घरजम बसाल्दै विपासा

घरजम बसाल्दै विपासा


जोन अब्राहमसँगको प्रेममा दह्रिलो झट्का पाएपछि गम्भीर बन्न पुगेकी वलिवुड एक्ट्रेस विपासा बसु निकै समय सामान्य अवस्थामा फर्किन सकिनन् । प्रेमवियोगककै कारण अभिनय यात्रामै पूर्णविराम लगाउने सोचसमेत विपासाले बनाइन् । तर, सिनेमाको रङ्गीन संसारमा डुबेपछि त्यत्तिकै बाहिर निस्कन सहज थिएन, विपासाको हकमा पनि भयो त्यस्तै । विस्तारै उनी काममा फर्किइन्, पार्टीहरूमा सहभागी हुन थालिन् । विपासाको दिलको चोटमा खाटा बस्दै गयो । उनका पछिल्ला फिल्म पनि तुलनात्मक रूपमा सफल हुँदै गयो । कुरा यतिमा सीमित रहेन । विपासाको जीवनमा मायालु प्रेमी बनेर आकर्षक व्यक्तित्वका धनी करण ग्रोवरले प्रवेश गरे । पहिलो प्रेममा धोका पाएकी विपासा निकै सजग थिइन्, आफ्नो नयाँ सम्बन्धलाई उनले सक्दो गोप्य राख्न खोजिन् । करण पनि आफ्नो सम्बन्धका बारेमा बाहिर त्यति खुल्दैनथे । अन्तत: करण र विपासाको जोडी आगामी महिना विवाहबन्धनमा बाँधिने निचोडमा पुगेका छन् ।
bipasha-Karan
विवाहको बेला विपासाले परम्परागत बंगाली पोशाक पहिरिने र मुम्बईको एक महँगो होटलमा भव्य वैवाहिक समारोह आयोजना गरिनेसम्मको तयारी भइसकेको बुझिएबाट विपासा अबचाहिँ घरजम गरेर जीवनको नयाँ मोडमा प्रवेश गर्ने निश्चित ठानिएको छ । त्यसो त करणकी आमाले विपासालाई बुहारी स्वीकार नगर्ने हल्ला पनि यसबीच चलेको छ, तर यसअघि दुई–दुईवटा विवाह असफल भई विपासासँग तेस्रो घरजम गर्न लागेका करणले नै आफ्नी आमालाई मनाउने जिम्मेवारी लिएबाट विपासाको प्रेमपासोमा उनी कति डुबेका रहेछन् भन्ने सहज अनुमान लगाउन सकिन्छ ।