दशगजा क्षेत्रका अतिक्रमण हटाउने सहमति

दशगजा क्षेत्रका अतिक्रमण हटाउने सहमति


नेपाल–भारतका स्थानीय प्रशासकबीच बैठक
PR-Parsa-Meeting-1

नेपाल तथा भारतको खुला सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप तथा अन्य मानवताविरोधी कार्य स्थानीय तहबाटै नियन्त्रणका लागि नीति तयार गर्ने विषयमा भारत बिहारको सुपौल जिल्लामा दुवैतिरका स्थानीय प्रशासनको संयुक्त बैठक गत साता बस्यो । मंगलबार बसेको सो बैठकले सीमा क्षेत्रमा हुने सबैखाले आपराधिक गतिविधिसँगै महिला ओसारपसार नियन्त्रण गर्न दुवै देशका स्थानीय प्रहरी तथा प्रशासनबीच निरन्तर संवाद र सञ्चारसम्पर्क स्थापित गरेर त्यस्ता आपराधिक कार्य रोक्ने सहमति भएको बुझिएको छ ।

बैठकमा सहभागी भएका सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहन चापागार्इंका अनुसार सीमा क्षेत्रमा देखिने शङ्कास्पद अवस्थाका मानिसलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने र आपराधिक कार्यमा संलग्न भएको पुष्टि भएको अवस्थामा कारबाही चलाउन पनि सहमति भएको छ । यस्तै, सीमा क्षेत्रमा हुने लागूऔषध ओसारपसार, भन्सार छली गर्ने गिरोह तथा कुनै पनि आपराधिक कार्य गर्ने जोकोही भए पनि त्यस्ता मानिसप्रति दुवै देशको स्थानीय प्रशासनले निरन्तर सम्पर्क स्थापित गरेर अपराधलाई रोक्ने प्रयास गर्ने पनि सहमति भएको उनले जानकारी दिए ।

सप्तरी जिल्लाका प्रजिअ बलदेव गौतम तथा प्रहरी प्रमुखलगायत र सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोखरेल, भूमिसुधार प्रमुख, भन्सार प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख तथा भारत बिहारको सुपौल जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्ेरट वैद्यनाथ यादवलगायत सम्बन्धित सरोकार राख्ने कार्यालयका प्रमुखको बैठकमा सहभागिता रहेको थियो ।

यसैगरी, सीमामा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने सम्बन्धमै नेपाल–भारतका सुरक्षा अधिकारीको सुरक्षा बैठक गत ४ गते भारतको जयनगरमा पनि बसेको थियो । बैठकले सीमा क्षेत्रमा संयुक्त गस्ती गर्ने, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने, आगामी अप्रिल ४ (२२ चैत)देखि भारतमा हुने ग्राम पञ्चायतको निर्वाचनलाई ध्यान दिई सीमानाका बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले सीमास्तम्भको मर्मतसम्भार गर्ने र दशगजा क्षेत्रमा भएका अतिक्रमण आ–आफ्नो देशका सुरक्षा निकायले हटाउने निर्णयसमेत गरेको छ ।

बैठकमा धनुषाका प्रजिअ दिलीप चापागाईंको नेतृत्वमा महोत्तरीका प्रजिअ, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रमुखलगायत सुरक्षा अधिकारीको सहभागिता थियो भने भारत मधुवनी जिल्लाका डिस्ट्रिक मजिस्टेड (डीएम) गिरिवर दयालसिंह, मधुवनी बेनीपट्टीका डीएसपी निर्माला कुमारीलगागयत सुरक्षा अधिकारीको उपस्थिति रहेको थियो ।
PR Parsa-Meeting-3