देउवाको विजयले यस्तो सिद्ध गर्‍यो

देउवाको विजयले यस्तो सिद्ध गर्‍यो


sher bahadur deuba
नेपाली काङ्ग्रेसको तेह्रौँ महाधिवेशनमा वरिष्ठ राजनीतिज्ञ शेरबहादुर देउवा पार्टी सभापतिमा अत्यधिक मतले विजयी हुनु भएपछि नेपालको प्रजातान्त्रिक इतिहासमै नयाँ युगको उदय भएको छ । नेपाली काङ्ग्रेस पार्टीका संस्थापक एवम् सन्त नेता स्व. कृष्णप्रसाद भट्टराईका उत्तराधिकारीका रूपमा परिचित श्री देउवाको यस विजयले काङ्ग्रेसलाई परिवारवादबाट जनतामा ल्याउन सफल भएको मैले महसूस गरेको छु । साथै विगत असोज अन्तिमदेखि नेपाली जनता आपराधिक व्यक्तिको सत्ताबाट आहत भइरहेको व्यहोरा जगजाहेर नै छ । विशेष गरी गुण्डा, माफिया, तस्करका नाइकेबाट राज्यसत्ता सञ्चालन भएकाले मुलुकमा अराजकता छाइरहेको सवैमा विदितै छ । यस्तो पेचिलो देशका दूरावस्थामा श्री देउवाको उदयले सबैलाई मिलाएर राष्ट्रिय सरकारको गठनमा विशेष पहल हुने मैले विश्वास लिएको छु । बीपी कोइराला, कृष्णप्रसाद भट्टराईपछि काङ्ग्रेस पथभ्रष्ट हुँदै कम्युनिष्टहरूको संरक्षक बनेजस्तो भइरहेको थियो । विशेष गरी गणेशमान सिंह र किशुनजी जस्ता त्यागी नेताहरूलाई पार्टीबाट बाहिर पारिएको थियो ।

आज देउवाको विजयले के सिद्ध गरेको छ भने त्यस्तो निकृष्ट कार्य कोही व्यक्ति विशेषले मात्र गरेको हो र आम काङ्ग्रेसी कार्यकर्ताले होइन भन्ने ठहर भएको छ । यतिबेला किशुनजी हुनुभएको भए उहाा कति खुशी हुनुहुन्थ्यो होला ? म भन्न सक्तिना । जे भए पनि किशुनजीका प्रियपात्र श्री देउवाजीलाई जिताएर काङ्ग्रेसी कार्यकर्ताले किशुनजीको स्वर्गीय आत्माको सम्मान गरेकोमा म सबै नेपाली काङ्ग्रेस पार्टी र सम्पूर्ण सदस्यहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । अन्तमा श्री देउवाबाट काङ्ग्रेसको प्रजातान्त्रिक समाजवादको कार्यान्वयन भएमा आदरणी जननेता विश्वेश्वरप्रसाद कोइरालाको समेत सम्मान हुने थियो । यस महान् कार्यका लागि देउवालाई सफलता मिलोस् भन्ने कामना सहित हार्दिक बधाई ज्ञापन गर्दछु ।

– महाकवि देवकोटाको अनुयायी
अभागी कवि रत्ननिधि रेग्मी, ‘शुक्राचार्य’