नेपाली काङ्ग्रेसको महाधिवेशन र जनअपेक्षा

नेपाली काङ्ग्रेसको महाधिवेशन र जनअपेक्षा


Laxmikanta Paudel
:: लक्ष्मीकान्त पौडेल ::

मुलुककै ठूलो दल नेपाली काङ्ग्रेसको १३औँ महाधिवेशनको चहलपहल सुरु भएको छ । यसपटकको काङ्ग्रेस महाधिवेशनले केही फरक परिणाम दिनैपर्छ भन्ने राय–सुझाव र धारणा पनि आमकाङ्ग्रेसजनबाट आइरहेको छ । जनताले काङ्ग्रेसबाट देशको नयाँ भविष्य कोरिने आशा पाल्न थालेका छन् । यस जनअपेक्षा पूर्तिका लागि सर्वप्रथम काङ्ग्रेस आफैँ अझ बढी जीवन्त बन्न आवश्यक छ । क्रियाशीलता, युवाहरूको जाँगर र जोसको सदुपयोग तथा अग्रजहरूको अनुभवको सदुपयोग उहाँहरूको उचित सम्मान र काङ्ग्रेसको माध्यमबाट देश र जनताप्रति समर्पित हुने सबैको उचित सरोकार आजका ज्वलन्त विषय हुन् । चुनावमा आफ्नो पक्षमा माहोल कसरी पार्न सकिन्छ भन्ने सोच्नु स्वाभाविक भए पनि काङ्ग्रेसलाई सही दिशा दिने भिजन हुनु महत्त्वपूर्ण हो । काङ्ग्रेसबीच कुनै पनि प्रकारको अविश्वास नहुने र काङ्ग्रेसलाई अझ जनप्रिय कसरी बनाउने भन्ने वातावरण बनाउनु सबैभन्दा अहम् सवाल हो ।

महाधिवेशनमा क्षमतावान, इमानदार र क्रियाशील तथा जनतामा भिजेका प्रतिनिधिहरूबाट त्यस्तै केन्द्रीय नेतृत्व छानिनुपर्छ । यसका लागि हामी सबै समयमा नै सजग हुन आवश्यक छ । सधैँ सिद्धान्तहीन गुट–उपगुटको चक्कर हुनुहुँदैन र त्यो सधैँका लागि अन्त्य हुनुपर्छ । गुट–उपगुटमा गएको काङ्ग्रेसको ऊर्जा अझ बढी देश र जनतामा लगाउन आवश्यक छ । यो महाधिवेशन मानसिक एकताको महाधिवेशन बनाउन सबैले प्रयास गर्नुपर्छ । एकताले क्षमतावान्लाई माथि ल्याउँछ र त्यागी काङ्ग्रेसहरूले भ्रममा पर्नु पनि पर्दैन । नेताहरूले सबैका लागि औचित्यको आधारमा काम गर्ने वातावरण बन्छ । त्यसैले अब अरू होइन क्षमतावान्मध्ये पनि अझ क्षमतावान्, इमानदारमध्ये पनि अझ इमानदार, क्रियाशील अग्रजहरू र साथीहरूबाट पनि झनै क्रियाशीलहरू छानिनुपर्छ भन्ने मान्यता स्थापित हुन आवश्यक छ । काङ्ग्रेसको चुनाव फेयरप्लेमा नै आधारित हुनुपर्छ भन्ने नै साथीहरूको चाहना रहेको छ ।

युवा साथीहरूले अझै जागरुक भएर केन्द्रमा उचित स्थान पाउने वातावरण बनाउनैपर्छ । देशको लक्ष्य, काम, देश र जनताको पक्षमा गर्नुपर्ने दायित्व, समाजको विकास, समानता तथा रोजगारीसमेतको सम्बन्धमा के गर्नुपर्ने भन्ने सवालमा छलफल हुन आवश्यक छ । चुनावी रणनीति साथीहरूबीच गौण हुनैपर्छ र दलको लक्ष्य, दलले लिनुपर्ने क्रियाशीलता, भ्रातृ सङ्गठनहरूको क्रियाशीलताजस्ता अहम् सवाल महाधिवेशनमा र त्योभन्दा पहिलाका अधिवेशनमा पनि आउनुपर्छ । महाधिवेशनमा दलको लक्ष्य पूरा गर्न कस्ता धारणा आउनुपर्छ भन्नेबारे छलफल पनि भइरहेको छ । यसै आधारमा साथीहरूबीचमा हुने सकारात्मक सुझबुझ नै चुनावमा उठ्ने र जित्नेसमेत आधार हुनुपर्छ । सहिद र तिनका परिवार, पीडित काङ्ग्रेससमेतका भावनालाई समेट्नु पनि उत्तिकै महत्त्वपूर्ण छ ।

वैचारिक क्षमता भएका विद्वान्हरूलाई मात्र होइन इमानदार र जनतासँग भिजेका साथीहरूको सोच यो देशको माटोसँग मिल्छ भन्ने सोचेर सन्तुलन पनि मिलाउनुपर्छ । सचेत भएर निर्णय गर्ने अधिकारको सदुपयोग गर्न सक्नुपर्ने हुन्छ । निष्पक्ष र विवेकका साथ काम गर्ने परिपाटीका लागि ०७ सालभन्दा पहिलादेखि नै आन्दोलन गरेर देश र जनतालाई हक–अधिकार दिलाएको काङ्ग्रेसले यसको झन्डामुनि रहेर काम गर्ने महान् सहिदहरू, विभिन्न आन्दोलनका अग्रणीहरू, माओवादी हिंसामा विचारको संरक्षणमा अडिग भएर लोकतन्त्रको दियो बाल्न ज्यानको बाजी लगाउने, पीडित हुने, सम्पत्ति गुमाउन तयार हुने सबैलाई सम्मानपूर्ण व्यवहार र भूमिकाको प्रत्याभूति आवश्यक छ । किनकि क्षमता प्रयोग गर्ने अधिकार र देश तथा जनताको सेवा गर्ने अवसरको सुरुवात त महाधिवेशन नै हो ।
को व्यक्ति कुन पदमा उठ्नेभन्दा पनि बिनापूर्वाग्रह कुन पदमा को ठीक छ भन्ने मूल्याङ्कन गर्न आवश्यक छ । गल्ती गर्नेहरूले काङ्ग्रेसलाई बद्नाम गर्ने र इमानदारलाई पनि झुकाउने हुँदा त्यसमा सबै सचेत हुनैपर्छ । यो सोच्ने र सल्लाह दिने कार्य पनि अग्रजहरू र साथीहरूबीच सघन रूपमा हुनुपर्छ । त्यही आधारमा सबै चल्नुपर्छ ।

निरन्तर काम गरेका, काङ्ग्रेसले आन्दोलन गरेका सबै मोर्चामा सक्रिय भएका, जेलनेल खाएर काङ्ग्रेसप्रतिको आस्थालाई उचो बनाएका, काङ्ग्रेसका सबै कार्यक्रममा आफ्नो क्षमताको उच्चतम् उपयोग गरेका, इमानदार र क्षमतावान् तथा जनतासँग भिज्न सक्ने खुला किताबजस्तै रहेकाहरूबाटै दलको उचाइ बढ्छ भन्ने धारणा आउनु स्वाभाविक हो ।
विकास, रोजगारी, समानता, अध्ययन, अनुसन्धान, अनुभवबाट जनतालाई केही गर्ने अर्थात् व्यवहारमा उतार्न यो सबैका लागि आधार नै हो । म इमानदारी र क्रियाशीलताका साथ आफ्नो क्षमतालाई अधिकतम् रूपमा दलको हितमा, साथीहरूको पक्षमा, समाज र देशको पक्षमा कामको अपेक्षा सबैको हुन्छ । काङ्ग्रेसलाई बद्नाम तुल्याउने काम गर्नेहरू हतोत्साहित हुनुपर्छ ।

१३औँ महाधिवेशनले काङ्ग्रेसको आन्तरिक जीवनमा गुट–उपगुटको राजनीतिबाट निस्कने वातावरण बन्ने सम्भावना प्रबल छ र यो आवश्यक पनि हो । काङ्ग्रेस सबै काङ्ग्रेसहरूको उत्तिकै अधिकार र माया भएको साझा घर हो भन्ने अब अझ राम्रोसँग स्थापित हुनुपर्छ । काङ्ग्रेसमा देशको पूर्ण अनुहार सबै किसिमले देखिने अवस्थाको सिर्जना भएमा यो सकारात्मक मात्र हुनेछैन बरु काङ्ग्ेरसले नै देशलाई विकास, समानता तथा शान्तिको बाटोमा लग्ने हो भन्ने विश्वास जनतामा अझ प्रबल हुन्छ ।

देशमा स्रोतहरूको अभाव छैन । अशान्ति र जनतालाई भ्रम बाँडेको कारण जनतालाई र जनतामा लोकतन्त्रविरोधीहरूले राम्रोसँग काम गर्ने वातावरण दिएनन् । अब जनता सचेत भएका छन् । कुनै पनि प्रकारको शान्तिको विरोधी कार्य विकास र सामानताको पनि विरोध हो भन्ने सबैले बुझ्दै गएको अवस्था छ । अब काङ्ग्रेसको सबल नेतृत्व बनाउने र यसले देश र जनताको पक्षमा काम गर्ने अवसर आएको छ भन्ने सोच्ने र त्यसअनुसार काम गर्ने अवसरको सिर्जना गर्ने बेला आएको छ । काङ्ग्रेसको भविष्यसँग देशको भविष्य जोडिएकाले काङ्ग्रेस एकढिक्का भएर अब अगाडि बढ्छ भन्ने सबैलाई विश्वास दिलाउनासाथ देशमा ठूलो आशाको सञ्चार हुन्छ । यसका लागि चुनावमा सबैले भावनात्मक रूपमा गुटभन्दा बाहिर आएर काम गर्नुपर्छ । यो नै काङ्ग्रेसप्रति जनविश्वास र काम गर्न सक्ने वातावरणको पूर्वाधार पनि हो ।