सगरमाथा आरोहणको कीर्तिमान राख्ने जेष्ठनागरिक मीनबहादुरको तयारी

सगरमाथा आरोहणको कीर्तिमान राख्ने जेष्ठनागरिक मीनबहादुरको तयारी


मीनबहादुर शेरचन
सगरमाथा चढ्ने विश्वकै सर्वाधिक जेष्ठनागरिकको रुपमा कीर्तिमान बनाउन करिव एक वर्षअघि नै सगरमाथा आरोहण थाले पनि वैशाख १२ को भूकम्पका कारण आरोहण स्थगित गरेका म्याग्दी भुरुङ तातोपानीका ८५ वर्षीय पूर्व गोरखा सैनिक पुनः विश्वको सर्वौच्च शिखर सगरमाथा चढ्ने तयारीमा लाग्नुभएको छ । ज्येष्ठ नागरिकमध्येबाट सगरमाथा आरोहण गरी आफ्नो विश्व कीर्तिमान पुनः कायम गराउन लाग्नुभएका शेरचन यसअघि २०६५ जेठ १२ मा ७८ वर्षको उमेरमा सबभन्दा बढी उमेरका नागरिकका तर्फबाट पहिलोपटक शिखर चुम्न सफल भई ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’ मा नाम लेखाउन सफल भएका व्यक्तित्व हुनुहुन्छ ।

उहाँले त्यसरी रेकर्ड कायम गरेपनि पछि ८० वर्षीय जापानी नागरिक युचिरो मिउराले सो रेकर्ड तोडेपछि अहिले पुनः रेकर्ड कायम गर्न उहाँ शेरचन सगरमाथा चढ्न लाग्नुभएको हो । सगरमाथा आरोहणमा होमिएका शेरचनको अभियानलाई सफल बनाउन प्रवासमा रहेका म्याग्देलीले सहयोग जुटाउन थालेका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) युकेले पत्रकार सम्मेलन गरी शेरचनको अभियानमा सहयोग गर्न सबैलाई आह्वानसमेत गरेको छ ।

त्यस्तै मोना युकेले संस्थाका सल्लाहकार तथा मगर सङ्घ युकेका कोषाध्यक्ष तेज राम्जाली पुन मगरको संयोजकत्वमा एक सहयोग समिति समेत गठन गरेको जनाएको छ । यस्तै, उहाँको आरोहणलाई सफल बनाउन नेपालमा पनि समिति गठन गरिने र मोनाको शाखा रहेका विभिन्न मुलुकमा पनि समिति बनाइने संयोजक राम्जालीले जानकारी दिएका छन् ।