हावाहुरीले छेक्यो ह्यारीको बाटो

हावाहुरीले छेक्यो ह्यारीको बाटो


भूकम्पका कारण भत्किएका विद्यालय भवन निर्माणमा सघाउन गोरखामा रहेका बेलायतका राजकुमार ह्यारी सोमबार साँझको हावाहुरीका कारण राजधानी आउनबाट रोकिएका छन् । उत्तरी गोरखाको लापु–३ स्थित प्रभातकिरण माध्यमिक विद्यालयको भवन पुनःनिर्माणमा विगत चार दिनदेखि श्रमदान गर्दै आएका राजकुमार ह्यारी सोमबार राजधानी फर्कने कार्यक्रम भए पनि मौसममा आएको खराबीले गर्दा राजधानी फर्कन नपाएका हुन् । राजकुमार ह्यारी हेलिकोप्टर चढेर राजधानी फर्कने कार्यक्रम थियो ।

गोरखाको लापु गाविस क्षेत्रमा दुई दिनदेखि राम्रोसँग घाम नलागेको र सोमबार दिउँसोदेखि हावाहुरीसहित वर्षा भएकाले हेलिकोप्टर उडानमा समस्या देखिएको थियो। विद्यालयका प्रधानाध्यापक जीव गुरुङका अनुसार सोमबार राजकुमार ह्यारीले पुनःनिर्माणको काम पनि गर्न पाएनन् । काठमाडौं फर्किन बाधा पुगेपछि उनले स्थानीय विद्यालयका छात्रछात्रासँग भेटघाट गरी समय गुजारेका थिए ।
Prince Harry