दुई राप्रपाबीच एकीकरण हुने चन्दको दाबी

दुई राप्रपाबीच एकीकरण हुने चन्दको दाबी


Lokendra Chand
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले राप्रपा र राप्रपा नेपालबीच पार्टी एकीकरणको तयारी अन्तिम तयारीमा पुगेको बताएका छन् । राप्रपा नगरकोट नगरपालिकाले शनिबार सुुडालमा आयोजना गरेको कार्यकर्ता भेला कार्यक्रममा पूर्वप्रधानमन्त्री चन्दले दुई पार्टीबीच अब छिट्टै एकीकरण हुने बताएका हुन् ।

सो अवसरमा मन्तव्य दिँदै नेता चन्दले भ्रष्टाचार र कालोबजारी नियन्त्रणमा सरकार असफल भएको आरोप लगाए । उनले विनाशकारी भूकम्प गएको ११ महिना बित्दा पनि सरकारले भूकम्पपीडितलाई राहत वितरण गर्न नसक्नु सरकारको ठूलो कमजोरी भएको दोहोर्याए । कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्यद्वय रवीन्द्रप्रताप शाह र सानुकाजी हेक्का, राप्रपा नगरकोट नगर समिति अध्यक्ष धनबहादुर लामालगायतले सरकारले तत्काल भूकम्प पीडितलाई राहत पुनःनिर्माणको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए ।