राजकुमार ह्यारीद्वारा गोर्खा फौजको प्रशंसा

राजकुमार ह्यारीद्वारा गोर्खा फौजको प्रशंसा


British Prince Henry-meet KP Oli
नेपालको पाँचदिने औपचारिक भ्रमणमा रहनुभएका बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शनिबार साँझ शिष्टाचार भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको २० मिनेट लामो सो भेटमा दुई देशबीच दुई शताब्दी लामो सम्बन्ध र मित्रताबारेमा केन्द्रित रहेर विचार विमर्श भएको थियो ।

भेटका अवसरमा राजकुमार ह्यारीले नेपालको वन्यजन्तु, वातावरणको संरक्षण, हिमाल र नेपाली जनताको सेवाका बारेमा चर्चा गर्नुभएको थियो भने विशेषगरी बेलायती सेनामा कार्यरत गोर्खा फौजको योगदानको चर्चा गर्दै नेपाल सरकारप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले दिएको जानकारीअनुसार राजकुमार ह्यारीले आफू पनि गोर्खा सेनासँग अफगानिस्तानमा खटिएर बसेको अनुभव सुनाउँदै गोर्खा फौजबाट अन्यन्त बहादुरी र वीरता प्रदर्शन भएको अनुभव सुनाउनुभएको थियो । सो अवसरमा राजकुमार ह्यारीले भन्नुभयो – “गोर्खा फौजले आफूले नलड्नुपर्ने युद्धमा पनि बेलायतलाई सहयोग पु¥याएकोमा नेपाली जनताप्रति आभार र धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”

भेटका अवसरमा प्रधानमन्त्री ओलीले धेरै टाढाको मुलुक भएर पनि नेपालको विकासमा बेलायतबाट हुँदै आएको निरन्तर सहयोगप्रति राजकुमार ह्यारीमार्फत बेलायत सरकार र जनताप्रति धन्यवाद व्यक्त गर्नुभयो । भुइँचालोपछि राहत र उद्धारमा बेलायतले गरेको सहयोगप्रति पनि प्रधानमन्त्री ओलीले आभार व्यक्त गर्नुभएको थियो ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुईसय वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारी शनिबार नेपाल आउनुभएको हो ।