युवा राजनीतिज्ञ राजेन्द्र लिङ्देन भन्छन्– आरक्षणले आगो लगाउँदै छ

युवा राजनीतिज्ञ राजेन्द्र लिङ्देन भन्छन्– आरक्षणले आगो लगाउँदै छ


Rahendra Lingden
‘म पहाडमा कोदो खान नपाएर धानको भात खान मधेश झरेको लिम्बूको छोरा हुँ । अहिले मेरो अन्य सरदर मानिसभन्दा ठूलो आर्थिक कारोबार होला, व्यापार–व्यवसाय गरेको हुँला, बैंकको ऋण होला र सोहीअनुरूप मेरा समस्या पनि होलान् । मेरो कारोबार एक्लैले चलाउन सम्भव नभएपछि अन्य सहयोगी पनि छन् । मेरो गोठमा गाईवस्तु स्याहार्ने, मेरो भान्सामा सघाउने पराजुली बाहुनका श्रीमान्–श्रीमती छन् । जनजाति भएका नाताले राज्यले मलाई अनेक कुरामा सुविधा र आरक्षण प्रदान गरेको छ, मेरा छोराछोरीले भोलि त्यो आरक्षण खोजे भने पढ्नेदेखि लिएर लोकसेवा भिड्नेसम्म सुविधा प्राप्त गर्छन् । तर, मेरो घरमा काम गर्ने पराजुलीचाहिँ त्यो सुविधाबाट वञ्चित छ,’ यति बोलिसकेपछि राजेन्द्र लिङदेनले प्रश्न गर्नुभयो, ‘यस्तो व्यवस्था पनि व्यावहारिक हुन्छ ? यसले मुलुकका समस्या समाधान होइन, उल्टै एक दिन आगो लगाउँछ ।’

गत बिहीबार राजेन्द्र लिङ्देन घटना र विचारसँग कुराकानी गर्दै हुनुहुन्थ्यो । राप्रपा नेपालको महामन्त्री रहनुभएका लिङ्देन पृथक् तर स्पष्ट र राष्ट्रवादी दृष्टिकोणका कारण चर्चित हुनुहुन्छ । उहाँको भनाइ छ, ‘काङ्ग्ेरस, एमाले र माओवादीसमेत मिलेर जुन प्रकारले राज्यमा जातीय आरक्षणको व्यवस्था गरिएको छ, यसले देशलाई भित्रभित्रै जलाउने काम गरिरहेको छ । भविष्यमा देश जलाउने र भत्काउने मुख्य कारक नै यही जातीय आरक्षण हुनेछ ।’ जातीय आरक्षणलाई संविधानप्रतिकूल अवधारणा मान्नुहुने नेता राजेन्द्र लिङ्देनले भन्नुभयो, ‘कसैलाई जात, वर्ण, धर्म, लिङ्गको आधारमा भेदभाव गरिनेछैन भनेर संविधानमा लेखिएको छ, भाषणमा भन्ने गरिन्छ, अनि राज्यबाट प्रदान गरिने सेवा–सुविधाचाहिँ जातको आधारमा दिने ? एउटा जातिले पाउने, अर्कोले हेरेर बस्ने † आजको युगमा यस्तो व्यवस्था हुनसक्छ ?’

नेपाल हिन्दूराष्ट्रका रूपमा रहिरहनुपर्छ भन्नेमा आफ्नो दृढ अडान रहेको स्पष्ट गर्दै लिङ्देनले भन्नुभयो, ‘हिन्दूराष्ट्र हामी समस्त नेपाली जनताको एकता र पहिचानसँग सम्बन्धित विषय हो । धर्मनिरपेक्षतापछि धार्मिक स्वतन्त्रताको नाममा आज यो देशमा मुसलमान दाजुभाइ अपहेलित भएका छन् । धार्मिक स्वतन्त्रताको नाममा धर्म परिवर्तन गर्ने छुट दिइँदा त्यसले किराँत, बुद्धजस्ता अल्पसङ्ख्यक धर्म यहाँ समाप्तिको दिशामा गइरहेका छन् ।’ सङ्घीय प्रणालीमा जाँदा पर्ने प्रभाव देशको शान्ति, समृद्धि र स्थायित्वको निम्ति खतरनाक रहने राजेन्द्रको भनाइ छ । भविष्यमा टोलटोलमा भेटिने मन्त्रीहरूलाई कसरी पाल्न सकिएला भनी चिन्ता गर्नुहुने उहाँले भन्नुभयो, ‘अहिले भएकै मन्त्रीहरूलाई देशले थेग्न सकेको छैन भने सङ्घीयतापछि टोलटोलमा बन्ने मन्त्रीहरूलाई कसले पाल्ने ? पाल्ने कुरा त परै रह्यो, अहिले हेर्दा केन्द्रमा एउटा सक्षम मन्त्री दिनसक्ने ताकत पनि मै हँु भन्ने राजनीतिक दलहरूसँग रहेनछ । एक–दुई मन्त्रालयबाहेक जुनमा हेर्दा पनि भद्रगोल छ । मन्त्रीहरूलाई आफ्नै मन्त्रालयको विषयवस्तु र कार्यबारे ज्ञान छैन । केन्द्रीय स्तरमा त साँच्चै मन्त्री हुने योग्यताका मानिसको यस्तो खडेरी छ भने भोलि टोल–टोलमा मन्त्री बनाउनुपर्दा हालत के हुन्छ ?’

धर्मनिरपेक्षता, जातीय आरक्षण, सङ्घीयता र गणतन्त्रप्रति पूर्ण रूपले असहमत तपाईंहरू धर्मनिरपेक्षतासहितको सङ्घीय गणतन्त्र स्थापना गर्न मुख्य भूमिका निर्वाह गर्नेहरूसँग मिलेर सरकारमा सामेल हुनुभएको छ भनी प्रश्न गर्दा लिङ्देनले प्रस्टीकरण दिँदै भन्नुभयो, ‘हामीले गणतन्त्र मान्ने, सङ्घीयता मान्ने, धर्मनिरपेक्षतालाई मान्ने भन्ने कुरामा कहीँकतै हस्ताक्षर गरेका छैनौँ । र, यो सरकारमा बस्नेले ती कुराहरू मान्नैपर्छ भनियो भने हामी दुई मिनेटमै यो सरकार छोडिदिनेछौँ ।’ सरकारमा सहभागिता जनाउनुको मुख्य कारण बेग्लै भएको बताउँदै उहाँले भन्नुभयो, ‘एउटा खेल हामीले हार्‍यौँ, यो सार्वजनिक छ, तर हामी अर्को खेलको तयारीमा लागेका छौँ । हिजो हामी कहाँनेर चुक्यौँ, कहाँ कमजोरी भयो, त्यो सच्याएर आगामी खेल जित्ने तयारीमा छौँ, आगामी खेलमा हामीलाई प्रतिबन्ध लागेको छैन ।’ यसरी आफ्ना कुरा इमानदारीसाथ प्रस्तुत गरेपछि हामीले राजेन्द्र लिङ्देनसमक्ष जिज्ञाशा राख्यौँ, ‘कमल थापाजी पनि तपाईंजत्तिकै इमानदार हुनुहोला त ?’

(विस्तृत संवाद अन्तरविचार कोलममा)