झपट पुरस्कारबाट दीक्षित पुरस्कृत

झपट पुरस्कारबाट दीक्षित पुरस्कृत


मदनमणि दीक्षित झपट साहित्यिक पुरस्कार

वैदिक साहित्यका विद्वान् साहित्यकार मदनमणि दीक्षितलाई यस वर्षको झपट साहित्यिक पुरस्कार प्रदान गरिएको छ । साहित्यकार झपटबहादुर राणाको १२०औँ जन्मजयन्तीका उपलक्ष्यमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले उक्त पुरस्कार प्रदान गर्दै दीक्षितको विद्वता अन्तर्राष्ट्रियस्तरको भएकाले सरकारले उहाँलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन पहल गर्नुपर्ने धारणा राख्नुभयो । पुरस्कृत व्यक्तित्व दीक्षितले स्वास्थ्यले साथ नदिए पनि झपट पुरस्कारको प्रतिष्ठाका कारण आफू पुरस्कार ग्रहण गर्न उपस्थित भएको बताउनुभयो । यसैबीच साहित्यकार भीष्म उप्रेतीको नयाँ नियात्रा सङ्ग्रह ‘अन्नपूर्ण फेरो’ बजारमा आएको छ । नौ शीर्षकमा विभाजन गरेर लेखिएको सो कृति सन् २००८ मा अन्नपूर्ण क्षेत्रमा गरिएको यात्रामा आधारित छ । गौँथली प्रकाशनले प्रकाशन गरेको सो कृतिमा यात्राका क्रममा लेखिएका केही कवितासमेत समावेश छन् ।

वियोगीका दुई कृति एकसाथ सार्वजनिक

‘पाँच महिनाको विदेशको यात्रामा यति ठूलो तीन सय पचास पृष्ठको रमाइलो र वजनदार कृति ल्याउनु लरतरो काम होइन,’ नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति एवम् वरिष्ठ कवि वैरागी काइँलाले साहित्यकार वियोगी बुढाथोकीका दुई कृति एकसाथ सार्वजनिक गर्दै व्यक्त गर्नुभएको प्रशंसाको अभिव्यक्ति हो यो । ‘फर्किएँ’ कवितासङ्ग्रह र स्कटल्यान्ड तथा लन्डनको परिवेशमा लेखिएको किरिङमिरिङ सडकमा अलपत्र नियात्राहरू हुन् । उक्त अवसरमा प्रमुख अतिथि काइँलाले लेखकलाई बधाई दिँदै प्रशंसाका शब्दहरू पोख्नुभयो । दुई देशको राजनीतिक, आर्थिक र सामाजिक अवस्था तुलना गर्न पुस्तक सहयोगी छ । विदेशमा आफूले देखेका, भोगेका र केही पढिएका विषयलाई जस्ताको त्यस्तै पुस्तकमा समेटेको कुरा सर्जक वियोगी बुढाथोकीले बताए ।

कार्यक्रममा डा. भोला रिजाल, केशवकुमार बुढाथोकी, ज्ञानुवाकर पौडेल, रमेश पौडेल, रत्नमणि नेपाल र विष्णुबहादुर सिंहले पनि आफ्ना मन्तव्य पस्किएका थिए ।
सार्वजनिकीकरण गरिएको कृतिबाट कवि प्रोल्लास सिन्धुलीय र बाबु त्रिपाठीले कविता, रूपक वनवासी र निशा केसीले मुक्तक अनि विवेक विषालु र संगीता थापाले गजल वाचन गरेका थिए । कवि सन्ध्या पहाडीले सञ्चालन गरेको कार्यक्रममा साहित्यप्रेमीको बाक्लो उपस्थिति थियो ।

अर्थदंश विमोचन
मकालु प्रकाशन गृहद्वारा प्रकाशित कल्पना रिजाल (पाण्डे) लिखित उपन्यास ‘अर्थदंश’को एक समारोहबीच नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकार्पण गरे । कार्यक्रममा प्रमुख अतिथि नेपालले रेमिट्यान्सको पछाडि कुद्नुभन्दा रोजगारीमा गएका युवाले आफ्नै मुलुकका लागि केही गरे नेपाल नै सुन्दर र समृद्ध हुने बताए । उनले सरकारले पनि यसतर्फ सोच्नुपर्ने धारणा राखेका थिए ।
प्रकाशन संस्थाका अध्यक्ष वासुदेव ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पूर्वमन्त्री प्रदीप ज्ञवाली, प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, साहित्यकार माया ठकुरी, लेखिका कल्पना रिजाल पाण्डेलगायतले उपन्यासका विषयमा बोलेका थिए ।