यूरोप भ्रमणका रमाइला अनुभूतिहरु..-भाग २)

यूरोप भ्रमणका रमाइला अनुभूतिहरु..-भाग २)


१८ मार्च २०११को साँझपख हामी पेरिसको स्तालिनग्राददेखि केहीपर पूर्वपट्टि अवस्थित फोरेस्टहिल होटलमा आइपुग्यौंं । भ्रमण तालिकाअनुसार यस होटलमा हामीले २ रात बिताउनु थियो । पेरिस शहरको क्षेत्रभित्र प्रवेश गर्ने बित्तिकै टूर गाइड, समीले पेरिसबारे सँक्षिप्त जानकारी दिएकी थिईन् र बेलुकिको डिनरपछि होटलको नजिकको सेक्रेच्योर गिर्जाघर र त्यस क्षेत्रबाट छेउमा पर्ने पेरिसको रेडलाइट क्षेत्र हेर्न चाहनेहरुलाई साढे सात बजे तैयार भएर होटलको रिसेप्सन एरियामा भेट्ने कुरा भनेकी थिईन् । आकाशमा बादल र अलिअलि पानीका छिंटाहरु बेलाबेलामा हावासँगै गालाहरुमा सुम्सुम्याइरहेका अनुभूति भइरहेको थियो । मैले पेरिस शहरको बारेमा धेरै सुनेको र पढेको थिएँ । आज पेरिस हेर्ने रहर पूरा भइरहेको थियो । तर, बेलुकि अलिअलि सिमसिम पानी परिरहेको हुनाले अलि असहज महशुस भइरहेको थियो, फेरि पनि पेरिस शहर घुम्ने प्रबल इच्छा र पेरिस बसाइको छोटो समयलाई विचार गरेर म र बुरिया दुबै खाना खाएर रिसेप्सनमा ठीक समयमा पुग्यौं । विशाल पेरिस शहर एकैदिनमा घुमेर सक्ने कुरा नै थिएन । हाम्रो भ्रमणतालिकाअनुसार १९ मार्चको पूरा दिन पेरिस शहर घुम्ने त्यसपछि २० मार्चको दिनमा दक्षिण फ्रान्सको विख्यात वाइन बनाउने बर्गन्दिक्षेत्र हुँदै साँझ मेकोन शहरमा वास बस्ने रहेको थियो ।

२००० वर्षदेखिको इतिहास बोकेका भवनहरु, प्रेमीहरुको शहर, कला सँस्कृतिको अद्भूत सँगम, व्यापार वाणिज्य, राजनीतिक तथा सँसारको महत्वपूर्ण क्रियाकलापहरुको राजधानी पेरिस शहर हो । सँसारका प्रभावशाली प्रमुख तीनवटा शहरमध्येका एउटा शहर पनि पेरिस शहर हो । सेइन नदीको किनारामा बसेका यस शहरका फ्रेन्चवासीहरुले सन् १९४०मा, दोस्रो विश्वयुद्धताका जर्मनीको प्रभुत्व लडाइ नलडिकन स्वीकार्नु परेको थियो । यो सुन्दर शहरलाई पछि मित्रराष्ट्रहरुले जर्मनीको पञ्जाबाट मुक्त गरेको थियो । जर्मनी पछि हट्दै जाँदा, हिट्लरले त्यहाँका सुन्दर भौतिक सँरचनाहरु बमबारी गरेर ध्वंश नगर्ने आदेश दिएकाले ध्वंस हुनबाट ती सुन्दर भवनहरु र पेरिसका भौतिक सँरचनाहरु बचेका थिए । हिटलरले पेरिसलाई कब्जा गरेपछि सन् १९४०मा पेरिस आएका थिए । फ्रान्सको राजधानी पेरिस शहरमा प्रथम विश्वयुद्धको बेलादेखि नै विश्वका तत्कालीन् समयका प्रख्यात पिकासो, डाली, अमेरिकी लेखक हेमिङवे र रुसी कम्पोजर स्ट्राविन्सकी जस्ता विशिष्ट कलाकारहरु जमघट भएका थिए । कालान्तरमा विश्वभरिका कलाकारहरुले मन पर्ने विशेष शहरको रुपमा विख्यात बन्दै गयो । यस शहरका जनसँख्या सन् २००७को जनगणनाअनुसार एक करोड अठारह लाख छत्तीसहजार नौसय सत्तरी रहेको थियो भने यस नगरमा मानव बसोवासको अस्तित्व रहेको आजभन्दा साढे ६ हजार वर्षपहिलेदेखि भेटि्टएको इतिहासकारहरु बताउँछन् । इ.पूं ५२ सालमा रोमनहरुले यसनगरका क्षेत्रलगायत त्यति बेलाका गउल क्षेत्रलाई विजय गरेर रोमन साम्राज्यमा विलय गरेको थियो । लगभग चार,पाँच शताब्दी रोमन साम्राज्यमा रहेको पेरिस रोमन साम्राज्यको पतनपछि फ्रान्सेलीहरुका विभिन्न वंशजहरु तथा शासकहरुले पेरिसलाई फ्रान्सको राजधानी बनाएका थिए ।

हामी अहिले पहिलोचोटी यस सुन्दर शहरमा पुगेर साँझ केही भाग हेर्ने विचारले रिसेप्सनमा जम्मा भएर जाने तैयारीमा थियौं । अस्ट्रेलियामा जन्मेकी अंग्रेजमूलकी, २३ वर्षीया, समी कोट्स, टूरगाइड फरासिली र अलि होची कदकी थिईन् । कलिलै उमेरदेखि यस पेशामा लागेकी हुनाले लगभग युरोपका सबै भौगोलिक तथा ऐतिहासिक तथ्यहरुको जानकारी तिनलाई रहेछ । सबैजना जम्मा भएपछि, अलि फुच्ची भएकीले अलि अग्लो ठाउँमा उभिएर ….यहाँ, पेरिसमा पाकेटमारहरुको विगविगी छ, कसैले पनि ब्याक पाकेटमा वालेट नराख्नू र आफूसँग रहेको ब्यागलाई सुरक्षित राख्नू… यहाँ जिप्सीहरु र उत्तरअफि्रकी मुलुकका पेशेवार चोरहरु छन्, फलो मी (मलाई पछ्याउनुहोस्)…भनेर एउटा सानो झण्डा उठाउँदै अघि बढिन् । हामी सबै समीको पछिपछि झण्डा हेर्दै लाग्यौं । भ्रमण टोलीको समूह निकै ठूलो भएकोले समी पछि फर्केर बेलाबेलामा हेर्ने गर्थिन् । हामी नम्बर सातको मेट्रोलाइन पक्डेर स्तालिनग्राद भएर अर्को लाइनबाट आनवार्समा पुग्यौं । पेरिसमा मेट्रो रेल सञ्चालन गरेको १११ वर्ष भइसकेको रहेछ । सन् १९००मा पहिलोचोटि मेट्रो रेल पेरिसमा सञ्चालन गरेको थियो । १२ युरोमा १०वटा टिकेट पाउँदो रहेछ र एउटा टिकटले एकहोरो अन्तिम गन्तव्यसम्म जानपाईदो रहेछ । भन्नाले २ वटा टिकटले एकपल्ट पेरिसको ओहोरदोहोर गर्नमिल्दो रहेछ । यसहिसाबमा लण्डनको भन्दा पेरिसमा भाडा सस्तो रहेको मलाई लाग्यो । हामी आनवार्स रेलस्टेशनबाट माथि सेक्रेच्यौंर गिर्जाघरतर्फ लाग्यौं ।

केहीबेर पनि ढिलो नगरी हामी बासिलिका सेक्रेच्यौंर गिर्जाघरमा पुग्यौं । पानी सिमसिम पर्दै थियो । पेरिस शहरको सबैभन्दा उच्चा ठाउँमा निर्माण गरिएको यो गिर्जाघर धार्मिक तथा राजनीतिक दुइटै पक्षबाट महत्व बोकेको गिर्जाघर भएको हुनाले धेरै पर्यटकहरु यहाँ आउँदारहेछन् । यो रोमन क्याथोलिक गिर्जाघरलाई यिशु ख्रिष्टको पवित्र मुटुलाई श्रद्धाञ्ली अर्पण गर्ने विचारले निर्माण गरिएको रहेछ । सन् १८७१ पछिको फ्रान्स र प्रासियाकोबीचको युद्ध र फ्रान्सेली अन्दोलनमा सरिक सामाजिक, धार्मिक र राजनीतिक सहिष्णुतालाई मध्यनजर गरी निर्माण गरिएको बासिलिका सम्बन्धी केही विवादहरु उत्पन्न भएको थियो, तर, यसलाई गिर्जाघर अनुरुप क्याथोलिकहरुको धार्मिक स्थल बनाउनुको साथै अन्दोलन र विभिन्न लडाइहरुमा मरेका ५८ हजार मृतकहरुलाई श्रद्धाञ्जली दिने थलोको रुपमा लिइँदै आएको छ । यो भव्य गिर्जाघर प्राय सबै गिर्जाघरहरुभन्दा अलि पृथक ढंगबाट आकर्षक तरिकाले निर्माण गरिएको रहेछ । यस गिर्जाघरमा प्रसिद्ध महिलायोद्धा जोन अफ अर्कको मानव आकार बराबरको मूर्ति पनि राखिएको छ । त्यहाँ पुगेर चर्चको विभिन्न भागहरु हेर्दा निकै समय लागेको थियो । समी भन्दै थिईन् … जसजसलाई रेडलाइट एरिया हेर्न मन लागेको छ मसँग आउन सक्नेछन् र इच्छा नभएकाहरु अघिको बाटो भएर होटल गए हुन्छ ..भनिन् । हामी भोलि दिनभरि पेरिस घुम्ने भएकोले र पानी परिरहेको हुनाले साढे नौबजे राति हामी होटल फर्क्यौं । हामीलाई रेडलाइट एरिया हेर्ने चाहना थिएन । सुन्दर शहर पेरिसमा मलाई एउटा कुराको अनुभूतिले चिमोटिरहेको थियो । अंग्रेजहरुको छिमेकी राष्ट्रले हदैसम्म अंग्रेजी भाषालाई घृणा गर्दारहेछन् । केही कुरा अंग्रेजीमा सोधे…. आई डोन्ट नो इङ्लिश… भनेर अंग्रेजीमा नै जवाफ फर्काएपनि अंग्रेजी भाषा बोल्न तिनीहरु रुचाउँदैनन् । व्यावसायको नाताले होटलहरुमा एकाधले बोल्छन् । उनीहरु विश्वको कुनै राष्ट्रमा पुगे तापनि फ्रेन्च हुनुमा गर्व गर्छन् । मलाई के अनुभूति भइरहेको थियो भने हामीसँग पनि नेपाली हुनुको गौरवगाथाहरु छन् के हामीले सँसारलाई यी युरोपेलीहरुसरह विकास गरेर गौरव गर्ने बाटो पहिल्याउन सक्दैनन् ? देशमा केवल सत्ताको लडाइमा भुलेका नेतृत्व वर्गको अन्तरात्माले देशलाई जोगाएर विकास गर्नुपर्छ भन्ने सद्बुद्धि कहिले आउला ? दशबजेतिर राति होटलमा दुबै दम्पति पुग्यौं र दिनभरिका यात्राबारे कुरा गर्दै भोलिका मुख्य ठाउँहरुको भ्रमणबारे कुरा गर्यौं र मीठो निन्द्रमा दुबैजना सुत्यौं । फोरेस्ट हिल होटलको चारतलाको १८ नम्बर कोठामा हामीले २ रात बिताएका थियौं । हाम्रो १२ दिने भ्रमणको कार्यक्रम सातवटा राष्ट्रहरु रहेको हुनाले प्रत्येक शहरमा सँक्षिप्त बसाइ थियो र यही छोटो समयमा बढीभन्दा बढी ठाउँहरु हेर्ने र अवलोकन गर्ने उद्देश्य रहेको थियो । मेरो उद्देश्य पेरिस शहरको मुटुमा रहेको ऐतिहासिक स्थल, तुइलेरिस गार्डेन, लुभ्रे म्युजियम, ऐफिल टावर, सेइन नदीतट र प्रसिद्ध नोटरडाम क्याथाड्राल हेर्नु रहेको थियो ।

दिनांक १९ मार्च २०११को दिन त्यति जाडो थिएन । हिजो सिमसिम पानी परेको थियो, तर, आज पानी परेको थिएन । विस्तारै दिन उघ्रिएला जस्तो देखिन्थ्यो । अकाशभरि बादल भए तापनि दिन उज्यालो नै थियो । मौसम सफा भइदिएको भए धेरै मज्जा आउने थियो भनेर बुरिया भन्दै थिईन् । मैले … फिकर नगर भोलिबाट हप्तौंसम्म घाम लाग्ने कुरा टीभीहरुमा भनेका छन् … भनें । हामी बिहानै तैयार भएर ब्रेकफास्ट हालतिर गयौं । समीले होटलको स्वाइप कार्ड (चाबी) हराए ५ युरो तिर्नुपर्छ भनेकी थिईन् । पछि शहर घुमेर आएपछि लिने विचारले मैले काउन्टरमा गएर चाबी फिर्ता दिएँ । हाम्रो साथीहरु धमाधम हेभी ब्रेकफास्ट लिइरहेका थिए । मैले पनि टन्न ब्रेकफास्ट लिएँ तर आज पूर्णिमाको दिन, श्रीमतीको ब्रत थियो । बुरियाले केवल दुध र फलफूल खाएकी थिईन् । एकथर्मस तातो पानी लिएर फेरि शहर घुम्नकालागि गाइडको पछि लाग्यौं । आज सबै उत्साहित थिए । हिजोसम्म बिरानो र अपरिचित भ्रमणका साथीहरु यतिबेला हामी उहिलेदेखि नै परिचित भएजस्तै एकआपसमा कुरा गरिरहेका थियौं । आज हामीलाई टूर गाइड समीले अर्कै मेट्रोलाइन समातेर पेरिसको मुटु मानिने ऐतिहासिक स्थल भेन्डोमप्लेस स्क्वाएर पुर्‍याएर त्यहाँबाट दिनभरि घुम्न सक्ने क्षेत्रहरुको विवरण दिएकी थिईन् । आजको भ्रमणमा विशेष गरी पेरिसको तुलेइरिस गार्डेनको क्षेत्र, क्याथरीन मेडिची र नेपोलियन तेस्रोको राजमहल, लुभ्रे म्यूजियम, नोटरडाम क्याथाड्रल, सेइन नदी र पेरिसको विख्यात ऐफिल टावर हेर्ने योजना थियो, तर, एकदिनभित्र यी सबै महत्वपूर्ण सुन्दर स्थलहरु हेर्न भियाउने हो कि होइन त्यसमा मलाई सन्देह थियो । आज म प्रत्यक्ष यी सबै हजारौं सालदेखिको इतिहास बोकेका ठाउँहरुमा आफ्नी धर्मपत्नीसँग घुम्न पाउँदा एकदमै खुशी लागिरहेको थियो । जीवनमा सँसार हेर्ने कसलाई रहर हुन्न र ! हामीजस्ता गरीब मुलुकमा जन्मेका मध्यवर्गीयहरुका लागि पनि आर्थिक हिसाबले सहज हुँदैन । अहिले हामी पेरिस शहरको मध्यभाग, तुइलेरिस गार्डेनको उत्तरपटि्ट नेशनल म्युजिक अकादमीमा पुगेकाछौं । १८औं शताब्दीदेखि सञ्चालन गरिंदै आएको यस अकादमीबाट धेरै विशिष्ट कलाकारहरु जन्मे भन्ने कुरा गाइडले भनेकी थिईन् । हामीलाई केवल २० मिनटको लागि फोटो खिंच्ने समय दिँदै अब हामी तुलेइरिस गार्डेनतर्फ लाग्नेछौं भनिन् । १८औं शताब्दीमा भेन्डोमप्लेस स्क्वाएरसम्म पेरिस शहरलाई आधुनिक करण गर्नकालागि भवनहरु भत्काउँदै सडकहरु फराकिला गर्दै आएको बेलामा जनताले विरोध गरेर रोकेका रहेछन् । यस क्षेत्रमा हजारौं वर्ष पुराना घरहरु देखियो, तर, ती सबै घरहरु समयसापेक्ष मरम्मतसम्भार गरेर राखेका रहेछन् । भेन्डोम प्लेसले फ्रान्सेली गौरवको इतिहास बोकेको रहेछ । भेन्डोमप्लेसको स्क्वाएर अर्थात् पाटनमा पुग्दा मानौं, फ्रान्सेलीहरुले जे गर्छन् भविष्यका सन्ततीकाहरुका लागि इतिहास रचेर जान्छन् भन्ने भान भयो । ठूलो मैदानजस्तो फराकिलो पाटनमा एउटा अग्लो धातुको स्तम्भ निर्माण गरेर लडाइका विवरणहरु, शहीद भएका मानिसहरुका नाम र आकृतिहरु अंकित थिए । सब्ौभन्दा माथि नेपोलियनको मानवकद् बराबरको मुर्ति स्थापित गरेको रहेछ । नेपोलियनले अस्टरिजको लडाइमा विजयी हुँदा कब्जा गरेका १३३ वटा तोपहरु गलाएर निर्माण गरेको सो स्तम्भ माथिको मुर्तीलाई फ्रान्सेली जन्ताहरुले नेपोलियनको पतन हुने कालमा फ्याँक्न खोजेका थिए, तर, यसलाई पुनर्स्थापना गरेर अतीतको गौरवको साक्षी बनाएर दर्शाइरहेको छ ….. फेरि अर्को एपिसोडमा ।