भूपू गोर्खा सैनिकद्वारा प्रदर्शनी

भूपू गोर्खा सैनिकद्वारा प्रदर्शनी


GAESO ktm
बेलायतका राजकुमार ह्यारीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा भूपू गोर्खा सैनिक सङ्घ (गेसो)ले शुक्रबार राजधानीस्थित बेलायती दूतावासमा ज्ञापनपत्र बुझाएको छ । लैनचौरस्थित सडक किनारामा केहीबेर प्रदर्शनी गरेपछि गेसोका सदस्यहरु दूतावास पुगेका थिए ।

गोर्खा सैनिकका नाममा पहिलो र दोस्रो युद्धमा होमिएका नेपाली युवा कुन कुन युद्धमा के कति परेका थिए भन्ने विषय तथा समान कार्यमा रहेका नेपाली र बेलायती सैनिकलाई सुविधामा किन विभेद भइरहेको छ भनी ध्यानाकर्षण गराउन प्रदर्शनी गरिएको गेसोले जनाएको छ । गेसोका अध्यक्ष पदमबहादुर गुरुङले दुई सय वर्षअघिदेखि गोर्खालीका नाममा हाम्रा बाजे, बराजुलाई भर्ती गर्ने काम भयो, यो अवधिमा ६० हजार नेपाली बेपत्ता भएका छन्, कुन कुन युद्धमा त्यो क्षति भएको हो, जानकारी मात्र माग्ने कुरा गरेका हौँ भन्ने अभिव्यक्ति दिएका छन् ।

यसैगरी गेसो सदस्य डम्बरबहादुर तुम्बाहाम्फेले समान कामको समान सुविधा पाउनुपर्छ भन्ने मान्यता विपरीत गोर्खा सैनिकमा रहेका नेपालीले प्राप्त गर्ने सेवासुविधालाई समान गरियोस् भनी आफूहरुले माग गर्दै आएको उल्लेख गरे । नेपालमा अहिले ३० हजारको हाराहारीमा भूपू गोर्खा सैनिक रहेको र करिब तीन हजार ५०० बेलायती सेनामा कार्यरत रहेको गेसोको कथन छ ।