‘म राप्रपा नेपाल प्रवेश गरेको छैन’ : राप्रपा नेता गौचन

‘म राप्रपा नेपाल प्रवेश गरेको छैन’ : राप्रपा नेता गौचन


राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता जगत प्रसाद गौचनले आफू राप्रपा नेपाल प्रवेश गरेको भनी पत्रपत्रिमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै समाचारको खण्डन गरेका छन् । घटना र विचार साप्ताहिकको ०७२ चैत १२ बुधबारको अङ्कमा ‘नेतृत्वमा अड्कियो राप्रपाको एकता’ शीर्षकमा प्रकाशित समाचारमा उल्लेख भएको ‘राप्रपाका जगत गौचनलगायत केही प्रभावशाली नेता–कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेको बुझिएको’ भन्ने पंक्तिले आफ्नो पार्टीका साथै आम सुभेच्छुक तथा नेपाली जनतामा भ्रम पैदा गरेको भन्दै नेता गौचनले आपत्ति जनाएका हुन् ।
jagat-gauchan
एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै आफूले सदा निष्ठाको राजनीति गर्दै आएको र जथाभावी दल बदल्ने मुसा प्रवृत्तिबाट आफू अछुतो रहेको जनाएका छन् । विज्ञप्तिमा उनले भनेका छन्- ‘…आफूले कल्पनासम्म पनि नगरेको कुरा समाचारका रूपमा प्रकाशित हुनु र प्रकाशन हुनुअघि कुनै सोधपुछसम्म नगरिएको सन्दर्भले निष्ठाको राजनीति गरिरहेको मलाई व्यक्तिगत रूपमा निकै चोट पुगेको छ । घटना विचार जस्तो प्रतिष्ठित पत्रिकामा यसरी तथ्यरहित र भ्रमपूर्ण समाचार प्रकाशन हुनु स्वयम् यस प्रकाशन गृहको छबीमाथि पनि आँच पुग्ने विषय हो भन्ने लाग्छ । मुलुकको लागि एक सशक्त राष्ट्रवादी पार्टीको आवश्यकता परेको वर्तमान परिवेशमा राप्रपा र राप्रपा नेपालबीच एकीकरणको प्रक्रिया चल्नु अत्यन्त सकारात्मक विषय हो । पार्टी एक हुनैपर्छ भन्ने मेरो जोडदार मान्यता छ । म स्वयम् पनि व्यक्तिगत तवरबाट पार्टी एकता प्रक्रियामा संलग्न रहेको छु । तर, एउटा आस्था र निष्ठाको राजनीति गरिरहेको व्यक्तिको नाताले म मुसा प्रवृत्ति देखाएर पार्टी परिवर्तन गर्ने कुराको सख्त खिलाफमा छु । यस्तो व्यक्तिलाई सम्पर्कसम्म नगरी अर्को पार्टीमा प्रवेश गरेको भनी प्रकाशित समाचारको जोडदार खण्डन गर्दछु । उक्त समाचारले सिर्जिएको भ्रममा नपर्न म सिङ्गो पार्टी पङ्क्ति एवम् समस्त सुभेच्छुक जनमा हार्दिक आग्रह गर्दछु ।’