सडकमा नाच्दै–भाग्दै केकी

सडकमा नाच्दै–भाग्दै केकी


Keki 2
ठूलो पर्दामा व्यस्त नायिका केकी अधिकारी पछिल्लो समय मोफसलका मुख्य सडक एवम् चोक–चोकमा नाच्न व्यस्त छिन् । चलचित्र ‘भाग सानी भाग’मा मुख्य भूमिका निर्वाह गरेकी केकी सडकमा नाच्दा दर्शकसँग साक्षात्कार गर्ने अवसर मिलेको भन्दै मख्ख पनि छिन् । उनी यत्तिकै लहडमा सडक–सडक नाच्दै र भाग्दै गरेकी भने होइनन् । आफ्नो सिनेमाको प्रचार र प्रमोसनका लागि फिल्म प्रोडक्सन टिमको नीति–निर्देशनमा उनी त्यसो गरिरहेकी छिन् । हेटौँडा, पोखरा, नारायणघाटलगायत स्थानका मुख्य सडकमा नाच्दै हिँडेकी केकीले सोही कार्यक्रममा नेपाली फिल्मका खाँट्टी दर्शकसँग नेपाली सिनेमाका विषयमा साक्षात्कारसमेत गरिन् । थरीथरीका दर्शकले थरीथरी कुरा गरेको बताउने केकी जीवनमै पहिलोपटक यस्तो कार्यक्रममा सहभागी भएको बताउँछिन् । भन्छिन्, ‘दर्शकको बीचमा खुल्ला सडकमा यसरी नाचेको पहिलोपटक हो, निकै रमाइलो लागेको छ ।’
केकीसँगै नायक सविन श्रेष्ठ, निर्देशक नवल नेपाल र कार्यकारी निर्माता चेतन सापकोटा पनि सहभागी थिए दर्शकसँग नाच्ने र भाग्ने ‘फिल्मी’ क्रियाकलापमा । मनोरञ्जनका लागि चलचित्र बनाएको दाबी गर्ने नवलले दर्शकको बीचमा गरिएको कार्यक्रम प्रभावकारी हुने बताए । उनको कार्यक्रम कति प्रभावकारी हुने हो त्यो त चलचित्र भाग सानी भाग रिलिज नभएसम्म भन्न सकिन्न । यतिचाहिँ पक्का हो कि नेपाली फिल्म हेरेर मनोरञ्जन लिने दर्शकलाई एकैछिन भए पनि नायक–नायिकासँगै बस्ने अवसर उनले दिलाइदिए ।