जेलमुक्त सञ्जयको यस्तो छ आग्रह

जेलमुक्त सञ्जयको यस्तो छ आग्रह


Sanjay Dutta
यरवडा जेलबाट गत साता रिहा भएका बलिउड अभिनेता सञ्जय दत्तले मिडियासँग आफूलाई अब सन् १९९३ को बमकाण्डसँग नजोडिदिन आग्रह गरेका छन् । अवैध हतियार राखेको अभियोगमा दोषी ठहरिएपछि ५६ वर्षीय सञ्जय सन् २०१३ मा जेल गएका थिए । त्यसअघि सन् २००७/०८ मा पनि उनी १८ महिना जेल बसेका थिए । सन् २०१३ मै सुप्रिम कोर्टले स्पेसन कोर्टको आदेश सदर गर्दै उनलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो ।
रिहा भएपछि मुम्बईमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘म आतङ्कवादी होइन । म मिडियासँग आग्रह गर्छु कि सन् १९९३ को बम धमाकासँग अब मलाई नजोडिदिनुस् ।’ जेलवाट छुट्नु अघिल्लो रात उनी निदाएनन् । चार दिनदेखि खाना खाएका थिएनन् । उनले मात्रै यो सोचे, ‘अब म परिवारसँग जोडिएपछि फेरि कहिल्यै जेल जानेछैन ।’
सञ्जयको भनाइअनुसार उनी २३ वर्षदेखि जुन स्वतन्त्रताका लागि त्रसित थिए, आज उनलाई आफू स्वतन्त्र भएको आभास भएको छ । उनी भन्छन्, ‘मलाई थाहा छ, साँच्चै स्वतन्त्र भएको अनुभूति गर्न अझै केही समय लाग्नेछ मलाई ।’

जेलमुक्त भएपछि सबैभन्दा धेरै आफ्नो बुबा सुनील दत्तलाई सम्झेको बताए उनले । ‘यदि मेरो बुबा ज्युँदो हुनुहुन्थ्यो भने सबैभन्दा धेरै खुसी उहाँ नै हुनुहुने थियो ।’ जब अदालतले उनलाई आतङ्कवादी होइन भन्यो, त्यसअघि नै उनको बुबाको देहान्त भइसकेको थियो । सञ्जयको भनाइअनुसार उनका बुबा पनि छोरा आतङ्कवादी होइन भनेको सुन्न आतुर थिए ।

यरवडा जेलबाट बाहिर निस्केर जमिन चुमेको र झन्डालाई सलाम गरेको प्रसङ्गमा उनी भन्छन्, ‘धर्ती मेरो आमा हो, म धर्तीलाई प्रेम गर्छु । मलाई भारतीय हुनुमा गर्व छ, त्यसकारण मैले सजाय काटेँ ।’ यो सङ्कटको घडीमा साथ दिएकोमा श्रीमती मान्यताको प्रशस्त तारिफ गरे उनले । जेलमुक्त भएलगत्तै उनलाई बलिउड चलचित्रकर्मीले स्वागत गरेका छन् भने अभिनेता सलमान खानको फार्म हाउसमा केही दिन आराम गर्ने उनको कार्यक्रम रहेको छ ।