पहिलो दक्षिण एसियाली महिला बास्केटबल नेपालमा

पहिलो दक्षिण एसियाली महिला बास्केटबल नेपालमा


Women basketball team
पहिलो दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगिता यही चैत १६ देखि २० गते सम्म काठमाडौँमा आयोजना हुने भएको छ । प्रतियोगितामा दक्षिण एसियाका पाँच राष्ट्रका टोलीले भाग लिने छन् । नेपाल बास्केटबल सङ्घको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित बङ्गलादेश, भुटान, श्रीलङ्का र माल्दिभ्सले भाग लिनेछन् । तर, दक्षिण एसियाका दुई महत्वपूर्ण मुलुक भारत र पाकिस्तानले भने आन्तरिक कारण देखाउँदै प्रतियोगितामा भाग नलिने भएका बताइएको छ ।

प्रतियोगिताबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष लामा टेन्डी शेर्पाले यसअघि एसियास्तरको मात्र महिला बास्केटबल हुने गरेकोे जानकारी दिँदै दक्षिण एसिया क्षेत्रमा भएको पहिलो प्रतियोगिता नेपालले आयोजना गर्न पाउनु गर्वको कुरा भएको बताए । सञ्चारकर्मीसामु टोलीकी कप्तान सदिना श्रेष्ठले राम्रो खेलेर जसरी भए पनि घरमै उपाधि राख्ने प्रतिबद्धता व्यक्त गरिन् ।

यसैबीच मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोली शुक्रबारमलेसिया प्रस्थान गरेको छ । मलेसियाको २२ वर्षमुनिको राष्ट्रिय टोली (यु–२२)सँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली राष्ट्रिय फुटबल टोली त्यसतर्फ प्रस्थान गरेको हो । यही चैत १४ गते हुने खेलका लागि २३ खेलाडी र आठ पदाधिकारीसहितको टोली मलेसियाका लागि उडेको छन् । टोलीमा विकेश कुथु, विशाल श्रेष्ठ र किरणकुमार लिम्बू, विजय धिमाल, विराज महर्जन, देवेन्द्र तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, कमल श्रेष्ठ, मनबहादुर तामाङ, रवीन श्रेष्ठ, रञ्जीत धिमाल छन् । त्यस्तै, अन्य खेलाडीमा विशाल राई, हेमन गुरुङ, जगजीत श्रेष्ठ, प्रकाश बुढाथोकी, सुजल श्रेष्ठ र सुनिल बल, भरत खवास, विश्वास श्रेष्ठ, नवगुग श्रेष्ठ, रञ्जन विष्ट र सुमन लामा छन् । मुख्य प्रशिक्षक जापानी नागरिक ग्योउतोकु कोजी, प्रशिक्षक विराटजङ्ग शाहीलगायत पनि मलेसिया प्रस्थान गर्ने टोलीमा रहेका छन् ।