता दिएका छन् ।