काङ्ग्रेस महाधिवेशन सङ्घारका केही झलक

काङ्ग्रेस महाधिवेशन सङ्घारका केही झलक


Mahendra Parajuli
:: ई. महेन्द्र पराजुली ::

नेपाली काङ्ग्रेसको १३औँ महाधिवेशनले सिङ्गो देश र अन्तर्राष्ट्रिय जगत्कै ध्यान आकृष्ट गरेको छ । लोकतान्त्रिक आन्दोलनको पर्याय बनेको काङ्ग्रेसले आधुनिक नेपालको प्रत्येक युगान्तकारी राजनीतिक आन्दोलनको नेतृत्व गरी देशमा परिवर्तन ल्याएको तथ्य इतिहासमा अङ्कित छ । पार्टीभित्र लोकतन्त्रको अभ्यास गर्ने थलो हो महाधिवेशन । पार्टीको आन्तरिक निर्वाचन भए पनि खुला लोकतान्त्रिक विधि र विधानअनुसार पार्टीको गाउँदेखि केन्द्रीय तहसम्मको नेतृत्व, कार्यकर्ताको मतबाट निर्वाचित हुने र पार्टीको भावी नीति तथा कार्यक्रमसमेत महाधिवेशनले तय गर्ने भएको हुँदा नेपाली काङ्ग्रेसको १३औँ महाधिवेशन सर्वत्र चर्चा र चासोको विषय बनेको छ । काङ्ग्रेसको महाधिवेशन सम्पन्न भएसँगै नेपालको राजनीतिले कोल्टो फेर्ने सम्भावनासमेत रहेको विश्लेषण गर्दछन् राजनीतिक विश्लेषक ।

नेपाली काङ्ग्रेसको १३औँ महाधिवेशन जस्केलामै आइपुगेको छ । महाधिवेशनलाई प्रभावित गर्न, परिणाम आफ्नो पोल्टामा पार्न, नेतादेखि कार्यकर्तासम्म साम, दाम, दण्ड, भेद सबै नीति प्रयोग गर्दै चुनावी अभियानमा होमिएका छन् । पार्टीको आगामी नीति तथा कार्यक्रम गहन रूपमा छलफल, विचार–विमर्श र विश्लेषणसहित विगतको मूल्याङ्कन गर्नुको सट्टा चुनावी जोडघटाउ र आरोप–प्रत्यारोपमा नै रमाई धेरै समय खर्चिरहेका छन् उपल्लो तहका नेता । १२औँ महाधिवेशनमा भन्दा १३औँ महाधिवेशनमा कोठे राजनीतिले थप प्रश्रय पाएको छ । महाधिवेशनको पृष्ठभूमिमा बडे नेतादेखि छोटे नेतासम्मको उम्मेदवारी घोषणाले पनि महाधिवेशनको बजार गर्माएको छ । कसैले बार्गेनिङको तुरुप फालेका छन्, कसैले आफ्नो धरातल बिर्सिएर उम्मेदवारीको पुष्ट्याइँ नै गर्न नसक्ने पदमा हौसिएर दाबीसहित प्रचार गरेका छन् । विशेष गरेर एक–दुई युवानेता कसको आड, भरोसा, इसारा र उक्साहटमा उम्मेदवारी दिँदै छन् यो गुह्य कुरा पङ्क्तिकारभन्दा पनि नेपाली काङ्ग्रेसका आमकार्यकर्ता मात्र नभएर सबै नेपाली जानकार छन् ।

क्षेत्रीय तथा जिल्ला, अधिवेशन केही स्थानमा बाहेक सम्पन्न भइसकेको अवस्था छ । यो लेख प्रकाशित हुँदासम्म सबै अधिवेशन सम्पन्न भइसक्नेछन् । क्षेत्रीय तथा जिल्ला अधिवेशनको नतिजा आ–आफ्नो पक्षमा आएको संस्थापन तथा देउवा पक्षले दाबी गरे तापनि कोठे जोड–घटाउकै आधारमा प्राप्त परिणामको प्रक्षेपण गर्न दुवै पक्षलाई गतिलो र दरिलो आधार छैन । नतिजा कस्तो आउने हो अहिले नै ठोकुवा गर्ने अवस्था छैन । एक समय थियो जुन बेला शैलजा आचार्य, शेरबहादुर देउवा, रामचन्द्र पौडेल र सुशील कोइरालालाई काङ्ग्रेसका ‘चारतारा’ भनेर सम्बोधन गरिन्थ्यो । चारमध्ये देउवा र पौडेल मात्र जीवित छन् । सभापतिको प्रमुख दाबेदार पनि यिनै हुन् । घटनाक्रमले अप्रत्यासित रूपमा कुनै नाटकीय मोड लिएन भने सम्भवत: यी दुईमध्ये एकजनाले सभापतिको ताज पहिरिने सौभाग्य पाउनेछन् । देउवा र पौडेल दुवैजनाले संसद् र पार्टीमा भूमिका पाएकै हुन् । देउवा र पौडेल दुवैको नेतृत्वक्षमताको कसी हो १३औँ महाधिवेशन । शेरबहादुर तीनपल्टसम्म देशको प्रधानमन्त्री भए भने रामचन्द्रले सत्रपटकसम्म प्रधानमन्त्रीको निर्वाचनमा हार व्यहोरे । काङ्ग्रेसको भविष्य यी दुई सिनियर नेतासँगै यिनैले खडा गर्ने टिमसँग जोडिएको छ, हेक्का रहोस् दुवैलाई । सभापतिमा जसले बाजी मारे तापनि उसले केन्द्रीय कार्यसमितिलाई मात्र नभएर सिङ्गो काङ्ग्रेसलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने चुनौती टड्कारो रूपमा देखिन्छ । नेपाली काङ्ग्रेसलाई एकढिक्का बनाउने हो भने सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नुपर्छ, अन्य नेताहरूको समेत सहमतिमा ।

नेपाली काङ्ग्रेस बद्नाम हुँदै छ एक–दुई बाघको खोल ओढेका स्याल युवानेताका कारण । कोठे र गुटगत राजनीतिको तर्काे विरोध गर्ने, पार्टी विधि र विधानअनुसार चल्नुपर्ने र अनुशासनको विषयसमेत उठान गर्ने, आफूलाई मात्र उच्चकोटिको स्वयम् घोषित पपुलर युवानेताको पगरी गुथेका, मौकामा चौका हान्न माहिर युवानेताले आफ्नो सच्चा अनुहार आफैँले एकपल्ट ऐनामा हेर्न जरुरी छ । धामी अनि बोक्सी पनि आफँै बन्न पछि नपर्ने यो प्रवृत्तिका पृष्ठपोषकको हातमा नेतृत्व गयो भने भोलिको काङ्ग्रेस कस्तो होला कल्पनासम्म पनि गर्न सकिँदैन । यी युवानेताको घमण्डको उन्मादले पराकाष्ठा नाघेको छ । आडम्बर, अहंकार र घमण्ड भित्री गुन भएका चर्चित युवानेता अहिले जुन अनुकूलतामा छन् आगामी दिनहरू सहज र सरल छैनन् उनका लागि ।

अराजक र उत्शृङ्खल भनाइ राख्दै, धमिलोपानीमा माछा मार्न पोख्त, सेलिब्रेटीको रूपमा एक्कासि उदाएका एक युवानेताले आफ्नो धरातल आफँै कमजोर बनाउँदै, आफ्नो खुट्टामा आफैँ बन्चरो हान्दै छन् । आफूलाई मात्र काङ्ग्रेसको अब्बल दर्जाको युवानेता हुँ भन्ने अनि एजेन्डाचाहिँ वामपन्थीको बोकेर हिँड्ने, यिनको दिउँसोको चरित्र एउटा हुन्छ भने रातिको अर्कै । यिनको चरित्र संदिग्ध छ । यी युवानेताको गतिविधि र क्रियाकलापले युवालाई मात्र नभएर सिङ्गो काङ्ग्रेसलाई नै असर गरेको छ । यिनैको कारण युवाहरूको काङ्ग्रेसप्रतिको मोह घट्दै गएको छ । त्यसो त आफ्नो योग्यता र क्षमता प्रदर्शन गरिसकेका भविष्य बोकेका, आसलाग्दा, भरोसा गर्न लायक उदीयमान, ऊर्जावान चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, प्रदीप पौडेल, रञ्जित कर्णजस्ता एक से एक लोकप्रिय युवानेता काङ्ग्रेसका लागि गर्व गर्न लायक काङ्ग्रेसमा नभएका होइनन्, काङ्ग्रेसको अबको राजनीतिमा यी युवानेताले स्पेस पाउनुपर्छ ।

गगनकुमार थापा एकजना त्यस्ता चर्चित युवानेता हुन् जसलाई इतिहासको कालखण्डमा आफ्नै पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले दरबारको गुप्तचर भनी किटानी गरेका थिए । होइन भने होनहार युवानेताले आफूलाई लागेको आरोपको खण्डन सार्वजनिक रूपमा किन गर्दैनन् । यसको प्रस्टीकरण गगनले दिनुपर्छ । विभिन्न सूचाङ्कलाई आधार मान्ने हो भने गगनको राजनीति ओरालो लाग्दै छ । घैँटे प्रकरण गगनका लागि गलपासो भयो । ठूलै झट्का खाए गगनले । आफ्नै निर्वाचन क्षेत्र अनि जिल्लामा आफूले उठाएका उम्मेदवारहरूको लज्जाजनक हारको निर्वाचन परिणामले गगनलाई ठूलो धक्का लागेको छ । निर्वाचनमा उम्मेदवारको हार नभएर गगनको हार भएको विश्लेषण गर्दछन् राजनीतिक विश्लेषक । अरूलाई हराउने कुटिल र फोहोरी खेल खेल्दा गगन आफैँ हार्न पुगे । गगनले क्षेत्र, जिल्लाको पकड त गुमाए नै, राष्ट्रिय राजनीतिबाट हात धुनुपर्ने, पाखा लाग्नुपर्ने परिस्थिति सिर्जना हुँदै छ । गगनको राजनीतिक यात्रा सहज हुनेछैन आफ्नै निर्वाचन क्षेत्रमा अबका दिन । निर्वाचन परिणाम घोषणा हुँदै गर्दा आफ्नै कार्यकर्ताद्वारा रातोपुल दरबार बाई–बाई भन्ने चर्काे नारा लाग्नु पक्कै पनि शुभसङ्केत होइन गगनका लागि । उनीप्रतिको कार्यकर्ता र मतदाताको भरोसा र विश्वास घटेको अवस्था छ । क्षेत्र र जिल्लाको निर्वाचन परिणाम भारी महँगो साबित भयो गगनका लागि ।

‘पार्टीको मुद्दामा राखेको धारणाको आधारमा महाराजगञ्जवालाहरूले मलाई आफूनिकट पाए भने कहिले बूढानीलकण्ठवालाहरूले । तर, म निरपेक्ष रूपमा कुनै पनि मुद्दामा पक्ष–विपक्ष भइनँ, चार वर्षको अवधिमा आत्मसम्मानजनक स्थान दिइएन, हाम्रो भावना बुझिएन ।’ एउटा टेलिभिजनको प्रत्यक्ष प्रसारण कार्यक्रममा म पानी पार्ने गगन हुँ भनी हुँकार गर्ने युवानेता गगन थापाको साप्ताहिक देशान्तरमा प्रकाशित लेखको अंश हो यो । संस्थापन पक्षको खोल ओढेका गगनले सुशील कोइराला र शेरबहादुर देउवासँग ब्ल्याकमेलिङ र बार्गेनिङ गरिरहे । केपी शर्मा ओलीको उखानतुक्का र गगनको विचारलाई एउटै डालोमा राखेर हेर्ने हो भने त्यसमा तात्विक फरक देखिँदैन । चक्रवर्ती राजाको सपना बुनेका गगनको कथनी र करणीमा फरक छ । गलत मुद्दा उठाएको र बोकेका कारण राजनीतिको चक्रव्यूह फस्दै कमजोर बन्दै छन् गगन । गगनको गेम, प्लान असफल भएको छ । महामन्त्रीको उम्मेदवारी धरापमा परी नखाउँ भने दिनभरिको सिकार खाउँ भने कान्छा बाबुको अनुहार भएको छ गगनका लागि । सम्भवत: गगन थापा महामन्त्रीको उम्मेदवार हुनेछैनन्, यसैमा उनको भविष्य सुरक्षित हुने र बुद्धिमानी हुनेछ । आफ्नै निर्वाचन क्षेत्र र जिल्लामा पानी पार्न नसक्ने गगनले अधिराज्यभरि पानी पार्छु भन्नु सोमनाथको सातुको हाँडी फुटी सपना चकनाचुर हुनुसरह हो । काठमाडौं जिल्ला क्षेत्र नम्बर ४ का नवनिर्वाचित क्षेत्रीय सभापति राजु श्रेष्ठले पारेको पानीको भेलले बगायो गगनलाई ।

(लेखक सहिद श्रीप्रसाद पराजुलीका पुत्र हुन् ।)