नाम नदिएर गणेशलाई बोर्डले दियो तनाव

नाम नदिएर गणेशलाई बोर्डले दियो तनाव


मालतीको भट्टी र मञ्जरी चलचित्रका निर्देशक गणेशदेव पाण्डे अहिले तनावमा छन् । उनलाई तनाव दिने काम गरेको छ चलचित्र विकास बोर्डले । खासमा विकास बोर्ड चलचित्र निर्माता/निर्देशकलाई राहत दिन खोलिएको संस्था हो, तर तनाव दिने काम गरेर यसले आफ्नो अलग ‘पहिचान’ स्थापित गर्दै छ । ‘गाजाबाजा’ नाम राखेर फिल्म बनाउने तयारीमा रहेका निर्देशक गणेशदेव पाण्डे चलचित्र विकास बोर्डले आफूलाई सो नाममा स्वीकृति नदिएको भन्दै अदालत जाने योजना बनाउँदै छन् ।

ganesh-Dev-Pandey

निर्देशक पाण्डेको भनाइअनुसार ‘गाजाबाजा’ नामको फिल्म दर्ताका लागि निर्देशक पाण्डेले बोर्डमा राजस्वसमेत तिरेका थिए । तर, अन्तिम समयमा बोर्डका कर्मचारीले यो नाममा फिल्म बनाउन मिल्दैन भने । कर्मचारीले त्यसो भनेलगत्तै निर्देशक पाण्डेले बोर्ड अध्यक्ष राजकुमार राईलाई भेटे । राईले पनि त्यही कुरा दोहोर्‍याए, ‘यो नाम राखेर फिल्म बनाउन मिल्दैन ।’

किन मिल्दैन ? भनेर प्रश्न गर्दाचाहिँ राईले जवाफ दिन सकेनन् । आफू नेपालको कानुनअनुसार चल्ने भन्दै पाण्डे नामै नदिनु बोर्डको गैरजिम्मेवारीपन भएको बताउँछन् । जब कि नेपालको कानुनले जुनसुकै नाममा फिल्म बनाउने छुट दिएको छ । विकास बोर्ड त्यही संस्था हो जसले अङ्ग्रेजी र हिन्दी मिसिएका कतिपय नाममा फिल्म बनाउने अनुमति दिएको छ । कतिपय फिल्मको नाम नेपाली समाजमा पाच्य नहुने खालको पनि छ ।