नेतृत्वमा अड्कियो राप्रपाको एकता

नेतृत्वमा अड्कियो राप्रपाको एकता


Rpp-Rpp-Nepal
राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीचको एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नेतृत्वको विषयमा कुरा मिल्यो भने यी दुई पार्टीहरूलाई आगामी एक महिनाभित्र एउटै रूपमा देख्न पाइनेछ । पार्टी एकीकरणका लागि विभिन्न चरणमा छलफल भइरहेको छ ।
प्राप्त जानकारीअनुसार पार्टी एकीकरणमा हुनुपर्ने सम्पूर्ण कुराहरूको अध्ययनसहितको प्रतिवेदन पेस गर्न राप्रपा र राप्रपा नेपालबीच गठन भएको ६ सदस्यीय कार्यदलले तीव्रताका साथ काम गरिरहेको छ । कार्यदलमा राप्रपाका तर्फबाट प्रवक्ता ठाकुर शर्मा, भुवन पाठक र किरण गिरी सदस्य रहेका छन् भने राप्रपा नेपालका तर्फबाट महामन्त्री राजेन्द्र लिङ्देन तथा उपाध्यक्षहरू धवलशमशेर राणा र नीरञ्जन थापा रहेका छन् । दुई पक्षबीचको एकता प्रक्रिया सकारात्मक दिशामा रहेको राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनले घटना र विचारलाई बताए । राप्रपा नेता बुद्धिमान तामाङका अनुसार सैद्धान्तिक कुरामा सहमति भइसकेको छ । कार्यदलको प्रतिवेदनपछि चाँडै नै एकता प्रक्रिया अगाडि बढ्नेछ ।

एकीकरणमा सैद्धान्तिक मतभेद कम र नेतृत्वसम्बन्धी विवाद प्रधान हुने देखिएको छ । राप्रपा नेपालले राजतन्त्र र हिन्दू राष्ट्र मान्नुपर्ने प्रस्ताव राखेकोमा अर्को पक्ष राजतन्त्र पुनर्वहालीको पक्षमा सकारात्मक नभएकोले महाधिवेशनले टुङ्गो लगाउने गरी यो विषय थाँती राखिएको छ । पार्टी नेतृत्वका लागि कमल थापाले नछोड्ने मानसिकता बनाएका छन् भने अर्को पक्षले लोकेन्द्रबहादुर चन्दलाई अध्यक्ष बनाउनुपर्ने दाबी गरिरहेको छ । नेतृत्वसम्बन्धी विवाद मिलाउनमै केही समय लाग्ने देखिन्छ । अर्को एक सूत्रका अनुसार दुवै पक्षबीच पार्टी एकता नचाहनेहरू पनि निकै सक्रिय भएका छन् । राप्रपा नेता तथा मन्त्री दीपक बोहरालगायत केही नेता पार्टी एकीकरणका पक्षमा देखिएका छैनन् ।