ओमकार परिवार संस्थागत रुपमा आन्दोलित हुन आग्रह

ओमकार परिवार संस्थागत रुपमा आन्दोलित हुन आग्रह


10 Hindu 2
पोखरा/ विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय कार्यसमिति बाँसबारीको आयोजनमा पश्चिमाञ्चल क्षेत्रीय भेला सम्पन्न भएको छ । नयाँ समिति गठनका साथ आइतवार पोखरामा सम्पन्न भेलाको उद्घाटन महासंघका राष्ट्रिय सभापति निलप्रसाद भण्डारीले गरेका थिए । सो अवसरमा बोल्दै सभापति भण्डारीले विश्वकै एक मात्र हिन्दुराष्ट्रको रुपमा रहेको नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरी इशाईकरण गर्न लागिएको आरोप लगाए । नेपाललाई बैदिक सनातन हिन्दुराष्ट्रको रुपमा स्थापना गर्नको लागि सम्पुर्ण ओमकार परिवार संस्थागत रूपमा आन्दोलित हुनसमेत उनले आग्रह गरे ।

सो अवसरमा अखण्ड नेपाल पार्टीका सांसद् कुमार खड्काले हिन्दुराष्ट्र स्थापना गर्ने एजेण्डासहित निर्वाचित भएका सभाषदहरूले समेत हिन्दु धर्मको बारेमा बोल्न नसकेको गुनासो गर्दैै हिन्दुहरुको भोटबाटै निर्वाचित एमाले, काङ्ग्रेसका सभाषदहरुले हिन्दु आन्दोलनलाई दिग्भ्रमित र खण्डित तुल्याएको र हिन्दुवादीको खोल ओढेर हिँड्ने कमल थापालेसमेत धर्मनिरपेक्ष संविधानलाई अनुमोदन गराएको आरोप लगाए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसकी सांसद् सारदा पौडेल, ब्राम्हण समाज नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष प्राध्यापक डा. नारायण अधिकारी, क्षेत्री समाजका पुर्व केन्द्रीयअध्यक्ष प्राध्यापक डा. डिलबहादुर केसी, पुर्वमन्त्री एवं विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय कार्यसमितिका उपाध्यक्ष दिनवन्धु अर्याललगायतले शुभकामना व्यक्त गरे ।
10 Hindu 1
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य महेश्वर पौडेलले डा. शास्त्रदत्त पन्तसहित तयार पारेको महासंघको भावी रणनीति र कार्यक्रम प्रस्तुत गरेका थिए । सो अवसरमा महासंघका केन्द्रीय सदस्यहरू गुणनिधि पन्थी, भवानीप्रसाद शर्मा, पुष्प भण्डारी, पदम पाण्डे, कल्पना केसी, लेखबहादुर टण्डन, बिष्णुबहादुर कार्की, मधुकला कुावर, नन्दप्रसाद अर्याल, बिहंगम तिमिल्सीना र लुम्बिनि अंचल सभापति बेदराज घिमिरे लगायतले पनि मन्तव्य दिएका थिए ।

यसैबीच सम्पन्न भेलाले लक्ष्मण थापा सभापति रहेको ३३ सदस्यिय विश्व हिन्दु महासंघ नेपाल पश्चिमाञ्चल क्षेत्रीय समितिको गठन गरेको छ । गठित समितिको सदस्यमा रुपन्देहीका अर्जुन गौडेल र अमृत मिश्र, स्याङ्जाका नारायण भट्टराई र पुण्यप्रसाद उपाध्यय, अर्घाखाँचीका टोमवहादुर क्षेत्री र शम्भु केसी, कपिलवस्तुका शिवनारायण गिरी र नुमा बेल्वासे, नवलपरासीका एकमाया ढुंगाना र इन्द्र क्षेत्री रहेका छन् ।

त्यसैगरी उक्त समितिमा पर्वतका गंगाराज पौडेल र मानकुमारी गिरी, बागलुङका खुमप्रसाद पराजुली र यामवहादुर चर्माकार, गुल्मीका शंकर भण्डारी र सुवर्ण जुहारचन, पाल्पाका देवराज ढकाल र कृष्णा गिरी, कास्कीका शिवप्रसाद तिमील्सीना र हरिकृष्ण बराल र गोर्खाका हरि लामिछाने पनि सदस्य रहेका छन् । बाँकी १२ जना सदस्य म्याग्दी, मुस्ताङ, मनाङ र तनहुँ, लमजुङ, गोर्खा जिल्लागत रुपमा मनोनित गरिने विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय कार्यसमितिले जनाएको छ ।