भक्तपुरमा सुरु भयो ‘यौन पर्व’

भक्तपुरमा सुरु भयो ‘यौन पर्व’


भक्तपुरमा सुरु भएको फागु (होली) पर्व सुरु भएको छ । फागुन शुक्ल अष्टमीको दिनदेखि आरम्भ भएको होली पर्वमा भक्तपुरका बासिन्दा सङ्गीतमा रमाउँदै एकसातासम्म मनाउँछन् । अझ रोचक त के छ भने यस अवसरलाई उनीहरु यौन पर्वका रुपमा मनाउने गर्छन् ।
Holi Photo Bhaktapur
भीमसेन गुठीका गायजुले भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि पूर्णिमासम्म “भीमसेन देया लज खङ्गलो वानला ल्यासे, बिस्यूवाने म्वायेक सो झाया ला” (भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनु भयो कि) जस्ता यौनसँग सम्बन्धित गीत गाएर होली पर्व भक्तपुरमा सुरु भएको हो । भक्तपुरको दत्तात्रय मन्दिर अगाडि रहेको प्रसिद्ध भीमसेन मन्दिरको पाटीमा गुञ्जने नेवारी भाषाको गीतसँगै व्यापारका देवताका रुपमा भीमसेनलाई पुज्दै होली पर्व मनाइएको छ । भीमसेन मन्दिरमा काठबाट बनेको भीमसेनको लिङ्ग र कपडाबाट बनेको द्रौपतीको योनीको प्रतीकलाई झुन्ड्याएर यौन समागमको रुपमा एक सातासम्म प्रदर्शनमा राखिएको छ । नेवारी परम्पराअनुसार यसलाई ‘चीर स्वायेगू’ भनिन्छ भने चीर स्वायेगू अर्थात् लिङ्ग घुमाएपछि फागु सुरु हुन्छ । घुमाएको लिङ्गलाई स्थानीयवासीले पूजा गर्ने, ढोग्ने र दान दक्षिणा दिने परम्परा छ । यसो गरेमा व्यापार फस्टाउने विश्वास रहिआएको छ ।

बजार घुमाएपछि भीमसेन मन्दिरमा ल्याएको लिङ्ग र योनी आकारको प्वाल भएको रातो कपडासमेत भीमसेनको मन्दिरमा झुन्ड्याइन्छ ।

दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहने होली पर्व यहाँ भने भीमसेनसँग सम्बन्धित रहने गरेको संस्कृतकर्मीको भनाइ छ । चीर स्वायेगू अर्थात् लिङ्ग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने प्रचलनसमेत रहिआएको छ ।

मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको छोरा जन्मन्छ भन्ने विश्वासका आधारमा लिङ्ग बोक्न चाहनेकोे प्रतिस्पर्धा नै चल्ने गर्दछ । भीमसेनको मन्दिर जगतप्रकाश मल्लको समयमा बनेकाले होलीको यो परम्परा पनि यही बेलादेखि सुरु भएको हुनसक्ने जनविश्वास छ ।