पर्सामा जल्यो प्रचण्डको पुत्ला

पर्सामा जल्यो प्रचण्डको पुत्ला


prachanda in Parsa-Mahotsab

व्यापार मेला उद्घाटनका लागि शुक्रबार वीरगञ्ज पुगेका एमाओवादी अध्यक्ष प्रचण्डको पुत्ला जलाएर विरोध गरिएको छ । संघीय समावेशी मधेशी युवा गठबन्धन पर्साले पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डको पुतला जलाएको हो । गठबन्धन पर्साका संयोजक ईश्वर यादवको नेतृत्वमा वीरगंजको मुख्य चोक घण्टाघरमा प्रचण्डको पुतला जलाउँदै गठबन्धनका नेता एवं कार्यकर्ताहरूले मधेशी एकता जिन्दावाद, मधेश विरोधी संविधान खारेज गर, मधेश विरोधी होसियार, वीर शहिद अमर रहे जस्ता नारा लगाएका थिए ।

घण्टाघरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै गठबन्धनका संयोजक यादवले सरकारका मन्त्री र प्रमुख दलका नेताहरूले मधेशको जिल्लामा सभा सम्मेलन गरेर रक्तपात मचाउन खोजेको आरोप लगाउदै बिगत साढे सात महिनादेखि जारी अधिकार र पहिचानको शान्तिपूर्ण आन्दोलनलाई सम्बोधनको सट्टा तुहाउने कार्यमा लागेको बताएका थिए । गठबन्धन पर्साका सल्लाहकार एवं युवा नेता ओमप्रकाश सर्राफले जारी मधेश आन्दोलनको मर्म र भावना विपरीत गएर सभा सम्मेलन नगर्न आग्रह गर्दै मधेशी जनताको भावना विपरित बोल्ने प्रमुख दलका शिर्ष नेताहरूलाई मधेसमा बहिष्कार गर्न आहवान गरे ।

यसै क्रममा मेला उद्घाटन गर्न पुगेका प्रचण्डले चाहिँ राष्ट्र निर्माण गर्ने बेला विरोधका लागि मात्र विरोध गर्ने परिपाटी अन्त्य गर्न सबै राजनीतिक दललाई आग्रह गरेका छन् । दोस्रो वीरगन्ज महोत्सव व्यपार मेला २०७२ को शुक्रबार उद्घाटन गर्दै उनले मुलुक बनाउन र नेपाली जनताले चाहेको आर्थिक उन्नति हासिल गर्न सबै राजनीतिक दल एक हुनाको विकलप नभएको बताए ।

आन्दोलनरत मधेसी मोर्चालाई आन्दोलन छाडी वार्ता र संवादका माध्यमले रानीतिक संयन्त्रको मद्दतबाट सीमाङ्कन लगायत विषय समाधान गरी राष्ट्र निर्माणमा सहभागी हुन उनले आग्रह गरे । चीन भ्रमणमा रहेका प्रधानमन्त्री स्वदेश फर्किएलगत्तै मधेस आन्दोलनबाट उठेका सीमाङ्कन लगायत मागलाई सक्दो चाँडो सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता प्रचण्डले जनाए ।