गतिशील र चुस्त कांग्रेसको चाहना

गतिशील र चुस्त कांग्रेसको चाहना


Rajrndra Pathak 2
राजेन्द्रप्रसाद पाठक

हालै सम्पन्न नेपाली कांग्रेसको १३औँ अधिवेशनले दिलाएको परिणामसँगै पार्टीलगायत व्यक्तिविशेषमा समेत आगामी दिनमा हुनुपर्ने सम्भाव्य परिवर्तन र त्यस परिणामबाट प्राप्त सफलता जनस्तरसम्म पुग्न सक्ने हो वा होइन त्यो हेर्न नै बाँकी छ । तर, जनता र कार्यकर्ताले चाहिँ अत्यन्त भरोसा गरेका छन् । यो जनचाहना पूरा हुने–नहुने त प्रतीक्षाकै विषय छ । पटकपटकको व्यवस्था परिवर्तन र त्यसका लागि जनस्तरबाट देखाइएको अदम्य साहस एवम् नेतृत्वप्रतिको भरोसा यतिबेलासम्म पार्टी तथा नेतृत्वबाट उल्लेख्य रूपमा पूरा हुन सकेको छैन । व्यवस्था र शासकीय व्यवहारकै कारण देश विकास हुनमा बाधक बन्न गएको हो भन्ने जनविश्वासले नै यतिका ठूला परिवर्तनहरू सम्पन्न भए । तर, शासकीय परिवर्तनले मात्र सामाजिक र आर्थिक परिवर्तन सम्भव नहुने रहेछ भन्ने कुरा चौतर्फी रूपमा महसुस भइरहेको अवस्थामा देशकै अत्यन्त पुरानो र ठूलो पार्टीविशेषको नेतृत्व परिवर्तन, नेतृत्वले प्राप्त गर्ने नयाँ जिम्मेवारी वा थपिएको भारलाई उच्च ओहोदामा बस्नेबाट कसरी बहन गर्न सक्नेछ भन्ने थप प्रश्न जनमानसमा उब्जिनु स्वाभाविक विषय हो ।

देशभित्र मात्र होइन वैदेशिक र अन्तर्राष्ट्रिय दृष्टिकोणसमेत नयाँ नेतृत्वमाथि परिरहेको अवस्थामा आगामी दिनमा पार्टीभित्र देखापर्ने गतिशीलता र त्यसले समाज तथा जनताप्रति पार्ने प्रभावले समाजको मनोबल बढाउने खालको लक्षण देखापरोस् भन्ने सबैको धारणा रहिआएको छ । पार्टीभित्रका आन्तरिक लोकतन्त्रलगायत देशले प्राप्त गरेको राजनीतिक परिणामले प्रस्तुत गर्ने लोकतान्त्रिक व्यवहार जनतासम्म पुर्‍याउन सक्नु आजको मूल आवश्यकता हो । वास्तवमा लोकतन्त्रले प्रदान गर्ने गुलियो फल जनताले चाख्न पाएका छैनन् । मात्रै दलमाथि लगाइएको बन्देजमा फुकुवा भएको अनुभूति मात्र भइरहेको आजको अवस्थामा साँच्चीकै जनता प्रजातन्त्र र स्वतन्त्रताको फल चाख्न आतुर रहेको महसुस गर्न सकिन्छ ।

२१औँ शताब्दीको अन्तर्राष्ट्रियस्तरको विकास तथा समृद्धि देश र समाजले प्राप्त गर्न सक्नु आजको मूल आवश्यकता हो । देश विकास गर्न सक्षम युवा समुदायलाई उपयुक्त रोजगारीको सिर्जना गरेर कि त देश विकासमा संलग्न गराउन सक्नुपर्छ । होइन भने क्षमताअनुसारको उचित आम्दानी दिलाउने हेतुले विश्वव्यापी रोजगारीको अवसर स्वयम् सरकारबाट नै दिलाउन सक्दा विश्व–श्रमबजारबाट सङ्कलन हुने बृहत् पुँजीलाई पुन: स्वदेशमा लगानी गर्न–गराउन सक्दा युवाहरूको ऊर्जाशील समय सडकमा भौँतारिएर समाप्त हुने थिएन । प्राइभेट स्तरबाट सिर्जना भएको वैदेशिक रोजगारीको अवसरलाई हेर्दा आम्दानीभन्दा आर्थिक विकृति बढी भइरहेको अनुभूति गर्न सकिन्छ । छिटफुट रोजगारदाता कम्पनीलाई छोडेर समग्रमा हेर्ने हो भने आर्थिक अपचलन र सामाजिक विखण्डनलाई बढावा दिइरहेको देखिएको छ भन्दा फरक नपर्ला । कोरिया, जापानलगायतको श्रमबजारमा प्राप्त हुने ज्याला सरकारीस्तरबाटै तोकिएको छ । लागतसमेत सस्तो भएको र आम्दानी बढी हुने भएका कारण त्यस्तो श्रमबजारमा श्रम बिक्री गर्न युवा लालयित भएका छन् । यस्ता विकसित देशका बजारमा आफ्ना बेरोजगार, सिपालु या दक्ष जनशक्तिलाई सरकारी तवरबाट व्यवस्थापन गर्न सकियो भने छोटो समयमा ठूलै पुँजी सङ्कलन हुन सक्दछ । त्यसपछि फर्किएका सीप र पुँजीसहितका कामदारले पुन: देशभित्रै औद्योगिक रोजगारी सिर्जना गर्नसक्ने थिए ।

हाम्रा युवाहरूको ऊर्जाशील समय मात्रै राजनीतिक बहसमा चियापसल र सडकमा भौँतारिँदैमा समाप्त भइरहेको छ । माथि उल्लेखित विषय राजनीतिक नेतृत्वले समेट्दै जानुपर्ने आर्थिक रणनीतिक विषयहरू हुन् । कि त सरकारले रोजगारी देऊ कि सरकारीस्तरको उचित ज्यालामा श्रमिकलाई विश्व श्रमबजारमा सप्लाई गर, यो नै युवाको माग हो । विकासको पूर्वाधारका रूपमा देखिएको बिजुली र सडक सञ्जाल जबसम्म देशमा हुँदैन तबसम्म विकासको भाषण गर्नु र कल्पना गर्नु व्यर्थ सावित हुन जानेछ । जनता विकास र परिवर्तनको प्यासले सताइएका छन् । जेनतेन छुट्याइएको विकास बजेट राजनीतिक खिचातानीका कारण पूर्ण रूपमा खर्च भइरहेको छैन । भएका पनि देखावटी रूपमै मात्र ठेकेदार र दलीय भागबन्डामा सीमित हुन पुगेको यथार्थ लुकेको छैन ।
अनियमितता र घुसखोरी समाजको महारोग हो । यो दिन दुईगुणा रात चौगुणा फैलिरहेको छ । भँगेरालाई कनिका छरेकोजस्तो भोट–राजनीतिले अभिप्ेररित भएर वितरण हुने बजेट अर्को घातक विष सिद्ध भएको छ । समाजका लागि सुरु भएको योजना सम्पन्न गर्नेतर्फभन्दा नयाँ–नयाँ भोटबैंक सुरक्षित गर्ने हेतुले निर्माण भएको योजनामा बजेट छरिनु अर्को विडम्बना हो । वृक्षारोपण मात्र ठूलो होइन रोपिएका वृक्षलाई हुर्काउनु अर्को ठूलो चुनौती हो ।

दल र सङ्गठनको विकासको नाममा विकृति सिर्जना भइरहेको छ । यस्ता संस्थाहरू पूर्णरूपेण सामाजिक संस्थाका रूपमा खडा हुन सकिरहेका छैनन् । राजनीति विशुद्ध सामाजिक विकासका लागि सिद्ध हुनुपर्दछ । यसै सन्दर्भमा देशकै सबैभन्दा पुरानो इतिहाससम्पन्न लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको सम्पन्न १३औँ महाधिवेशनले चुनेको नयाँ नेतृत्वले कम्तीमा आफ्नो दल र भ्रातृ सङ्गठनलाई चुस्तदुरुस्त बनाउँदै नयाँ रक्तसञ्चार गर्न सकोस् भन्ने आमप्रजातन्त्रवादीको चाहना हो । आफ्नो संस्थाभित्र विशुद्ध सामाजिक सेवाको भाव सञ्चार गर्न सकोस् । देश र जनताका हितका लागि सङ्गठनको परिचालन गर्न सकोस् । गतिशील नेतृत्वको सिर्जना र विकास गर्न सकोस् । सङ्कीर्णतालाई चिर्दै उदार चित्त र भावले देश विकासका युवालाई प्ेररित गर्न सकोस् । लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गर्ने जुन भरोसाको दल बन्न सक्षम होस् । ता कि कांग्रेसको लोकतान्त्रिक आचरण र व्यवहारको सिको अन्य दल र सङ्गठनले समेत गर्न सकून् ।

देश र समाजको उच्चतम् व्यवस्थापकीय भूमिकामा कांग्रेस अग्रपङ्क्तिमा रहेको हेर्न जनता आतुर देखिन्छन् । लोकतान्त्रिक दलमाथिको भरोसा त्यतिबेला साबित हुन्छ जतिबेला जनता सुखी र समयानुकूल गतिशील हुन्छन् । सुदूरपश्चिमको विकट गाउँदेखि राजधानीको सिंहदरबारसम्म आइपुग्दाको देउवाजीको अनुभव देश र जनस्तरसम्मको विकासका लागि अत्यन्तै ठूलो र महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुने नै छ । झन्डै एक दशकदेखि शिथिल अवस्थामा रहेका भ्रातृ सङ्गठनहरूको अधिवेशन ६ महिनाभित्र गराएर त्यस्ता राजनीतिक–सामाजिक सङ्गठनहरूलाई गतिशीलता प्रदान गर्दै देश र समाजको विकासमा तल्लीन गराउन सभापति देउवाले वचन त दिइसकेका छन्, तर व्यवहारमा देखिन बाँकी नै छ । बल्लतल्ल १२ वर्षमा फर्किएको खोलो देश विकासका लागि सिञ्चित होस्, सिँचाइका लागि लागू हुनुपर्ने कुलो कतै भङ्गालोमा परिणत भयो भने जनता र कार्यकर्ताको मनोभावनामा ठेस लाग्नेछ ।

कार्टेलिङ र कालाबजारीले ग्रसित देशको अर्थतन्त्र सहज बनाउन कांग्रेसले नयाँ जिम्मेवार नेताहरूबाट अगुवाइको भूमिका निर्वाह हुने कुरामा जनता विश्वस्त देखिन्छन् । निर्वाचनपछि पूर्ण हुने मनोनीत केन्द्रीय समितिलगायत विभिन्न विभागमा उत्साही र ऊर्जाशील युवाहरूको सहभागिता पार्टीका लागि गतिशीलता प्रदान गर्ने अर्को विकल्प हुनेछ । त्यसैले मनोनयनमा समेत मनग्य मन्थनसहित आएको परिणामलाई लागू गर्न सक्नु अर्को चुनौती हो । दबाब र प्रभावबाट भन्दा व्यावहारिक रूपमा ‘स्वस्फुर्त चलायमान भएकाहरूको उपस्थिति उपयुक्त हुन्छ । छिमेकी देश र अन्तर्राष्ट्रियस्तरमा समन्वयात्मक भूमिका निर्वाह गर्न सक्ने खालका छनोट गर्न सक्नु सभापति देउवाका लागि अपरिहार्य विषय हो । इच्छा भएका र उत्साहीलाई उचित भूमिकामा राख्न सकियो भने पार्टीको गतिशीलतामा अझ चुस्तपन थपिन सक्छ । कांग्रेस देशकै लोकतान्त्रिक जनस्तरको पार्टी बन्नमा सभापति देउवालगायत उनको नवनिर्वाचित टिमको भूमिका अत्यन्त महत्त्वपूर्ण रहनेछ । सभापति देउवाको सफल कार्यकालको निम्ति शुभकामना ।