पारसले हाने होटल मालिकलाई मुक्का

पारसले हाने होटल मालिकलाई मुक्का


parash-ahah
पूर्वयुवराज पारसलाई सुध्रिएको देख्न चाहने उनका शुभचिन्तकहरू फेरि एकपटक निरास भएका छन् । आफूले मागेजति रकम नदिएपछि एक नातेदारलाई पारसले गतसाता कुटपिट गरेकोले उनका हितैषिहरू निरास हुने स्थिति उत्पन्न भएको हो । प्राप्त जानकारीअनुसार पूर्वयुवराज पारस निकै खर्चालु छन् र एकै महिनामा लाखौंलाख रुपैयाँ खर्च गर्ने क्षमता उनमा रहेको छ । आफ्ना पिता (पूर्वराजा ज्ञानेन्द्र)बाट आफ्नो आवश्यकता पूरा नहुने भएपछि नातेदार, साथीभाइ र शुभचिन्तकहरूसँग पारसले रकम मागेर काम चलाउने गरेका छन् । गतसाता पोखरा पुगेका पारसले मागेजति रकम नदिएका कारण फेवा तालकिनारमा रहेको फिसटेल होटलको राणा थरका मालिक (नाम गोप्य राखिएको)लाई उनको कार्यकक्षमै कुटपिट गरे ।

जानकारीअनुसार पारसले ती नातेदार (होटल मालिक)सँग आफ्नो खर्चका लागि पच्चिस लाख रुपैयाँ मागेका थिए । तर उनले त्यति ठूलो रकम आफूसँग नभएको बताउँदै पाँच लाखसम्म दिन सकिने जानकारी गराए । त्यसपछि क्रुद्ध भएका पारसले ‘के म तँसँग भिख माग्दैछु ?’ भन्ने प्रश्न गर्दै मुक्का वर्षाएका थिए । पारसको कुटाइबाट राणा घाइते भए पनि उनले आफ्नो इज्जत–प्रतिष्ठाको ख्याल गर्दै प्रहरीमा उजुरी दिएका छैनन् । प्रहरी तथा अन्य जिज्ञाशुहरूलाई राणाले ‘पारिवारिक मालिला’भन्दै पन्छाउने गरेका छन् ।