ओली र जिनपिङबीच भेटवार्ता

ओली र जिनपिङबीच भेटवार्ता


PM China Visit
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले सोमबार दिउँसो बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा चीनका राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गरेका छन् । भेटका अवसरमा प्रधानमन्त्री ओली र राष्ट्रपति जिनपिङबीच सौहार्दपूर्ण रुपमा आपसी हित र सहयोगका विषयमा वार्ता भएको बताइएको छ । परराष्ट्र मन्त्रालयले जनाएअनुसार दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ र सुमधुर बनाउने सम्बन्धमा कुराकानी भएको थियो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछयाङबीच भेटवार्ता भएको थियो । दुई देशका प्रधानमन्त्रीबीच ग्रेट हल अफ दी पिपुलमा उच्चस्तरीय वार्ता भई पारवहन तथा यातायातलगायत महत्वपूर्ण सम्झौता भएका छन् । नेपाल र चीनबीचस्वतन्त्र व्यापार सम्झौता, ३२ हजार घरमा सौर्य प्रणाली जडान गर्ने सम्झौता, सुविधायुक्त ऋण सम्झौता, पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता, नेपालमा ग्यास तथा इन्धनको अन्वेषण गर्ने सम्झौता र हिल्सामा पुल निर्माण गर्नेलगायतका सम्झौता भएको बुझिएको छ ।

दुई प्रधानमन्त्रीबीच नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपालको विकासमा चीनले पु¥याउने सहयोगका विविध पक्षमा विचारविमर्श भएको पनि बताइएको छ ।