को हुन् नेका सभापतिका प्रवल दाबेदार देउवा र पौडेल ?

को हुन् नेका सभापतिका प्रवल दाबेदार देउवा र पौडेल ?


शेरबहादुर देउवा :

sher-bahadur-deuba

०१७ सालपछिको राजनीतिक घटनाक्रमबाट नेपाली राजनीतिमा प्रेरित नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् १३ औँ महाधिवेशनका सभापतिका उम्मेदवार शेरबहादुर देउवाको जन्म विसं २००४ जेठ ३० गते डडेल्धुराको रुवाखोला असिग्राम—५ भएको हो । हाल उहाँ बुढानिलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आउनुभएको छ । यसअघि पार्टीको ११ औँ र १२ औँ महाधिवेशनमा समेत देउवा पार्टी सभापति पदको उम्मेद्वार हुनुहुन्थ्यो ।

त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा पनि स्नातक देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसक्नुभएको छ । देउवा एक छोराका पिता हुनुहुन्छ भने उहाँकी धर्मपत्नी आरजु राणा देउवा पनि व्यवस्थापिका–सांसद् हुनुहुन्छ ।

नेता देउवा २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचन तथा विसं २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा डडेलधुरा जिल्लाबाट विजयी देउवाले गृहमन्त्री तथा पटक पटक प्रधानमन्त्री समेतको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँ अहिले डडेलधुराबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्नुहुन्छ ।

विसं २०५१ मा भएको मध्यावधि चुनावपछि उहाँ कांग्रेसको संसदीय दलको नेतृत्व गर्दै विसं २०५२ मा पहिलो पटक नेपालको प्रधानमन्त्री बन्नुभएको थियो । विसं २०५९ मा प्रधानमन्त्री हुनुभएका उहाँ त्यसको दुई वर्षपछि २०६१ सालमा पुनः प्रधानमन्त्री बन्नुभएको थियो । नेपाली कांग्रेसको विभाजनपछि उहाँ नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति बन्नुभएको थियो भने कांग्रेस र कांग्रेस(प्रजातान्त्रिक)को एकतापछि उहाँ नेपाली कांग्रेसको वरिष्ठ नेता हुनुभएको हो ।

देउवा विसं २०५६ मा माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष हुनुहुन्थ्यो । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनुभएका देउवा नेविसङ्घका प्रथम सभापति हुनुहुन्छ र सुदूरपश्चिममा कांग्रेसका प्रभावशाली व्यक्तित्व मानिनुहुन्छ । उहाँले भारत, चीन, भुटान, माल्भ्दिस, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्वीटजरल्यान्ड, ग्रीस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलिया लगायत मुलुकको भ्रमण गर्नुभएको छ ।

रामचन्द्र पौडेल :
ramchandra
त्रिविबाट नेपालीमा स्नातकोत्तर र संस्कृत साहित्यमा शास्त्रीसम्मको अध्ययन गर्नुभएका नेपाली कांग्रेसका कावा सभापति रामचन्द्र पौडेलको जन्म २००१ साल असोजमा तनहुँ जिल्लाको रिस्ती गाविसमा भएको हो । उहाँ हाल काठमाडौं बोहोराटारमा रहँदै आउनुभएको छ । पौडेलका समसामयिक राजनीतिसम्बन्धी पुस्तक प्रकाशन भएका छन् । उहाँका ‘प्रजातान्त्रिक समाजवाद ः एक अध्ययन’ २०४६, ‘नेपाली कांग्रेस के भन्छ ?’ २०४८ र ‘नयाँ सन्दर्भमा समाजवाद’ २०५२ कृति लगायत समकालीन राजनीति र मानवअधिकारसँग सम्बद्ध विभिन्न लेख प्रकाशित छन् ।

विसं ०१७ पुस १ गतेको राजनीतिक घटनापछि १६ वर्षको उमेरदेखि नै पौडेल प्रजातान्त्रिक शासन व्यवस्था स्थापनार्थ राजनीतिमा प्रवेश गर्नुभएको हो । नेपाली कांग्रेसले २०१८ सालमा सञ्चालन गरेको सशस्त्र क्रान्तिमा पौडेल सहभागी हुनुभएको थियो । विसं २०१९ को स्वतन्त्र विद्यार्थी आन्दोलनमा अभियानकर्मीका रुपमा उहाँले भूमिका निर्वाह गर्नुभयो भने विसं २०२३ मा सरस्वती कलेज विद्यार्थी युनियनको सभापति निर्वाचित हुनुभएका पौडेलले सोही वर्ष संस्थापक सभापति भई गण्डकी विद्यार्थी समितिको स्थापनामा नेतृत्व लिनुभएको थियो ।

विसं २०२४ मा प्रजातान्त्रिक समाजवादी युवा लिगको निर्वाचित महासचिव हुनुभएका पौडेलले २०२७ साल वैशाख ६ गते नेपाल विद्यार्थी सङ्घको स्थापनामा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । नेपाली कांग्रेस तनहुँ जिल्ला कार्य समितिका सदस्य पदमा २०३४ सालमा निर्वाचित हुनुभएका पौडेल २०३६ सालमा जिल्ला उपसभापति र जनमतसङ्ग्रहका समयमा सर्वदलीय प्रचार अभियानको अध्यक्ष भएर बहुदलका पक्षमा जनमत निर्माणमा योगदान पु¥याउनुयो । २०४० सालमा कांग्रेस केन्द्रीय प्रचार समितिको संयोजक र २०४४ सालमा केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हाल्नुभयो ।

पञ्चायत व्यवस्थाविरुद्ध ३० वर्ष सङ्घर्ष गरी २०४६ सालमा प्रजातन्त्र स्थापनापछि २०४८ सालको संसदीय निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट संसद् सदस्यमा निर्वाचित हुनुभएको थियो । संसदीय निर्वाचनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारमा स्थानीय विकासमन्त्रीको कार्यभार सम्हाल्नुभएका नेता पौडेलले २०४९ सालमा कृषि मन्त्रालयको थप जिम्मेवारीसमेत लिनुभयो । विसं २०५१ को मध्यावधि निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाट संसद् सदस्यमा निर्वाचित भएपछि उहाँले पाँच वर्षसम्म सभामुखको भूमिका निर्वाह गर्नुभयो । विसं २०५६ को संसदीय निर्वाचनमा पुनः तनहुँ क्षेत्र नं २ बाट सांसद बन्नुभएका नेता पौडेलले २०५७ सालमा उपप्रधानमन्त्री, गृह एवम् सञ्चारमन्त्रीको पदभार ग्रहण गर्नुभएको थियो ।

विसं २०६२ मा कांग्रेसको महामन्त्री हुनुभएका नेता पौडेलले २०६३ सालमा पुनःस्थासपत संसद्को सदस्य भई तत्कालीन नेकपा (माओवादी)लाई शान्ति प्रक्रियाको मूलधारमा ल्याउन महत्वपूर्ण योगदान पु¥याउनाका साथै शान्ति सचिवालयको संयोजकको भूमिका निर्वाह गर्नुभयो । माओवादी समेत संलग्न भई २०६३ सालमा गठन भएको सरकारमा नवगठित शान्ति तथा पुनःनिर्माण मन्त्रालयको पहिलो नेतृत्व पनि नेता पौडेलले नै सम्हाल्नुभयो ।

विसं २०६४ मा कांग्रेस उपसभापति हुनुभएका नेता पौडेल २०६४ सालको संविधानसभा निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाटै चौथो पटक सभासद्मा निर्वाचित हुनुभयो । विसं २०६५ मा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित हुनुभएका पौडेल २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा पनि तनहुँ २ नं क्षेत्रबाटै पाँचौँ पटक सभासद्मा निर्वाचित हुनुभयो । स्वतन्त्रता र प्रजातन्त्रबाट मात्रै जनताको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अधिकारको संरक्षण हुन सक्छ भन्ने वैचारिक मान्यता राख्ने कावा सभापति पौडेल जनएकता भए मात्र समृद्ध मुलुक निर्माण गर्न सकिन्छ भन्ने विश्वास राख्नुहुन्छ ।