छोराको चाहना गर्दा…

छोराको चाहना गर्दा…


तीन छोरालाई जन्म
चार छोरीका बाबुआमा बनिसकेका रोल्पाका तेजमान र ललिता विष्ट एउटा छोराको आसमा थिए । छिमेकी र आफन्तले समेत स्थायी परिवार नियोजन गर्नुपर्ने सुझाइरहे पनि उनीहरूको भित्री इच्छा अझै एउटा छोरा जन्माउनु थियो । त्यसो त आर्थिक अवस्थाका कारण पनि पाँच सन्तान उनीहरूका लागि चुनौती थियो । छोराको आशामा चार छोरी जन्माइसकेका ललिता र तेजमान जब पाँचौँ सन्तानका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा आए, उनीहरूको वर्षौंसम्मको प्रार्थना ईश्वरले त सुने, तर एउटा मात्र होइन उनीहरूलाई एकैचोटि तीन छोरा दिए ।

छोराका लागि १५ वर्षदेखि याचना गर्दै आएका विष्ट अहिले हाँस्नु न रुनुजस्तै भएका छन् । उनीहरू अब एकैचोटि सात सन्तानका अभिभावक पनि बनेका छन् । गत शुक्रबार मध्याह्न झन्डै १५ मिनेटको अन्तरालमा लुम्बिनी अञ्चल अस्पतालमा ललिताले दिएकी हुन् । नवजात तीन शिशुमध्ये एकको तौल दुई किलो भए पनि दुईजनाको भने एक किलो पाँच सय ग्राम रहेको छ । अस्पतालका डा. अनुपा थापाको टिमले गरेको अप्रेसनबाट तीन शिशुको जन्म भएको हो ।

अहिले आमा र बच्चाको स्वास्थ्य पूर्ण रूपमा ठीक रहेको बताउँदै डा. थापाले समाजमा छोराका लागि पटक–पटक सन्तानको रहर गर्दाको यो एउटा परिणाम रहेको बताइन् । अझै पनि समाजमा छोरा पाउन पटक–पटक गर्भ राख्ने गरेको अनुभव सुनाउँदै डा. थापाले चार–चारवटी छोरी हँुदा पनि छोरा नै चाहिने बाबुआमालाई अहिले समस्या परेको उल्लेख गरिन् । छोरा जन्मिएकोमा खुसी हुनुको सट्टा अहिले विष्टदम्पती गाईको दूघ थुक्नु न निल्नुको अवस्थामा पुगेका छन् ।

तीनवटा बालक एकैपटक हुर्काउन समस्या त छ नै, यसअघि चारवटा सन्तान भइसकेकाले पनि उनीहरू सबैको हेरचाहका लागि चुनौती रहेको छ । उनीहरू रोल्पाको जयमा कसला गाविसका स्याथी बासिन्दा हुन् ।

– चन्द्रकान्त खनाल/रूपन्देही